NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

के कोकाकोलामा कोकिन मिसाइन्थ्यो ?

काठमाडौं । कुनै समय कोकाकोला सुनेर मानिसहरूले कोका भनेको यसमा कोकिन मिसाइएको ठान्थे । कोकिनकै कारण मानिसहरु कोकाकोला धेरै पिउने बानी बसेको ठानिन्थ्यो । वास्तवमा कोकाकोलामा कोकाको पातको रस मिसाइएको हुन्थ्यो ।

कोकाकोलाको उत्पादन सन् १८८६ बाट सुरु भएको हो ।

कोकाकोला नामको पेय अमेरिकाको एटलान्टा सहरका केमिस्ट जोन पेम्बर्टनले सुरु गरेका थिए । अमेरिकी गृहयुद्धमा घाइते भएका पेम्बर्टनलाई मोर्फिनको लत लागेको थियो । यसबाट छुटकारा पाउन पेम्बर्टनले कोका पातको जुस मदिरामा मिसाएर पिउन थाले । उनले धेरै मानिसलाई पनि पिउन दिए ।

सबैले त्याे जुस मन पराएपछि उनले त्यसलाई बेच्न पनि सुरु गरे । मदिरामा कोका पातको रस मिसाउन थालेपछि एटलान्टा सरकारले यसमा प्रतिबन्ध लगाउन कडा कानुन बनाएको थियो । यही कानुनबाट बच्न पेम्बर्टनले काेकाकाेला नयाँ रेसिपी तयार पारेका थिए । कोकाकोलाकाे नाममा ‘काेका’ यसैकाे पातकाे रसका कारण राखिएकाे हाे ।

कोकाकोलाको स्थापनाको पहिलो वर्षमा दैनिक नौ गिलासमात्र बिक्री हुन्थ्यो तर अहिले विश्वभर हरेक दिन दुई अर्ब बोतल कोकाकोला बिक्री हुन्छ । अमेरिकी प्रतिबन्धका कारण कोकाकोला विश्वका दुई देश क्युबा र उत्तर कोरियामा पाइँदैन् ।

सन् १९०० देखि कोकाकोला कम्पनीले एसिया र युरोपमा बोतलमा उत्पादन गर्न सुरु गर्यो । दोस्रो विश्वयुद्धका कारण विदेशमा रहेका अमेरिकी सेनालाई कोकाकोला उपलब्ध गराउँदा कोकाकोला कम्पनीलाई धेरै फाइदा पुगेको थियो ।

कोकाकोलाले धेरै देशहरूमा विरोध पनि सामना गर्यो । कोकाकोला स्वास्थ्यका लागि हानिकारक भएको भन्दै विरोध गरिएको थियो । सन् १९५० को दशकमा फ्रान्सले पहिलो पटक ‘कोका कोलोनाइजेशन’ नाम दिएको थियो । त्यतिबेला कोकाकोलाका ट्रकहरु तोडफोड गरेर बोतलहरु फुटाइएको थियो ।

सन् २००३ मा थाइल्यान्डका मानिसहरुले इराकमा अमेरिकी कारबाहीको विरोधमा कोकाकोला सडकमा बगाए र त्यहाँ केही समय यसको बिक्री पनि रोके ।

इरानका पूर्व राष्ट्रपति महमूद अहमदिनेजादले पनि कोकाकोलालाई प्रतिबन्ध लगाउने धम्की दिएका थिए । त्यही बेला भेनेजुएलाका ह्युगो चाभेजले कोकाकोला र पेप्सीको सट्टा स्थानीय रूपमा बनाएको फलफूलको जुस पिउन पनि आग्रह गरेका थिए । केही समयअघि विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानाे राेनाल्डाेले काेकाकाेलाभन्दा पानी पिउनु उपयुक्त भन्दै यसकाे बाेतल हटाएपछि धेरै खेलाडीले काेकाकाेला पन्छाएका थिए ।

तर यतिबेला माइक्रोब्लगिङ साइट ट्वीटर किनेर अन्तर्राष्ट्रिय बजारमा सनसनी मच्चाएका गरेका एलन मस्कले कोकाकोला पनि किन्ने भनेपछि बजारमा पुनः यसको चर्चा बढेको छ । एलन मस्कले ट्वीटरमा ‘अब, म कोकिन फिर्ता गर्न कोकाकोला खरिद गर्छु’ भनेर लेखेका छन् । तर यसबारे बाँकी केही स्पष्ट छैन ।

एलन मस्कले ट्वीटरपछि कोकाकोला किन्ने

ताजा अपडेट

नेपालवाच विशेष