NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बच्चालाई एक सातामा कतिपटक गाली गर्नुहुन्छ ?

काठमाडौं । हाम्रो देशमा आमाबाबु र छोराछोरीको सम्बन्ध रमाइलो हुनेभन्दा पनि बढी कडा प्रकृतिकाे हुन्छ । यो सम्बन्धलाई सजिलो र रमाइलो बनाउन पनि सकिन्छ । आमाबाबुले आफ्ना बच्चाहरूसँग रमाइलो गर्दा उनीहरू बिग्रिन सक्ने ठान्छन् ।

तर आमाबुबासँग रमाइलो गरी हुर्केका बच्चाहरुकाे मनाेबल उच्च हुने र सधैं खुशी रहने स्वभाव हुन्छ । त्यसैगरी बालबालिकालाई सधैं अवराेध गर्ने, रिस देखाउने, नियन्त्रण गर्न खाेज्ने अभिभावकका सन्तान पनि हुर्केर अरुलाई बाधा पुर्रयाउने किसिमका बन्छन् ।

त्यसैले अभिभावकत्वले बच्चाको व्यक्तित्व निर्धारण गर्छ । क्लिनिकल साइकोलोजिस्ट डा प्रज्ञा मलिकले रमाइलो गर्नु बच्चा र अभिभावक दुवैका लागि फाइदाजनक हुने बताउँछिन् । बालबालिकासँग रमाइलाे गर्ने, ठट्टा गर्ने, खेल खेल्ने,घुम्ने जस्ता अभिभावकत्वका धेरै फाइदाहरू छन् ।

अभिभावकहरू बच्चासँग खेल्दा, हाँस्दा बालबालिकाकाे  मस्तिष्क पनि राम्राेसँग विकास हुन्छ । बच्चाहरूले अरूसँग सम्बन्ध कसरी बनाउने भनेर सिक्छन् ।

उनीहरूले ती सम्बन्धहरूलाई बलियो राख्ने बारे पनि बुझ्छन् । बालबालिकासँग खेल्दा अभिभावकको मन पनि हलुका हुन्छ । काम वा अन्य कुनै कुरामा तनाव छ भने, बच्चासँग खेलेर आफ्नो तनाव व्यवस्थापन गर्न सक्छन् ।

हाँसोले पनि बच्चा र अभिभावक दुवैलाई फाइदा पुर्‍याउँछ । आमाबाबु बालबालिकासँग पटक पटक कुनै कुरालाई लिएर रिसाउँछन् भने  बच्चाले उनीहरूलाई जुन मूडमा देख्छ, त्यही सिक्छ ।

बच्चासँग रमाइलो गरेर उसकाे रिसलाई कसरी नियन्त्रण गर्ने भनेर सिकाउन सकिन्छ । बालबालिकालाई भविष्यमा ठूला ठूला समस्याकाे समाधान गर्न पनि यसले सजिलाे बनाउँछ । यसले बालबालिका र अभिभावकबीच आत्मीयता बढाउँछ ।

बच्चाहरूसँग खेल्दा उनीहरू आफ्नो दृष्टिकोण अरूको अगाडि राम्राेसँग राख्न सक्षम हुन्छन् ।