NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गठबन्धनविरुद्ध एमालेको विरासत जोगाउने चुनावी दौडमा धुनिबेशी एमालेका उम्मेदवार पाण्डे

काठमाडौं । संघीय राजधानी काठमाडौंंसँगै जोडिएको धादिङको धुनिबेशी नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर कमिटी अध्यक्ष रामराजा पाण्डेले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यलय खानीखोलामा वारेसनामार्फत् मनोनयन दर्ता गरेका हुन् ।

पाण्डेलाई चुनौती दिँदै पूर्वसहकर्मी तथा धुनिबेशीका निर्वतमान मेयर बालकृष्ण आचार्यले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । गत निर्वाचनमा एमालेबाट संस्थापक मेयरमा निर्वाचित भएका थिए । गत भदौमा पार्टी विभाजन भएपछि उनी नेकपा (एकीकृत समाजवादी)मा गएका थिए ।

आगामी वैशाख ३० मा हुने निर्वाचनमा एमाले र पूर्वएमालेका उम्मेदवार पाण्डे र आचार्यबीच रोचक भिडन्त हुने भएको छ । पाण्डेको साविक नौबिसे गाविसमा बलियो पकड रहेको छ । गठबन्धनबाट उमम्मेदवार रहेकाले आचार्य पनि बलिया उम्मेदवार हुन् ।

को हुन् उम्मेदवार पाण्डे ?

धुनिबेशी नगरपालिका वडा नम्बर ९ कानाकोटमा जन्मेका पाण्डे नगरवासीहरूकाबीच सुपरिचित नाम हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेकपा (एमाले)मा आबद्ध हुँदै राजनीतिक, सामाजिक र विकास निर्माणको यात्रामा सक्रिय सहभागी हुँदै आएका छन् । साविक नौबिसे गाविस वाड नं. ४ को वडा सदस्य हुँदै अहिले धुनिवेशी नगर कमिटी अध्यक्ष रहेका छन् । पाण्डेलाई नगरबासीले भुईंमान्छेको रूपमा चित्रण गर्छन् ।

गत निर्वाचनमा नै मेयरका प्रमुख दाबेदार थिए । तर पार्टीले बालकृण आचार्यलाई टिकट दिएको थियो । टिकट नपाएपनि उनले धुनिबेशीमा एमालेलाई जिताउन सक्रिय भूमिका निर्वाह गरेका थिए । जस्तोसुकै परिस्थितिको सरल तरिकाले सामना गर्ने, विकास निर्माण काममा जनताको घर आँगनमै पुगेर सुख–दुःख बाढ्ने पाण्डेको स्वभाव रहेको नगरबासीको भनाइ छ ।

एमाले नगर कमिटी सदस्य राजेशराज पाण्डेका अनुसार उम्मेदवार पाण्डे जुझारू, प्रगतिशील, इमान्दार, परिश्रमी, चरित्रवान, शिष्ट, मिलनसार, अनुशासित तथा जनताको काममा समर्पित रहने व्यक्ति हुन् ।

पाण्डे युवा–युवती, बृद्ध–बृद्धाबीच रामदाइ र रामबाबुको रूपमा चर्चित रहेका छन् । पाण्डेले पार्टीमा रहेर नगरभित्र सडक, खानेपानी, विद्युतीकरण, शिक्षणसंस्था, सहकारी, स्वास्थ्य केन्द्र, मठ–मन्दिर, कृषि कुलोसहितका विकास निर्माण कार्यमा सक्रियता देखाउँदै आएका छन् ।

पाण्डेको चुनौती

पुरानो धार्केका स्थायी बासिन्दा रहेका आचार्यसँग ५ वर्ष पालिका चलाएको अनुभव छ । उनी व्यापारी पृष्ठभूमिका नेता हुन् । आचार्यले लामो समय एमाले वाग्मतीमा मुख्यमन्त्री एवं एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको नजिक रहेर काम गरेका थिए । साविक छत्रे देउराली र जीवनपुरमा केही जनाधार रहेको भनिएपनि पार्टी विभाजनपछि उनको पक्षमा खासै मतदाता नभएको एमालेका स्थानीय नेताहरूको दाबी छ ।

गठबन्धनको सबै भोट आचार्यलाई नजाने एमालेको अनुमान छ । छत्रे, जीवनपुरमा पार्टीको मत विभाजन नभएको र साविक नौबिसेमा विपक्षीले पनि आफूलाई मत दिनेमा पाण्डे विश्वस्त छन् । तर नौबिसेबाट पाण्डेलाई केही मत गएपनि छत्रे देउराली र जीवनपुरबाट एकलौटी भोट आफूलाई आउनेमा आचार्य ढुक्क छन् । पाँच वर्षमा आफूले गरेको राम्रा काम, कांग्रेस र माओवादीसहितको उम्मेदवार भएकाले यो पटक पनि आफूले जित्ने उनको दाबी छ ।

हार्ने मनोविज्ञानले कोही उम्मेदवार पनि चुनावी मैदानमा नउत्रिने हुँदा पाण्डेले ०७४ मा एमालेले पाएको जनमतलाई बचाइ मौन मतदाताहरूको मन जित्नु चुनौती छ । पार्टी विभाजनपछि एकीकृत समाजवादीमा कति जनमत छ, त्यसको वैधानिक परीक्षण हुन बाँकी छ । धुनिबेशीमा माओवादी र कांग्रेसको पनि जनमत राम्रो छ ।

प्रतिस्पर्धामा पाँच दलीय गठबन्धन एकातिर र एमाले एक्लै एर्कोतिर रहेको छ । परिस्थितिले पाण्डेलाई कठिन स्थितिमा देखाएको छ । यद्यपि पाँच वर्षमा थपिएका नयाँ मतदाताको मनोविज्ञान, पार्टीको प्रतिबद्धतापत्र, उम्मेदवारमाथि आम मतदाताको दृष्टिकोण र विपक्षीको रणनीतिक योजनालाई पाण्डेले मसिनो गरी बुझ्न सके एमालेको जित सुनिश्चित रहेको स्थानीय बुद्धिजीवी बताउँछन् ।

यी र यस्तै थुप्रै चुनौती पार गरेर निर्वाचित भएका पाण्डेसामू थुप्रै प्रतिवद्धता पूरा गर्न बाँकी छ । गएको पाँच वर्षमा केही काम भएपनि स्पष्ट खाका बनिसकेको छैन । धुनीवेशी राजधानीको केन्द्रबाट नजिक छ । देशकै पुरानोमध्येको त्रिभुवन राजमार्गसँग जोडिएको नगरपालिका भएपनि धुनिबेशी सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार विकासको दृष्टिले बत्तिमुनीको अँध्यारो जस्तै छ । मुलुकमा धेरै व्यवस्था फेरिए, ठूल–ठूला राजनीतिक परिवर्तन भए तर यस नगरपालिकामा नगरबासीले अपेक्षाकृत परिवर्तनको महशुस गर्न सकेका छैनन् ।

औद्याेिगक विकासको नाममा खोलिएका सिमेन्ट उद्योग, इट्टा उद्योगबाट निस्किएको प्रदुषणलाई व्यवस्थित गर्ने, खनिएका सडकलाई स्त्तोरोन्नति गर्ने, खानेपानी समस्या समाधान गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, पर्यटन क्षेत्रलाई प्रवद्र्धन र विकास गर्ने, अव्यवस्थित रूपमा सञ्चालनमा रहेका खानी उद्योग, क्रसर उद्योगलाई व्यवस्थित गर्ने, आधुनिक कृषि प्रणाली अबलम्बन गर्दै कृषि उत्पादनलाई बजारीकरण, भण्डारण गर्ने काम हुन नसकेको नगरबासीको गुनासो गरेका छन् ।

परिवर्तित युवाहरूको मागलाई सम्बोधन गर्ने खालको शिक्षाप्रणाली, प्रविधि विकास, सर्वसुलभ र गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र नगरबासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने नीति, कार्यक्रमबारे पाण्डेले नगरबासीलाई बुझाउनुपर्ने चुनौती रहेको छ ।
त्यस्तै महिला सीप, उद्यमशीलता, क्षमता विकासका कार्यक्रम, सर्वसाधारण नागरिकको स्वास्थ्यसँग पहुँच, अनियमितता, भ्रष्टाचार नियन्त्रण, सरकारी काम तथा सेवालाई चुस्त दुरुस्त राख्ने, साधारण खर्चमा मितव्ययिता अपनाई विकास खर्चमा बृद्धि गर्ने, वातावरण र सामाजिकमैत्री कार्यक्रम पाण्डेले ल्याउनुपर्नेछ ।

०७४ मा धुनिबेशीमा एमालेको अवस्था

गत स्थानीय तहको निर्वाचनमा पनि एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो । तर त्यतिबेला सिंगो एमालेले विपक्षीको सामना गरेको थियो । धुनिबेशीमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू एक्ला–एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए । एमाले प्रमुख÷उपप्रमुखसहित ६ वटा वडामा निर्वाचित भएको थियो । बाँकी ३ वडा माओवादी केन्द्र र कांग्रेसले जितेको थियो ।

प्रमुखमा एमालेका बालकृष्ण आचार्य ६ हजार ६६४ मत ल्यायी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार दीपक लामिछानेले ४ हजार ३३५ मत ल्याएका थिए । त्यस्तै कांग्रेस उम्मेदवार माधवराज पाण्डे ३ हजार ९२३ मत ल्याइ तेस्रो भएका थिए । अन्यले जम्मा १९० मत ल्याएका थिए ।

त्यस्तै उपमेयरमा एमालेकी निरु खरेल ६ हजार ६२९ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सावित्री आचार्यले ४ हजार ३४१ मत ल्याएकी थिइन् । कांग्रेस उम्मेदवार अप्सरा कोइरालाले ३ हजार ९२५ मत ल्याएकी थिइन् । अन्यको मत १५० रहेको थियो ।

वडातर्फ एमाले १, २, ४, ६, ७ र ९ नम्बर वडामा विजयी भएको थियो । ५ र ८ वडामा माओवादी केन्द्र र ३ नम्बर वडामा कांग्रेस विजयी भएको थियो ।

यसपटक गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका आचार्य नै दोहोरिएका छन् । उपमेयरमा कांग्रेसका धुनिबेशी नगर समितिका सभापति सुरज उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रले १, ५, ६ र ८ नम्बर वडा लिएको छ । समाजवादीले २ र ४ वडा लिएको छ । त्यस्तै कांग्रेसले ३, ७ र ९ नम्बर वडा लिएको छ ।

यी सबै चुनौतीको पार गर्दै धुनिबेशीमा एमालेको विरासत जोगाउने जिम्मा पाण्डेको काँधमा आएको छ । उनले प्रतिकुल अवस्थामा पनि एमालेको विरासतलाई कायमै राख्छन् वा गुमाउने छन् वैशाख ३० मा हुने चुनावले परीक्षण गर्नेछ ।

धुनिवेशीमा अझै एमाले बलियो, यस्तो छ ०७४ को चुनावी परिणाम