NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कामवासनामा कमरेडहरू

कम्युनिस्टमा यौन विचलन भूमिगतकालदेखिकै रोग

काठमाडौं । नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयरमा यौन दुराचारको आरोप लागेका पूर्वमेयर केशव स्थापितलाई उम्मेदवार बनाएपछि यौन दुराचारी र दुराचार आरोपीप्रति एमालेलगायतका कम्युनिस्ट पार्टीको उदारता अहिले बहसको विषय भएको छ ।

यद्यपि, कमरेडहरूको यो अहिलेको समस्या भने होइन । भूमिगतकालदेखि नै कम्युनिस्ट पार्टीभित्र यौन विचलनका अनेक किस्सा चर्चामा आउने गर्थे । नाम चलेका शीर्ष तहकै नेताहरूको कामुक स्वभावबारे अहिले पनि चर्चा नहुने होइन । आफूलाई अविवाहित बताउने कतिपय कम्युनिस्ट नेताहरूको ‘लिभिङ टुगेदर’ले सीमा नाघेको देखिन्छ ।

‘क्वालिटी टाइम’को अर्थ

पूर्वमेयर केशव स्थापितमाथि काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले यौन दुराचारको आक्षेप लगाएका छन् । दुई महिलाले हाकाहाकी आफूमाथि स्थापितबाट यौन दुराचार भएको बताइरहँदा यो प्रकरणको न्यायिक, सामाजिक र नैतिक निरूपणचाहिँ किन भइरहेको छैन ? भन्ने गम्भीर प्रश्न त छँदैछ, तर दलहरूले कस्ता उम्मेदवारलाई काखी च्यापिरहेका छन् भन्ने पनि यो एउटा दृष्टान्त हो ।

वि.सं. ०७५ कात्तिक ४ मा प्रजापतिले सामाजिक सञ्जालमार्फत खुलासा गरे अनुसार प्रदेश नम्बर ३ का तत्कालीन मन्त्री स्थापितले ‘नगरकोट घुम्न जाने र क्वालिटी टाइम बिताउने’ प्रस्ताव राखेर गाडीसमेत पठाएका थिए । स्थापितको दुर्नियतपूर्ण प्रस्ताव अस्वीकार गर्दा उनको जागिरसमेत गुमेको थियो ।

पूर्वमेयर केशव स्थापितमाथि काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले यौन दुराचारको आक्षेप लगाएका छन् । दुई महिलाले हाकाहाकी आफूमाथि स्थापितबाट यौन दुराचार भएको बताइरहँदा यो प्रकरणको न्यायिक, सामाजिक र नैतिक निरूपणचाहिँ किन भइरहेको छैन ?

‘मलाई थाहा छ, दर्जनभन्दा बढी महिलाहरूलाई उनले ह्यारेस गरेका छन् । कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो,’ प्रजापतिले भनेकी थिइन् ।

स्थापितले रश्मिलासँग राखेको ‘क्वालिटी टाइम बिताउने’ प्रस्तावको नियत के हो ? स्थापितले खासमा केलाई ‘क्वालिटी टाइम’ भनेका हुन् ? एउटी एक्ली महिलालाई नगरकोटसम्म लगेर स्थापितले बिताउन चाहेको ‘क्वालिटी टाइम’ कस्तो हुन्छ ? स्पष्ट छ, यसमा स्थापितको नियत ठीक देखिँदैन ।

त्यसैगरी, पत्रकार उज्जला महर्जनले पनि ‘अंग्रेजी दैनिक रिपब्लिकामा कार्यरत रहँदा स्थापितसँग अन्तर्वार्ता लिएको, अन्तर्वार्ता लिएर फर्केको अर्को साँझ स्थापितले आफूलाई फोन गरेर साथी बन्ने प्रस्ताव राखेको सामाजिक सञ्जालमा खुलाइन् । महर्जनले लेखेकी थिइन्, ‘जब साँझ पथ्र्यो, स्थापित मलाई फोन गरिरहन थाले । एक/दुई पटक त उठाएँ, तर पछि बेवास्ता गरेँ । उनको फोन उठाउन छाडेँ ।’

आफूमाथि यौन दुराचार गर्ने स्थापितलाई नै एमालेले मेयर उम्मेदवार बनाएपछि प्रजापति स्तब्ध भइन् । उनले हालै मात्र फेसबुकमा लेखेकी छिन्, ‘म एमाले पार्टीको विरोधी होइन, सो पार्टीमा थुप्रै राम्रा व्यक्तिहरू पनि छन् । तर एउटा जिम्मेवार दलले यौन दुराचारी मात्र होइन, हालसम्मकै ’भ्रष्ट’लाई मेयर उम्मेदवारी दिएकोमा विरोध हो ! गलत व्यक्ति र गलत प्रवृत्तिको विरोध हो !’

मोदनाथको बचाउमा शंकर

कम्युनिस्ट पार्टीमा भूमिगतकालमा सेल्टर लिएकै घरकी चेलीमाथि वासनापूर्ण दृष्टिले अतिरेक गर्ने, फकाइ फुल्याइ यौन शोषण गर्ने र पोल खुलेको खण्डमा विवाह नै गर्ने गरेका कैयौं उदाहरण छन् ।

केही वर्षअघि साहित्यकार राजवको उपन्यास ‘भूमिगतलीला ०३२’ प्रकाशित भएको थियो, जसमा नेकपा (एमाले) अर्थात् त्यसबेलाको मालेका कतिपय नेताहरूको यौन चर्तिकलाबारे छरपस्ट पारिएको छ । उपन्यास काल्पनिक नभई करिब–करिब सत्य घटनामा आधारित छ । भूमिगतकालमा सेल्टर दिने घरकै चेलीमाथि कमरेडहरूले कसरी यौन शोषण गर्थे भन्ने उपन्यासमा सविस्तार बयान छ ।

भूमिगतकालमा कमरेडहरूबाट हुने यौन दुराचारलाई कम्युनिस्ट पार्टीले नै ‘पार्टी प्रतिष्ठाको सवाल’ भन्दै गुपचुप दबाउने गरेका कैयौं घटनाहरू छन् । यौन दुराचारको आरोप लागेकाप्रति एमाले उदार भएको पछिल्लो ज्वलन्त उदाहरण हो, पूर्वमन्त्री मोदनाथ प्रसितको यौन काण्ड ।

केही वर्षअघि साहित्यकार राजवको उपन्यास ‘भूमिगतलीला ०३२’ प्रकाशित भएको थियो, जसमा नेकपा (एमाले) अर्थात् त्यसबेलाको मालेका कतिपय नेताहरूको यौन चर्तिकलाबारे छरपस्ट पारिएको छ

अर्घाखाँचीकी भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसालको आत्म वृत्तान्त ‘धरातल’ बजारमा पाइन्छ । यो पुस्तकमा लेखिका भुसालले कम्युनिस्ट नेता मोदनाथले आफूमाथि गरेको बलात्कार र यातनाबारे सविस्तार वर्णन गरेकी छन् ।

पुस्तकमा उल्लेख भएअनुसार पिता गुणनिधि भुसाल र पार्टीकी नेतृ शान्ता मानवीको जोडबलमा शारदा एक दिन मोदनाथको चंगुलमा फस्छिन् । मोदनाथले उनलाई काठमाडौं ल्याउँछन् र स्वयम्भूस्थित कोठामा सात महिनासम्म बन्द गरेर राख्छन् । स्वयम्भूको कोठामा मोदनाथले रातिराति आफूमाथि बारम्बार बलात्कार गरेको शारदाले पुस्तकमा उल्लेख गरेकी छन् ।

‘बाहिरी लुगा खोलेर ओछ्यानमा पल्टिएको मोदनाथ जुरुक्क उठ्यो र कुनामा थरथर काँप्दै उभिएकी मलाई उसका पन्जाहरूले अठ्याएँ । जबर्जस्ती मलाई ओछ्यानमा लडायो । कम्मरमुनिका लुगा खोलेर मिल्कायो, कम्मरमाथिको लुगा अलि माथि सारेर मेरा अंगहरूमाथि आक्रमण गर्न थाल्यो,’ शारदाको पुस्तकमा उल्लेख छ ।

लेखिका घटनाको थप बयान गर्छिन्, ‘मैले प्रतिकार गर्न छाडिनँ । तर ऊ झनै हिंस्रक रूपमा प्रस्तुत भयो । एउटा हातले मेरा हातहरू अँठ्याएर मेरो कम्मरमाथि घोडा चढ्यो अनि अर्को हातले मेरा लुगाहरूका टाँकहरू खोल्न थाल्यो । मैले जोडले चिच्याएँ । ऊ मेरा गालाहरूमा चड्काउँथ्यो । म चिच्याउन नसकूँ भनेर उसले कपडाले मेरो मुख थुनिदियो अनि मेरो अस्मिता जबरजस्ती लुट्यो । म भिड्दाभिड्दै म हारेँ । म करिबकरिब बेहोसीको अवस्थामा पुगेँ । मोदनाथका पन्जाहरूले शरीरका कपडा सबै च्यातिएका थिए ।’

शारदाको पुस्तक प्रकाशमा आएपछि दुई थरी प्रतिक्रिया आए । मानव अधिकार र महिला अधिकारकर्मीहरूले शारदाप्रति सहानुभूति र मोदनाथप्रति घृणा जताए । तर एमाले नेतृत्व पंक्तिचाहिँ मोदनाथको बचाउमा मात्र लागेन, पीडित शारदालाई नै ‘पागल’को संज्ञा दियो ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेपछि व्यापक विवाद भयो । कुनै महिलाले पुस्तक नै लेखेर यौन दुराचारको आरोप लगाएकै व्यक्तिसँग पुस्तककै लागि पुरस्कार लिन उचित नहुने भन्दै लेखक उप्रेतीले पुरस्कार अस्वीकार गरे । प्रतिष्ठानले अन्ततः पुरस्कार र सम्मान दुवै स्थगित गरिदियो ।

यसै मेसोमा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री एवं हाल एमाले महासचिव शंकर पोखरेल मोदनाथको बचाउमा खुलेरै लागे । उनले फेसबुकमा लेखे, ‘सञ्जीव उप्रेतीजीले समाजको ‘रूपान्तरणमा प्रश्रितको जस्तो योगदान गर्न नसकेका कारणले एकसाथ पुरस्कार नलिने भनेको होला भनेको त शारदा झाले चर्चामा आउनका लागि गरिएको अप्रमाणित आरोपसँग जोडेर भन्नुभएको रहेछ । उहाँको कुरा सुन्दा साह्रै दुःख लाग्यो । प्रश्रितले नेपाली समाजको परम्परागत सामन्ती जड्ता तोड्न र सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा पुर्‍याएको योगदान अतुलनीय छ । एकाध किताबको सफलतासँग उहाँको योगदानको तुलना हुन सक्दैन । सञ्जीवजीले आफ्नो कमजोरी महसुस गरी प्रश्रितजीलाई सम्मान गर्नुहुनेछ ।’

नेता शंकरले यसरी बलात्कार आरोपी मोदनाथको हाकाहाकी प्रतिरक्षा गरेपछि सामाजिक सञ्जालमा व्यापक विरोध भयो । शंकरको स्ट्याटसको जवाफमा लेखिका शारदाले लेखेकी थिइन्, ‘शंकर पोखरेलजी, हजुरलाई पनि याद होला, बुटवललगायतका ठाउँहरूमा विजयसभा हुँदा कतिपय ठाउँमा हजुरसँग पनि भेट भएको थियो । त्यतिबेला मलाई प्रश्रितले हात समातेर लगेका हुन्थे । कहिले सोध्ने प्रयास गर्नु भो ? यी नानी को हुन ? किन हजुरसँग छिन् भनेर ?’

प्रेमिकाकै हत्या गर्ने कमरेड

नेकपा एमालेभित्र यौन दुराचारी र पापाचारीहरूको बिगबिगी कुन हदसम्म बढेको छ भन्नेबारे एमालेकै पूर्व महासचिव एवं हाल एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खुलासा गरिसकेका छन् ।

केही वर्षअघि ‘हिमालय टेलिभिजन’सँगको अन्तर्वार्तामा नेपालले एमालेभित्र बलात्कारी र शहिदकी पत्नी ताक्ने प्रवृत्ति मौलाएको बताएका थिए ।

‘दुई नम्बरी काम गरेको छ, आचरण खराब छ । अर्काकी श्रीमती ताकेको छ । शहिदकी श्रीमती ताकेको छ । बोलीमा मिठास छैन । उदण्डता मात्र छ, केही कुरामा विनम्रता छैन । हेर्नुहोस् त फेसबुकमा के–के लेख्छन उदण्डका जमातहरूले ! गुरुले जस्तो सिकाएका छन्, उस्तै चेलाहरू छन् । यसरी पनि पार्टी चल्छ ?,’ नेता नेपालले भनेका थिए ।

नेकपा एमालेभित्र यौन दुराचारी र पापाचारीहरूको बिगबिगी कुन हदसम्म बढेको छ भन्नेबारे एमालेकै पूर्व महासचिव एवं हाल एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खुलासा गरिसकेका छन्

ओलीसँग निकट रहेकाहरू बलात्कारी र भ्रष्टाचारीको गाडी चढेर हिँड्ने गरेको आरोप लगाउँदै नेपालले ओलीकै कारण पार्टीभित्र अनुशासनहीन, उदण्ड चरित्र र खराब आचरण भएकाहरूको बोलवाला हुन थालेको र निष्ठाको राजनीति गर्नेहरू छायामा परेको बताएका थिए ।

तीन वर्षअघि एउटा दर्दनाक घटना भयो । ०७५ फागुन १७ मा नेकपाका नेता योगेन्द्र गुरुङ प्रेमिका हत्या आरोपमा पक्राउ परे । मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको उनले हत्या मात्र गरेनन्, शव गायव पार्न कोसी ब्यारेजको पुलबाट नदीमा फालेका थिए ।

एमाले बेलबारीका पूर्वअध्यक्षसमेत रहेका गुरुङले हत्या गरेकी रमिला पहिलेका आफ्ना पतिसँग सम्बन्धविच्छेद गरेर माइतीमै बस्दै आएकी थिइन् । उनकी एक छोरी छन् । गुरुङका भने श्रीमती र दुई छोराहरू काठमाडौंमा बस्दै आएका थिए । श्रीमती हुँदाहुँदै परस्त्रीगमनमा लिप्त रहेका गुरुङले पोल खुल्ने डरले प्रेमिकाको हत्या गरेका थिए ।

महिलामाथि यौन दुराचार गरेको आरोपमा सुदूरपश्चिम प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको मन्त्री पद गुम्यो । उनलाई नेकपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । मन्त्री सोडारीले एक महिलालाई टेलिफोनमा जथाभावी अपशब्द बोलेको अडियो रेकर्ड भाइरल भएको थियो ।

०७२ सालको असार १५ मा काठमाडौंको मूलपानीमा धान दिवस मनाउने क्रममा तत्कालीन कृषिमन्त्री हरि पराजुलीले रोपाइँमा सहभागी एक महिलालाई अंगालो हालेर दुव्र्यहार गरेका थिए । एमाले नेता पराजुलीको यस्तो हर्कतको उनकै पार्टीभित्र व्यापक विरोध भयो । अन्ततः उनको मन्त्री पद नै खुस्कियो ।

एमाले नेता रवीन्द्र श्रेष्ठमाथि यौन विचलन प्रकरणमा पार्टीले कारबाही चलाएको थियो । यसैगरी एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राइमाथि पनि एक कार्यकर्ताले यौन शोषणको आरोप लगाउँदै आएकी छन् ।
पूर्व पर्यटनमन्त्री कृपाशुर शेर्पामाथि पनि यस्तो आरोप लागेकै हो । कतिपय घटना यस्ता छन्, जसका बारेमा पार्टीमा धेरैलाई थाहा छ, तर गुपचुप राखिएको छ । केही नेता यस्ता यस्ता छन्, जो आफुलाई अविवाहित भन्छन्, तर कन्या फेरी–फेरी रिसोर्ट चहारिरहेका हुन्छन् ।

०७५ फागुन १७ मा नेकपाका नेता योगेन्द्र गुरुङ प्रेमिका हत्या आरोपमा पक्राउ परे । मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको उनले हत्या मात्र गरेनन्, शव गायव पार्न कोसी ब्यारेजको पुलबाट नदीमा फालेका थिए

‘फर्गेट यस्टर्डे’लाई सम्झँदा

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा ०७६ कात्तिकमा सभामुख निवास बालुवाटारबाट पक्राउ परे । तीनकुनेस्थित रोशनीको कोठामा पुगेर महराले उनीमाथि बलात्कार गरेको दाबीसहितको समाचार ‘हाम्रोकुरा डटकम’मा प्रकाशित भएको थियो । महराले आफू रोशनीको कोठामा पुगेको भए पनि कुनै गलत कार्य नगरेको दाबी गरेका थिए ।

सभामुख महराले आफूमाथि बलात्कार गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिइन् । रक्सीको बोतल बोकेर आफ्नो कोठामा आएका महराले मातेर लठ्ठ भएपछि बलात्कार गरेको पीडित महिलाले बताएकी थिइन् ।

घटना सार्वजनिक भएपछि महरानिकट व्यक्तिहरूले पीडितलाई निकै दबाब दिएको देखिन्छ । यसबीचमा रोशनीको बयान फेरिन्छ । उनले ‘महरा सर मेरो कोठामा आउनु भएकै थिएन, मिडियामा आएका कुरा सत्य होइनन्, उहाँ मेरो बाबु समानको मान्छे हो’ भन्न थालिन् । अर्थात् उनी होस्टाइल भएको देखिन्छ ।

प्रहरीको रिपोर्ट, सीसीटीभीको फुटेज आदिबाट रोशनीको कोठामा महरा गएको स्पष्ट थियो । प्रहरीले प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष, गृहमन्त्री सबैलाई प्राप्त तथ्यबारे अवगत गराएको थियो । कसै–कसैले यसलाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव गर्न नमानेकाले महरामाथि षड्यन्त्र भएको दाबी गरे पनि घटनामा महरा स्वयंले रोशनीलाई ‘फर्गेट यस्टर्डे’ भन्दै मोबाइलमा म्यासेज पठाएको देखिन्छ । अर्थात् महरामा कैफियत देखिएपछि प्रधानमन्त्री र नेकपाले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

कसै–कसैले यसलाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव गर्न नमानेकाले महरामाथि षड्यन्त्र भएको दाबी गरे पनि घटनामा महरा स्वयंले रोशनीलाई ‘फर्गेट यस्टर्डे’ भन्दै मोबाइलमा म्यासेज पठाएको देखिन्छ

यति मात्र होइन, ‘महरा प्रकरण’ रोशनीले आफ्ना पतिसँगसमेत सम्बन्धविच्छेद गर्नुपर्‍यो । पति चित्रजंग शाहीले महरालाई बचाउनकै लागि रोशनीलाई बयान फेर्न दबाब दिएका खबरहरू पनि आए । अन्ततः महरालाई अदालतले सफाइ दियो र उनी करिब एक सय दिनको हिरासतबाट मुक्त भए । अचेल महरा पार्टीमा पुरानै जोश र सम्मानका साथ लागिरहेकै छन् । माओवादी केन्द्रले पनि महराको यो मुद्दालाई ‘फर्गेट यस्टर्डे’कै मातहत राखेको छ ।

विचलनले बर्बादै पारेछ

०५७ सालमा अखिल क्रान्तिकारीका तत्कालीन अध्यक्ष कृष्णध्वज खड्कालाई एक महिला विद्यार्थी नेतृमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पार्टीबाट ६ महिनाका लागि निष्कासित नै गरिएको थियो । त्यसैगरी, ०६४ को संविधानसभा निर्वाचनमा पर्वत क्षेत्र नं. २ बाट निर्वाचित माओवादी नेता गुणाखर बस्याल सभासद बहाल रहेकै बेला काठमाडौँ नयाँ बसपार्कस्थित एक होटल सञ्चालिकासँगै पक्राउ परे । त्यसपछि उनी गुमनाम छन् । यौन विचलनले यसरी धेरैको राजनीति धरापमा पारिदिएको छ ।

सांस्कृतिक विचलनका हिसाबले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा भ्रातृ संगठन जनसांस्कृतिक महासंघका तत्कालीन अध्यक्ष गणेश भण्डारी र संघमै आबद्ध संगीतकार/गीतकार चेतन सापकोटाको काण्ड पनि बारम्बार चर्चामा आउने गर्छ ।

यो ०७३ साउनको प्रसंग हो । ललितपुर झम्सिखेलको एक रेस्टुराँमा मदिरा जमघटपछि एक मित्रले भण्डारी र सापकोटालाई राति आफ्नै घरमा लगेका थिए । तर, मित्रकै छोरीमाथि कुदृष्टि राखेपछि भण्डारी र सापकोटा राति नै त्यो घरबाट लखेटिए ।

कुनैबेला माओवादी विद्रोहमा सक्रिय पत्रकार माधव बस्नेतले ‘नेपाल’ पत्रिकामा लेखे अनुसार घटना त्यत्तिकै सेलाएन । उनीहरूको हर्कतको उजुरी पार्टी नेतृत्वसम्म पुग्यो । यसपछि माओवादी केन्द्रका तत्कालीन सांस्कृतिक विभाग इञ्चार्ज तथा जनसांस्कृतिक महासंघका इञ्चार्ज विश्वभक्त दुलाल ‘आहुति’ को नेतृत्वमा छानबिन समिति बन्यो ।

अध्यक्ष भण्डारीले महासंघको बैठक डाके । उनले बैठकमा आत्मालोचना गरे । ‘सम्हाल्न कठिन हुने गरी मादक पदार्थचाहिँ पिएको हो, त्यसबाहेक मबाट अन्य कमजोरी भएको छैन । साथी (चेतन सापकोटा) गलत नियतले प्रस्तुत भएछन् । त्यसको दोष मलाई पनि आइलागेको हो,’ भण्डारीले भनेका थिए ।

आहुतिसमेत उपस्थित बैठकमा अध्यक्ष भण्डारीले भनेका थिए, ‘जनसांस्कृतिक महासंघ अध्यक्षको हैसियतले अलि बढी नै मादक पदार्थ पिउनु, त्यहाँ जानु मबाट कमजोरी भएकै हो । त्यसैले म महासंघ अध्यक्षबाट राजीनामा गर्छु

तत्कालीन उपाध्यक्ष विष्णु भण्डारीका अनुसार, आहुतिसमेत उपस्थित बैठकमा अध्यक्ष भण्डारीले भनेका थिए, ‘जनसांस्कृतिक महासंघ अध्यक्षको हैसियतले अलि बढी नै मादक पदार्थ पिउनु, त्यहाँ जानु मबाट कमजोरी भएकै हो । त्यसैले म महासंघ अध्यक्षबाट राजीनामा गर्छु ।’

पत्रकार बस्नेतको रिपोर्टमा उल्लेख भए अनुसार, राजीनामा दिए पनि त्यो लपेटाइले भण्डारीलाई खेद्न छाडेन । त्यही काण्डकै कारण उनी फेरि महासंघ अध्यक्ष हुन सकेनन् । उनको स्थान सरल सहयात्रीले लिए । त्यो घटनाअघि उनी तत्कालीन ७ नम्बर प्रदेशको मुख्यमन्त्री वा संघीय सांसदका दाबेदार थिए । सोही घटनामा मुछिएको बहानामै सही, प्रदेशसभादेखि संघीय संसद्सम्म उनले टिकट पाउन सकेनन् ।

सांस्कृतिक विचलनको रोगबाट नेपालको कम्युनिस्ट आन्दोलन अझै मुक्त हुन सकेको छैन । केशव स्थापितको पछिल्लो प्रकरणसँगै कम्युनिस्ट आन्दोलनमा व्याप्त यौन विचलनका किस्सा स्मरणमा आएका हुन् । तर, यस्ता मुद्दामा धेरै कम नेता कार्यकर्ता पार्टी या राज्यको कारबाहीमा पर्ने गरेका छन् ।

‘माओवादी जनयुद्धता’का पश्चिमाञ्चल सैन्य कमान्डर नन्दबहादुर पुन पासाङ (हाल उपराष्ट्रपति)ले आफ्नो ब्रिगेडअन्तर्गतका एक बटालियन कमाण्डर ‘प्रभात’माथि एक छापामार युवतीसँग यौनसम्बन्ध राखेको आरोपमा भौतिक कारबाहीकै चेतावनी दिएको बताइन्छ ।

कारबाहीबाट बच्न कमरेड प्रभात त्यहाँबाट कुलेलम ठोकेका थिए, जसलाई कालान्तरमा तत्कालीन शाही सेनाले नियन्त्रणमा लिएको थियो । विद्रोहकालमा महिला छापामारमाथि बलात्कार, यौन शोषणका अनेक घटना भएका छन् । यसका साथै यौन विचलनको आरोपमा आधा दर्जन लडाकुमाथि भौतिक कारबाहीसमेत भएको बताइन्छ ।

कमरेडहरूमा नैतिक आचरण क्षण हुँदै गएको छ । स्त्री देख्यो कि उनीहरूमा विचलन ग्रन्थी जागिहाल्छ । ०७६ भदौ २३ को घटना हो । सार्वजनिक बसभित्र युवतीलाई दुव्यवहार गरेको आरोपमा माओवादीका पूर्वसभासद् योगेन्द्र घिसिङ पक्राउ परे । यात्रुको उजुरीपछि ललितपुरको एकान्तकुनाबाट प्रहरीले पूर्वसभासद् घिसिङलाई पक्राउ गरेको थियो ।

माओवादीभित्र यानप्रसाद गौतम ‘आलोक’माथि ‘यौन विचलन’को आरोपमा कारबाही गरिएको थियो । उनी काभ्रेकी माओवादी नेतृ एवं आफ्नै साली रुकु चौलागाईंसँगको सम्बन्ध खुलेपछि कारबाहीमा परेका थिए । त्यसबेला आलोक पूर्वी कमाण्ड इञ्चार्ज थिए ।