NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आतंकवादी संगठनहरु आत्मघाती विस्फोटका लागि महिला किन प्रयोग गर्छन् ?

काठमाडौं । हामीले महिलाहरूमा रहेको चरमपन्थी प्रवृत्तिको इतिहासलाई समीक्षा गर्ने हो भने महिलाहरू चरमपन्थी संगठनको हिस्सा बन्नु पछाडि धेरै कारक र कारण रहेको देखिन्छ । सन् २००० मा चेचन्यामा इस्लामिक चरमपन्थी संगठनले रुसी सैनिकविरुद्ध आत्मघाती विस्फोट गराउन महिलाको प्रयोग गरेका थिए ।

यी आत्मघाती बम विष्फोटमा संलग्न अधिकांश महिलाका श्रीमान्, दाजुभाइ वा बुबा रूसी सैनिकहरूले मारेका थिए । त्यसैले ती महिलाका लागि ‘ब्ल्याक विडो’ शब्द प्रयोग गरिएको थियो । यी महिलाहरू आफ्ना प्रियजनहरूमाथि भएको अन्यायको बदला लिन चरमपन्थी संगठनको सदस्य बनेका थिए ।

यसले पनि महिलाहरू व्यक्तिगत बदला लिने नियतले चरमपन्थी संगठन र हिंसात्मक कार्यहरूमा संलग्न हुन्छन् र आतंकवादी संगठनहरूले उनीहरूको आक्रोशको फाइदा उठाएर त्यस्ता हिंसात्मक कार्यहरू गर्न तयार पार्ने विश्वास पनि छ । तर महिलामा रहेको चरमपन्थी प्रवृत्तिको समीक्षा गर्ने विश्लेषकका अनुसार महिलाहरू हिंसात्मक कार्यमा संलग्न हुनुमा एउटा मात्र कारण छैन ।

विश्लेषकका अनुसार अलकायदा, तमिल टाइगर्स, इस्लामिक स्टेट र बोको हराम संगठन र यसले गर्ने हिंसात्मक कारबाहीमा शिक्षित महिलाको संलग्नताले यस धारणामाथि पनि प्रश्न उठाएको छ ।

यस्ता आतंकवादी गतिविधिमा संलग्न हुने महिलाहरु शिक्षित र सचेत मात्र होइन्, राज्यले उनीहरुको परिवारमाथि कुनै किसिमको दुर्व्यवहार गरेको इतिहास पनि थिएन । यसका कारण पनि उनीहरुले बदलाका लागि आतंकवादी संगठनको सहयोग लिएको भन्न सकिँदैन ।

बरु, यी महिलाहरू आतंकवादी संगठनको विचारधाराका अनुयायी थिए । यसरी आफूखुशी आतंकवादी संगठनमा लाग्नेमध्ये लाहोरमा आत्मघाती हमलाकाे योजना बनाएकी र आक्रमण हुनुभन्दा अघि नै पक्राउ परेकी इस्लामिक स्टेटकी सदस्य नुरीन लगारी र सन् २०१५ मा क्यालिफोर्नियामा भएको आक्रमणमा मारिएकी पाकिस्तानी मुलकी अमेरिकी तस्फीन मलिक पनि पर्छन् ।

यी दुवै शिक्षित परिवारमा जन्मेर हुर्केका सचेत महिला थिए । तस्फीन मलिक एक छोरीकी आमा थिइन् । उनी मारिँदा तस्फीनकी छोरी ६ महिनाकी मात्रै थिइन् । काउन्टर टेररिज्मका विज्ञ तथा ‘मेकिंग अफ ह्युमन बम’का लेखक डा खुर्रम इकबाल भन्छन्, ‘आत्मघाती बम विस्फोट गर्ने महिलाहरुमा ती संगठनको लक्ष्यनजिक पुग्ने र धेरै विनाश गर्ने क्षमता भएका कारण उनीहरुको प्रयोग हुन्छ ।’

पाकिस्तान जस्तो समाजमा हिजाबकाे सम्मान गर्दै महिलालाई खासै वास्ता गरिदैँन । त्यसैले यी महिला आक्रमणकारीले कपडामा विस्फोट पदार्थ लुकाउन र सजिलै सुरक्षा चेक पोइन्टबाट बाहिर निस्किन्छन् ।

डा. खुर्रम इकबाल भन्छन्, ‘महिलाको प्रयोग गर्नुको पछाडि आफ्नो संगठन र यसको विचारधारालाई बढावा दिनु पनि हो । महिला आक्रमणकारीलाई मिडियाले बढी महत्व दिने भएकाले पनि उनीहरुले महिलाको प्रयोग गर्छन् ।’

महिलाले समेत हतियार उठाएर आतंकवादी संगठनले आफूमाथि अन्याय धेरै बढेको भन्ने देखाउन चाहेको पनि विश्लेषकको भनाइ छ ।

अल कायदा वा तालिबान जस्ता इस्लामिक चरमपन्थी समूहहरूले आफ्नो गतिविधिमा महिला प्रयोग हुने कुरा खुलेर स्वीकार गरेका छैनन्, तर उनीहरूले पाकिस्तानलगायत विश्वका विभिन्न देशहरूमा महिला भर्ती गरेका छन् ।

डा खुर्रमका अनुसार आतंकवादको इतिहास हेर्दा धर्मनिरपेक्ष संगठनहरूले हिंसात्मक कार्यमा महिलालाई बढी प्रयोग गरेका छन् र खुलेर स्वीकार पनि गरेका छन् ।

कराँची विश्वविद्यालयमा आत्मघाती विस्फोट गर्ने महिला को हुन् ?

आत्मघाती बम विस्फोटमा महिलाको इतिहास