NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

संसदमै अश्लील भिडियो हेर्ने सांसदले दिए राजीनामा

लन्डन । बेलायतका एक सांसदले आफ्नो संसदमै अश्लील भिडियो हेर्ने असभ्य क्रियाकलापका कारण राजीनामा दिनुपरेको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद नील पेरिसलाई बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सको बैठकका क्रममा मोबाइल फोनमा अश्लील भिडियो हेरेको आरोप लागेको छ ।

पेरिसले शनिबार संसदको सदस्यताबाट राजीनामा दिएपछि आफ्नो गतिविधिलाई ‘पागलपन’ भन्दै सबैसँग माफी पनि मागेका छन् ।

संसदका आयुक्तलाई यसबारे उजुरी गरेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जरभेटिभ पार्टीले शुक्रबार नील पेरिसलाई निलम्बन गरेको थियो । यसपछि शनिबार पेरिसले संसदको सदस्यताबाट पनि राजीनामा दिएका हुन् ।

तर, शुक्रबार उनले छानबिन पूरा नभएसम्म सांसद पदमा रहने बताएका थिए । यस साताको सुरुमा बेलायती मिडियाले संसदमा एक पुरुष सांसदले अश्लील सामग्री हेरेको भन्दै महिला मन्त्रीलाई उद्धृत गर्दै रिपोर्ट प्रकाशित गरेको थियो ।

महिला मन्त्रीले कमन्स चेम्बरमा आफ्नो छेउमा बसेका एक जना पुरुष सांसदलाई पोर्न फिल्म हेरिरहेको देखेकी थिइन् ।

सोही सांसदले पछि समितिको सुनुवाइका क्रममा पनि पोर्नोग्राफी हेरेका थिए । पेरिसले पहिलोपटक आपत्तिजनक सामग्री हेर्नु संयोगवश मात्र भएको बताए । उनले झुक्किएर अश्लील सामाग्री भएको भिडियो देख्न पुगेको बताएका थिए । तर उनले दोस्रोपटक भने जानी जानी अश्लील भिडियो हेरेको स्वीकार गरे ।

पेरिसले राजीनामा दिनुअघि संसदमै अश्लील भिडियो हेरेको विषयमा  उनकी श्रीमतीको अन्तर्वार्ता द टाइम्स पत्रिकामा प्रकाशित भएको थियो । श्रीमानले यसअघि कहिल्यै यस्तो काम गरेको थाहा नभएको उनकी श्रीमतीले बताइन् । उनले आफ्नो श्रीमान् राम्रो मान्छे भएको पनि बताइन् ।

यो पनि पढ्नुहोस्

रुपन्देहीमा ११३ को उम्मेदवारी फिर्ता