NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

गृहमन्त्री खाँणको नजर वरीयतातिर, प्रधानमन्त्री देउवाको सुदूरपश्चिमतिर

काठमाडौं । सरकारले वरीयता मिच्दै नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति गरेको छ । वरीयतामा तेस्रो क्रममा रहेका धीरजप्रताप सिंहलाई सरकारले आज आइजिपी नियुक्त गरेको हो ।

आइजिपीको वरीयताको पहिलो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल र दोस्रोमा सहकुलबहादुर थापा थिए ।

यसर्थ, गृहमन्त्री बालकृष्ण खाँण नियमबमोजिम पहिलो वरीयताका पोखरेललाई आइजिपी बनाउन चाहन्थे । सोहीअनुरुप गृह मन्त्रालयले पोखरेललाई आइजिपीमा नियुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको थियो ।

तर, विभागीयमन्त्री (गृहमन्त्री खाँण)को चाहनाविपरीत प्रधानमन्त्री शेरबहादुर देउवाले वरीयता मिचेर तेस्रोमा रहेका सिंहलाई आइजिपी नियुक्त गरेका छन् ।

यसको पार्टीभित्रबाटै विरोध भइरहेको छ । प्रधानमन्त्रीकै पार्टी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले त सार्वजनिक रुपमै यसको विरोध गरिसकेका छन् ।

आइजिपी नियुक्तिप्रति शेखर कोइरालाको आपत्ति

किन मिचियो प्रक्रिया ?

स्रोतका अनुसार आइजिपी नियुक्त भएका सिंह प्रधानमन्त्री देउवाकै क्षेत्र सुदूरपश्चिमको छिमेकी प्रदेश कर्णालीका हुन् । उनी दैलेखका स्थायी बासिन्दा हुन् ।

सिंह देउवाका नातेदार भएको दाबी गर्नेहरू पनि भेटिए । चुनावको मुखैमा आफूनिकट व्यक्ति नियुक्त गर्दा फाइदा पुग्ने आँकलन देउवाको रहेको बुझिएको छ ।

देउवाले यसअघि पनि आफ्नो क्षेत्रका व्यक्तिलाई प्राथमिकतामा राख्ने गरेका थिए । उनले यसअघि पनि दोस्रो वरीयतामा रहेका सुदूरपश्चिम क्षेत्रका जयबहादुर चन्दलाई आइजिपी बनाउन खुबै कसरत गरेका थिए । तर, उनी सफल भने भएनन् ।

देउवाले आर्थिक प्रलोभनमा परेर तेस्रो वरीयताकालाई आइजिपी बनाएको आरोप लगाउने पनि प्रशस्तै छन् । तर, यसको पुष्टि गर्ने आधार भने भेटिएको छैन ।

 

आइजिपी नियुक्तिविरूद्ध दुई सिनियर एआइजी अदालत जाँदै