NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कोरोना संक्रमण बढेपछि बेइजिङका विद्यालयहरू फेरि बन्द

बेइजिङ । कोरोना भाइरसको संक्रमण फेरि बढेपछि चीनको बेइजिङका विद्यालयहरु बन्द गरिएको छ । महामारी अत्यधिक फैलिन थालेपछि हतार हतार गरेर साविक बमोजिमको विदा सुरु हुनु एक दिन अगाडि नै विदा दिइएको हो ।

सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

‘विद्यार्थीहरूको विदा शुक्रबार देखि नै लागू हुन्छ, नियमित विदाभन्दा एक दिन अगाडि नै विदा सुरु गरिएको हो,’ सरकारी एक अधिकारीले भने । महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए ।

विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने सर्त राखिएको छ ।

विद्यालय अब पुनः कहिले सुचारु गर्ने भन्ने बारेमा महामारीको संक्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बेइजिङमा बुधवार दिउँसो ३ बजेदेखि बिहीबार दिउँसो ३ बजेसम्ममा ५३ जनामा आन्तरिक संक्रमण भएको पुष्टि गरिएको छ ।