NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानविरुद्ध ईश्वर-निन्दा मुद्दा दर्ता

इस्लामाबाद । साउदी अरेबियाको मदिनामा प्रधानमन्त्री शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलविरुद्ध नाराबाजी गरेको मामिलामा फैसलाबाद प्रहरीले पूर्व प्रधानमन्त्री इमरान खान र उनको पार्टी पीटीआईका प्रमुख नेतासहित अन्य १०० जनाविरुद्ध इश्वर निन्दाको मुद्दा दर्ता गरेको छ ।

इमरान खान, फवाद चौधरी, शेख रशिद, शाहबाज गुल, शेख रशिद शफिक, साहिबजादा जहाँगीर चिको, अनिल मुसरत, नबिल नुसरत, उमर इलियास, राना अब्दुल सत्तार, ब्यारिस्टर अमिर इलियास, गौहर जिलानी, कासिम सुरीलगायत करिब १०० जनाले ईश्वर निन्दा गरेको आरोप छ ।

मदिनाको मस्जिद ए नवाबीको पवित्रता र कुरानमा भनिएका कुराहरुको उल्लघंन गरेको आरोप उनिहरूमाथि लगाइएको छ । नइम भट्टी नामका एक स्थानीय बासिन्दाको उजुरीमा इमरानसहितका सबैविरूद्ध एफआईआर दर्ता गरिएको हाे ।

मुद्दामा भनिएको छ, ‘पाकिस्तानी चरमपन्थीको टोली साउदी अरब पठाइएको थियो, यो गतिविधिमा भाग लिन पाकिस्तानीहरूको यो समूह बेलायतबाट साउदी पुगेको र सोधपुछका क्रममा यसको प्रमाण बुझाइने बताइएको छ ।’

फैसलाबाद प्रहरीले मुद्दा दर्ता भएको पुष्टि गरेको छ, त्यसको छानबिन गरी मुद्दा खारेज गर्ने कि नगर्ने निर्णय गरिने छ । यसअघि, साउदी सहर मदिनाको प्रहरीले पैगम्बर मस्जिदमा बिहीबारको घटनामा संलग्न रहेको आरोपमा पाँच पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको पुष्टि गरेको थियो ।

साउदी प्रेस एजेन्सीले मदिना प्रहरीका प्रवक्तालाई उद्धृत गर्दै, ‘सुरक्षा अधिकारीहरूले पाँच पाकिस्तानी नागरिकलाई पक्राउ गरेको र कानुनी प्रक्रिया पूरा गरेपछि यो मुद्दा अधिकारीहरूलाई पठाइने’ लेखेको छ ।