NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पाँच वर्षमा नमुना काम गरेर चर्चा कमाएको भूमे गाउँपालिका : जहाँ कर्मचारीले नागरिककै अगाडि हाजिर लगाउनुपर्छ

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा कैयौँ जनप्रतिनिधि फेरि उम्मेदवार बनेका छन् । विगत पाँच वर्षमा जनप्रतिनिधिले कस्तो काम गरे त भन्ने अहिले समीक्षा पनि भइरहेको छ । हाल लुम्बिनी प्रदेशअन्तर्गत रहेको कान्छो जिल्ला रुकुम पूर्वमा तीनवटा मात्रै पालिका छन् ।

तीमध्ये सिस्ने र भूमे दुईवटा गाउँपालिका कार्यसम्पादनमा देशकै उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा भूमे गाउँपालिका ७३.७९ अंकसहित उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।

गत चुनावमा यो गाउँपालिकामा माओवादी केन्द्रले वर्चस्व जमाएको थियो । अध्यक्षमा रामसुर बुढामगर र उपाध्यक्षमा मनकुमारी बुढा निर्वाचित भएका थिए । यो पाँच वर्षको कार्यकालमा उनीहरूको कामबाट नागरिक खुसी छन् भने विपक्षी दलले समेत आलोचना गर्ने ठाउँ भेटेका छैनन् ।

पाँच वर्षमा भएका राम्रा काम

गाउँपालिकाले हालसम्म २७ वटा कानुन बनाएको छ । अध्यक्ष बुढाका अनुसार १९ वटा कानुन नमुनाका आधारमा निर्माण गरिएको हो भने आठवटा स्थानीय आवश्यकताका आधारमा बनाइएको छ ।

यो गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको छ । अर्को गाउँपालिकासँग देखिएको सीमा समस्या समाधान गरेको छ । सामुदायिक प्रहरी पालिका समिति निर्माण गरेको छ । कर्मचारीको हाजिरीलाई सेवाग्राहीले निगरानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कर्मचारीको उपस्थितिलाई नियमित गराउने एवं उनीहरूको आउजाउबारे सेवाग्राहीले समेत प्रस्टैसँग जानकारी लिन सक्ने गरी सार्वजनिक हाजिरीको व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए । विकास निर्माणमा पनि जनप्रतिनिधिले लगनशीलताका साथ काम गरेका छन् । सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा पाँच वर्षमा उल्लेख्य काम भएका छन् । यस्तै, कृषि, पर्यटन, खानेपानी, सञ्चारको क्षेत्रमा पनि गाउँपालिकाले गतिलो काम गरेको छ । सुरुकै वर्षमा एकीकृत गुरुयोजना निर्माण गरेर काम अघि बढाइएको थियो ।

अध्यक्ष बुढाले चुनावमा गरेका बाचामध्ये ८० प्रतिशत पूरा गरेको बताएका छन् । गाउँपालिकाका चार हजारभन्दा बढी घरमा खानेपानीको धारा पुर्याइएको छ । गाउँका सबै मुख्य टोलसम्म सडक सञ्जाल विस्तार भएको छ । सुरुमा एउटा कोठाबाट काम सुरु गरेको गाउँपालिकाले अहिले आफ्नै भवन निर्माण गरेर सेवा दिन थालेको छ ।

पूरा नभएका काम

गाउँपालिकाले गरेका सबै काम राम्रा मात्र छैनन् । केही प्रतिबद्धता भने पूरा हुन सकेनन् । भू–उपयोग तथा भूमि व्यवस्थापनका लागि योजना बन्न सकेको छैन ।  पर्यटन विकासका लागि योजना बनाउने काम भए पनि कार्यान्वयन हुन सकेको छैन । कृषिमा आधुनिकीकरणको योजना पनि पूर्ण रूपमा अघि बढ्न सकेको छैन ।

बजेट र त्यसका प्राथमिकता

गाउँपालिकाको वार्षिक बजेट ५० करोड हाराहारीमा छ । त्यसमध्यै आधाभन्दा बढी चालू खर्च हुने गरेको छ । बजेट ठूलो भए पनि आन्तरिक आम्दानी भने निकै कम छ । आन्तरिक राजस्वबाट एक करोड पनि उठने गरेको छैन । संघ र प्रदेश सरकारबाट आउने सहयोगबाटै ठूलो बजेट बनाउने गरिएको छ । कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणलाई बजेटमा प्राथमिकता दिइएको छ ।

आफ्नै कामको मूल्यांकन

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैजना पाँच वर्षमा गरेका कामबाट सन्तुष्ट देखिएका छन् । ‘मेरो काममा सन्तुष्ट छु, पहिलो जनप्रतिनिधि भएकाले बाटो कोर्ने काम भएको छ,’ अध्यक्ष बुढाले भने, ‘कोरोना महामारीले केही बाधा गरे पनि धेरै काम भएका छन् । हामीले स्वास्थ्य क्षेत्रमा पनि प्राथमिकताका साथ काम गर्ने मौका पायौँ ।’ गाउँपालिकाको सीमा विवाद पनि मिलाउने काम भएको भन्दै उनले त्यसलाई पनि उपलब्धि ठानेका छन् ।

उपाध्यक्ष मनकुमारी बुढा विष्टले पनि पहिलो कार्यकालमा भवन बनाउनेदेखि कानुन बनाउनेसम्मका काम भएको बताइन् । ‘अझै केही गर्न त बाँकी नै छ,’ उनले भनिन्, ‘तर, यति काम गर्न पाएकोमा सन्तुष्ट नै छु ।’

सुशासनमा अब्बल

प्रायः पालिकाहरूमा जनप्रतिनिधि र कर्मचारीमाथि सुशासनमा कमजोर रहेको भन्दै प्रश्न उठ्ने गर्छ । तर, भूमेमा भने त्यस्तो भएको छैन । गाउँपालिकाका कामलाई आम नागरिकले हेर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । कर्मचारीको हाजिरीलाई हरेक नागरिकले थाहा पाउने गरी हेर्न मिल्ने प्रणाली पनि बनाइएको छ । पाँच वर्षमा गाउँका पदाधिकारीमाथि अनियमितताजस्ता आरोप लागेको छैन ।

विपक्षी दलको प्रतिक्रिया

भूमे गाउँपालिकाका विपक्षी दलका नेताले समेत निर्वाचित जनप्रतिनिधिको प्रशंसा गरेका छन् । कांग्रेसका नेता गञ्जसिंह बुढाले गाउँपालिकाले नराम्रा काम नगरेको बताए । कुनै–कुनै कुरामा समस्या आए पनि काम राम्रो गरेको देखिन्छ । अझै धेरै गर्न बाँकी थियो, अब त्यो काम आउने जनप्रतिनिधिले गर्लान्,’ उनले भने । एमालेका आशा स्वर्णाकारले सोचेजस्तो राम्रो गर्न नसके पनि नराम्रो पनि नगरेको टिप्पणी गरे ।