NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अमेरिकी प्रयोगशालाका चिम्पान्जीको दुखद कहानी

लाइबेरिया । पशु चिकित्सक रिचर्ड सुना लाइबेरियन टापुहरू नजिकको डुंगाबाट किनारमा फलफुल फ्याँकिरहेका र चिम्पान्जीहरूको आवाज निकाल्ने संरक्षकहरूलाई हेर्छिन् । त्यहाँ समुद्री तट खाली छ,  चिम्पान्जीहरूको गुनगुनाहट भने सुन्न सकिन्छ । विस्तारै हिंडिरहेको एउटा ठूलो चिम्पान्जी समुद्रको किनारमा खाना लिन आउँछ ।

सुना भन्छिन्, ‘त्यो आफ्नो समूहको सबैभन्दा ठूलो चिम्पान्जी हो । अरु सबै उसैलाई पछ्याउँछन् ।’ त्यहाँ भएकामध्ये सबैभन्दा साना चिम्पान्जीहरु केरा, खजुर टिप्दै खुशी हुँदै उफ्रिन्छन्, कराउँछन् । एट्लान्टिक सागरको छेउमा रहेको एउटा सानो सुनसान टापुमा कुनै मानव बस्ती छैन । त्यहाँ ६५ वटा चिम्पान्जी बस्छन् ।

यो पश्चिम अफ्रिकी देश मोनरोभियाको राजधानीबाट करिब ५५ किलोमिटर टाढा छ । तर, उनीहरुलाई खाना दिएर खुशी बनाउनुको पछाडि ती चिम्पान्जीको दुखद विगत छ । तिनीहरू ४०० चिम्पान्जीहरूको समूहका सदस्य हुन्, जो अमेरिकी अनुदान प्राप्त अनुसन्धान परियोजनाका लागि परीक्षणमा प्रयोग गरिएको थियो ।

धेरै दशकसम्म अनुसन्धानकर्ताले उनीहरुको शरीर प्रयोग गरिरहे । कतिपयको त सयौंपटक बायोप्सी गरिएको छ । ‘उनीहरूलाई धेरै चोट लागेको छ’ मानव समाज इन्टरनेशनल (एचएसआई) की निर्देशक सुना भन्छिन् । एचएसआईले अहिले प्रयोशालामा प्रयोग गरेर छोडिएका जनावारको हेरचाह गर्छ ।

सन् १९७४ मा लाइबेरियामा चिम्पान्जीमाथि परीक्षण सुरु भयो । त्यसपछि न्यूयोर्क ब्लड सेन्टर (एनवाइबिसी) ले फर्मिङ्टन नदीको किनारमा बनेको क्याम्पसमा हेपाटाइटिस बी र अन्य रोगहरूसँग सम्बन्धित बायोमेडिकल अनुसन्धान सुरु गर्यो । सन् १९८९ देखि २००३ सम्म लाइबेरियामा गृहयुद्धको समयमा चिम्पान्जीहरु भोकभोकै मरेका थिए ।

देश युद्धग्रस्त भएका कारण ती चिम्पान्जीको रेखदेख गर्ने कोही भएनन् । गरिब देशमा अनुसन्धानका कर्मचारीहरूले आफ्नै खल्तीबाट पैसा खर्च गरेर कतिपयलाई जीवित राखेका थिए । २१ औं शताब्दीको पहिलो दशकको मध्यमा धेरै चिम्पान्जीहरू सेवानिवृत्त भए, तर यत्तिकैमा समस्या समाधान भएको थिएन ।

न्यूयोर्क ब्लड सेन्टरले सन् २०१५ मा आफ्नो कोष कटौती गर्नुको कारण अझै स्पष्ट पारेकाे छैन । यस विषयमा निकै विवाद भएको थियो । सेन्टरले आफूसँग राख्न नसक्ने चिम्पान्जीहरूलाई साना टापुहरूमा छाेड्याे । सामाजिक कार्यकर्ताहरूले ज्याकलिन फिनिक्स र एलेन पेजजस्ता हलिउड स्टारसँग मिलेर ब्लड बैंकमा चिम्पान्जीका लागि कोष पुनर्स्थापना गर्न आग्रह गर्दै निवदेन दिनका लागि हस्ताक्षर संकलन अभियान सुरु गरे ।

अमेरिकामा बस्ने प्राइमेटोलोजिस्ट ब्रायन हेयरले निवेदन दायर गरे । उनले निवेदनमा लेखेका छन्, ‘यी चिम्पान्जीहरूलाई अन्न पानीविना भोकभोकै मर्ने गरी छोडिएकाे छ ।’ लाइबेरिया संसारको सबैभन्दा गरिब देशमध्ये एक हो ।

विश्व बैंकका अनुसार यसका ४४ प्रतिशत जनसंख्याको दैनिक आम्दानी १.९० डलरभन्दा थोरै छ । एवाइबिसीले इबोला महामारीको बेला  आर्थिक सहयोग रोकेपछि पनि अनुसन्धान केन्द्रका स्थानीय कर्मचारीहरूले चिम्पान्जीहरूलाई सहयोग गर्न अघि सरे । सामाजिक संघसंस्था र अमेरिकी बैंक सिटी ग्रुपले पनि कठिन समयमा राहतका लागि पैसा दिएका छन् ।

दबाब बढ्दै जाँदा एनवाइबिसीले अन्ततः दीर्घकालीन हेरचाहको लागि केही रकम खर्च गर्न सहमत भयो । सन् २०१७ मा यसका लागि मानव समाज इन्टरनेशनलसँग सम्झौता भयो ।

सम्झौताअनुसार एनवाइबिसीले ६ मिलियन अमेरिकी डलर दिने भएको थियो । विगत केही वर्षदेखि प्रयोगशालामा काम गरिरहेका चिम्पान्जीहरूले भेटेरिनरी हेरचाह र दिनको दुई पटक खाना पाउँछन् ।

धेरै चिम्पान्जीहरू अझै पनि आफ्नो शरीर र दिमागमा विगतका घाउ बोकेर घुम्छन् । डाक्टर सुनाले देखाएको अर्को चिम्पान्जीको एउटा हात नै थिएन । उनले त्यो चिम्पान्जीमाथि प्रयोगशालामा अत्याचार भएकाले त्यस्ताे भएकाे हुनसक्ने बताइन् ।

उनीहरूलाई दिनहुँ खाना खुवाउन सजिलो छैन ।

हेरचाह गर्नेहरूले हरेक बिहान २०० केजी र दिउँसो १२० केजी अर्थात् एक महिनामा १० टन खाना तयार गर्नुपर्छ । ती चिम्पान्जीहरुलाई जीवित भइन्जेल खाना खुवाइनेछ ।

उनीहरुलाई करिब ५० वर्षसम्म हेरचाह गर्नुपर्ने सुनाको अनुमान छ । धेरै चिम्पान्जीको उमेर २० वर्षको छ, चिम्पान्जीहरु झन्डै ६० वर्षसम्म बाँच्छन् । यसबाहेक केही साना पनि छन् ।