NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

भरतपुरमा एमाले बलियो, ६ हजार बढी मत थप्न नसके माओवादीलाई कठिन

काठमाडौं । भरतपुर महानगरपालिकामा ०७४ मा कांग्रेस–माओवादी केन्द्रका साझा उम्मेदवार रेनु दाहालले २०३ को झिनो मतान्तरले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्रीसमेत रहेकी दाहाल ४३ हजार १२७ मत ल्याइ विजयी भएकी थिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।

यी बाहेक राप्रपाका उम्मेदवार बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत पाएका थिए । अन्य दलले जम्मा १ हजार १८९ मत पाएका थिए ।

कांग्रेस प्रभावित भरतपुरमा भागबण्डाको आधारमा माओवादी केन्द्रलाई दिइएको थियो । प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको यस महानगरमा १९ वडामा १८०९ मत गनिसक्दा दाहाल ७३३ मतले पछाडि परेकी थिइन् । त्यसैबेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । त्यससपछि अदालतसम्म यो विषय पुग्दा सर्वोच्चले १९ वडामा पुनः मतदान गर्न आदेश दिएको थियो । पुनः मतदान हुँदा दाहाल झिनो मतले मेयरमा विजयी भएकी थिइन् । महानगरको कुल एक लाख ५० हजार २ सय ७४ मतदातामध्ये मेयरमा खसेको कुल सदर मत ९४ हजार ८२ रहेको थियो ।

प्रचण्डको जोडबलमा भरतपुर महानगरमा गठबन्धनले फेरि पनि दाहाललाई मेयरमा दोहो¥याएका छन् । वैशाख ३० मा हुने निर्वाचनमा भरतपुरमा गठबन्धन भर्सेस एमाले चुनावी मैदानमा उत्रिएका छन् । ६ महानगरमा गठबन्धन दलहरूको भागबण्डामा माओवादीलाई भरतपुर परेको हो । सोमबार मेयर पदका लागि दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् ।

तर पहिलेजस्तै यसपटक पनि माओवादीलाई भरतपुर छोडेको भन्दै कांग्रेसमा असन्तुष्टि र विरोध जारी छ । असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले बागीका रुपमा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्दै उनले कुनै हालतमा आफ्नो उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । गठबन्धन दलबाट नै बागी उम्मेदवार खडा भएपछि दाहाल थप संकटमा परेकी छिन् । कांग्रेसले पौडेलको उम्मेदवारी फिर्ता गराउन नसके रेनु संकटमा मात्र पर्ने छैनन् कांग्रेस–माओवादी गठबन्धन भत्किन पनि सक्नेछ ।

त्यस्तै विपक्षी एमालेले निवर्तमान वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । गठबन्धनमा देखिएको विवादले निर्वाचनमा आफूलाई फाइदा हुने सुवेदीको विश्वास छ । एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ । एमाले–राप्रपा गठबन्धनबाट भरतपुर महानगरको उपमेयरमा हिमाला गुरूङ उम्मेदवार बनेकी छिन् । राप्रपाकी जिल्ला उपाध्यक्ष रहेकी गुरूङले उपमेयरमा उम्मेदवारी दर्ता गरेकी छिन् । राप्रपाकोसमेत साथ पाएपछि एमाले थप बलियो भएको देखिन्छ । एमाले चितवनका इन्चार्ज तथा केन्द्रीय सदस्य ज्ञवालीले एमाले र राप्रपाबीचको चुनावी तालमेलले एमालेको विजय सुनिश्चित भएको दाबी गरे ।

‘हाम्रो विजय सुनिश्चित भइसकेको छ । प्रक्रियागत रूपमा घोषणा गर्न मात्र बाँकी छ । विकास र समृद्धिको एजेण्डामा एमालेको स्पष्ट एजेण्डा छ, जुन अन्य दलसँग छैन’, उनले भने, ‘गठबन्धनभित्र देखिएको चरम असन्तुष्टि र विवादले एमालेलाई फाइदै हुन्छ ।’

यद्यपि ज्ञवालीको दाबी कति सत्य सावित हुन्छ त्यो वैशाख ३० मा मतपत्रबाट परीक्षण हुन बाँकी छ । गठबन्धनभित्रै बागी उम्मेदवार रहेको र एमालेसँग राप्रपाले तालमेल गरेकाले गठबन्धनलाई चुनाव जित्न निकै दवाब देखिन्छ । पाँच वर्षमा थपिएका नयाँ मतदातालाई समावेश नगरी गत निर्वाचनमा गठबन्धनका दल कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चाले पाएको मत जोड्दा ४३ हजार ५७० मात्र रहेको छ । यसमा एमालेले पाएको मत घटाउँदा जम्मा ६४६ हुन आउँछ । यो पटक राप्रपासँग एमालेले सहकार्य गरेकाले ६ हजार ८४२ बढी मत थपिने छ ।

गत वर्षको तथ्याङलाई हेर्दा गठबन्धन दलहरूले एकतमतका साथ आफ्ना उम्मेदवारलाई मत दिएमा पनि एमालेका उम्मेदवार सुवेदीले ४९ हजार ७६६ मत पाउने देखिन्छ । एमाले र गठबन्धनबीचको मतान्तर ६ हजार १९६ रहेको छ । थपिएको मतमा एकीकृत समाजवादीले कति मत प्रभावित पार्छ भन्ने कुरा महत्वपूर्ण छ । आगामी चुनावमा आफ्ना उम्मेदवारलाई जिताउँदा थपिएको नयाँ मतदातालाई गठबन्धनले आफ्नो पक्षमा आकर्षित गरी, एकीकृत समाजवादीबाट अपुग मतभार व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यो पुरानै मतभारको हिसाब हो तर थपिएका नयाँ मतदाताले पनि नतिजालाई जता पनि पार्न सक्छन् ।

गठबन्धनमा खटपट एमालेलाई फाइदा

भरतपुरमा कांग्रेसभित्रको असन्तुष्टि साम्य नहुने हो भने गठबन्धनका उम्मेदवारलाई जित्न गाह्रो पर्ने देखिन्छ । कांग्रेसभित्रको असन्तुष्टिकाबीच माओवादीलाई मेयर दिइएपछि गठबन्धनलाई गाह्रो देखिएको हो । त्यसैले आगामी चुनावमा अन्तर्घात गठबन्धनलाई डुबाउने खतरा छ । गत निर्वाचनमा माओवादीले जितेर पनि हारेको दलिल पेश गर्ने धेरै छन् । विवाद र अन्तर्घातकै कारण भरतपुरमा मतपत्र च्यात्नेदेखि पुनः मत मतदानले धेरै बदनामी भयो । कांग्रेसका उपमेयरको हाराहारीमा माओवादीकी रेनुको भोट नआएपछि भरतपुरमा तनावको स्थिति आएको थियो ।

केन्द्रको निर्णय आफूहरूलाई मान्न बाध्य नभएको चितवनका कांग्रेस कार्यकर्ताहरूले चेतावनी दिइसकेका छन् । तर पाँच वर्ष दाहलले भरतपुरको विकासका धेरै काम गरेकाले विपक्षीको भोटसहित स्वतन्त्र भोटसमेत आफूलाई आउने माओवादी केन्द्रको दाबी छ ।
कांग्रेसले २९ मध्ये २० वडा अध्यक्षको उम्मेदवार पाएको छ । आफ्ना वडा अध्यक्ष जिताउने र माओवादीका मेयरलाई हराउनेसम्मको खेल भए कांग्रेस नैतिक संकटमा पर्नेछ । यसले सत्ता गठबन्धनदेखि आगामी संघीय संसद्को निर्वाचनलाई समेत असर पार्नेछ ।

भरतपुरमा राप्रपा निर्णायक शक्ति

थपिएको नयाँसहित अहिले राप्रपाको १० हजारको हाराहारीमा मतदाता रहेको अनुमान छ । पार्टी विभाजन भएपनि मतदाताको मत विभाजित नभएको राप्रपाको दाबी छ । अहिले गठबन्धन भर्सेस् एमाले–राप्रपा चुनावी मैदानमा उत्रिएका छन् । चितवनबाटै प्रतिनिधित्व गर्ने माओवादीका पूर्व प्रभावशाली नेता रामबहादुर थापालगायत नेताहरू एमालेमै छन् । यसले पनि माओवादीलाई थप धक्का पुगेको छ ।

मेयरका रूपमा दाहालले भरतपुरमा केही राम्रा काम गरेपनि गत निर्वाचन देखि नै प्रचण्ड र मेयर दाहालबारे चितवनमा सकारात्मक टिका–टिप्पणी देखिँदैन । राप्रपाबाट चोइटिएको दल राप्रपा नेपाल पनि देशभर एमालेकै चुनाव चिन्हबाटमा चुनावी मैदानमा उत्रिंदैछ । त्यसकारण भरतपुरमा राप्रपाको सहयोगमा एमालेलाई धेरै राहत मिल्दा गडबन्धनलाई आहत पुगेको छ ।