NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मोटरसाइकल चोरी गर्ने ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडाैं । मोटरसाइकल चोरी गर्ने १ जनालाई मोटरसाइकलसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिनेमा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडाैं लोलाङ वर्ष २६ को सुदास लामा रहेका छन् ।

हराएका मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौं तार्केश्वर नगरपालिका वडा नं. ५ लोलाङ हाइटस्थित सडक खण्डबाट बास्तविक नम्वर परिवर्तन लु ६४ प ७३७५ नम्वर कालो निलो २२० सीसिको पल्सर मोटरसाइकल चलाई रहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए ।

उक्त मोटरसाइकलको वास्तविक नम्बर नम्बर बागमती प्रदेश ०२-०२५ प १०१० रहेको खुल्न आएको छ । उक्त पक्राउ भएको मोटरसाइकल ललितपुर गोदावरी नगरपालिका वडा नं. ८ डुकुछाप बस्ने नवराज घिमिरेले घरबाट हराएको यस कार्यालयमा निवेदन दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागि प्रहरी परिसर जावलाखेलमा पठाएको महाशाखाले जनाएको छ ।
पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाएको छ ।