NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

तनहुँ । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवार मतदाताका घरदैलोमा जाने अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको व्यास नगरपालिका सहित अन्य पालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) लगायत दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।

कांग्रेसले पहिलो चुनावीसभा व्यास–१३ बेलवासमा गरेको छ । व्यासमा कांग्रेसका तर्फबाट प्रमुखमा वैकुण्ठनाथ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैले उम्मेदवारी दिएका छन् । व्यासलाई उपमहानगरपालिका बनाउन संरचना निर्माणतर्फ मुख्य ध्यान रहने प्रमुखका उम्मेदवार न्यौपानेले बताए ।

एमालेबाट व्यास नगरको प्रमुख उम्मेदवार दीपकराज जोशी र उपप्रमुख उम्मेदवार बसुन्धरा घर्ती उम्मेदवारको घरमा पुगी मत माग्न व्यस्त छन् । व्यासलाई सुव्यवस्थित, समुन्नत र सुन्दर नगरपालिका बनाउने योजनासहित चुनावी मैदानमा होमिएको प्रमुखका उम्मेदवार जोशीले बताए ।

यसैगरी सत्ता गठबन्धनबाट शुक्लागण्डकी नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णराज पण्डित र उपप्रमुखका उम्मेदवार राजु विक मतदाताको घरमा पुग्न थालेका छन् । शुक्लागण्डकीमा कांग्रेसबाट प्रमुख र माओवादी केन्द्रबाट उपप्रमुखमा गठबन्धन भएको छ । शुक्लागण्डकी नगरपालिकालाई समृद्ध बनाउने योजनासहित आफूहरु चुनावी मैदानमा उत्रिएको नगरप्रमुखका उम्मेदवार पण्डितले बताए ।

नेकपा (एकीकृत समाजवादी) ले पनि उम्मेदवार मतदाताका घरदैलोमा जाने अभियान सुरु गरेको छ । भानु नगरपालिकामा एकीकृत समाजवादीका उपप्रमुख उम्मेदवार श्रीराम पौडेल मतदाताको घरदैलोमा पुगेर मत माग्न थालेका छन् । उनले हरेक वडामा सीप केन्द्र सञ्चालन गरिने जनाउँदै नगरवासीलाई आत्मनिर्भर बनाउन एक वडा ः एक सीप केन्द्र सञ्चालन गर्ने योजना रहेको उल्लेख गरे ।

तनहुँमा एक हजार ६४० उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ६४० उम्मेदवार कायम भएका छन् । चार नगरपालिका र छ गाउँपालिकामा कांग्रेसबाट ४४० जनाको उम्मेदवारी परेको छ । यसैगरी एमालेका ४१६ जना माओवादीका ३४७ जनाको उम्मेदवारी दर्ता भएको छ । एकीकृत समाजवादीका १३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १७९, मङ्गोल नेशनल अर्गनाइजेशनका ५२, विवेकशील साझाका ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी स्वतन्त्र रूपमा १२५ जनाको उम्मेदवारी दर्ता भएको छ । जनता समाजवादी पार्टीका तर्फबाट १८, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट २६, मौलिक जरोकिलो पार्टीबाट दुई, नेपाली कांग्रेस (बिपी) एक, उन्नत लोकतन्त्र पार्टीबाट एक, नेकपा (माक्र्सवादी लेनिवादी) बाट दुई जनाको उम्मेदवारी परेको छ ।