NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पोखरा मेयरमा एमाले र पूर्वएमालेबीच महाभिडन्त, गठबन्धनको सबै मत जोड्दासमेत एमाले अगाडि

थपिएका मतदाता निर्णायक

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा एमाले र पूर्वएमालेबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनले पोखरा महानगरमा नेकपा (एकीकृत समाजवादी) बाट मेयरको उम्मेदवारमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धनराज आचार्यलाई बनाएको छ ।

एमालेले कृष्ण थापालाई मेयर पदका लागि उम्मेदवार बनाएको छ । थापा र आचार्य लामो समय एउटै पार्टीमा रहेर काम गरेका नेता हुन् । फरक–फरक पार्टीबाट एउटै पृष्ठभूमिका नेता भिडन्तले पोखराको चुनावी माहोल पनि तातेको छ । उनीहरूको पुरानो साइनो सम्बन्धले कसलाई कति घाटा–नाफा पुर्याउँछ भन्नेबारे महानगरबासीले आ–आफ्नै अड्कलबाजी गर्न थालेका छन् ।

एमालेबाट मेयरका उम्मेदवार बनेका थापाले आफूसँग प्रतिस्पर्धा गर्ने बलियो उम्मेदवार नभएको दाबी गर्दै २० देखि २५ हजारको मतान्तरले निर्वाचनमा विजयी हुने दाबी गरे ।

‘गठबन्धनभित्र विवाद रहेको छ । एकीकृत समाजवादीमा मतदाता नै छैनन् । आफ्नो पार्टीले पद छोड्नु पर्दा कांग्रेसभित्र नै असन्तुष्ट छन्’, थापाले भने, ‘गठबन्धनभित्र असन्तुष्ट पक्षको भोटसमेत आफूलाई आउँछ ।’

एमाले अध्यक्ष केपीशर्मा ओलीको हस्तक्षेपमा सुरुमा पार्टीले दीपक पौडेललाई मेयरको टिकट दिएको थियो । तर पौडेलविरुद्ध पार्टीभित्रै तीव्र असन्तुष्टि देखापरेपछि उनको टिकट खोसिएको थियो । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङनिकट रहेका पौडेलको टिकट खोसिएपछि संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षलाई केही राहत मिलेको छ ।

एकीकृत समाजवादीका उम्मेदवार आचार्यले आफ्नो पृष्ठभूमि एमाले नै भएकाले एमालेबाट पनि आफूलाई भोट आउने विश्वास लिएका छन् । ‘एमालेमा मैंले लामो समय बिताएको छु । अहिले पार्टी अलग भएपनि एमालेसँगको भावना र समर्पण अलग भएको छैन’, उनले भने, ‘एमालेको समेत भोटमा धेरै मतान्तरले मेयरमा विजयी हुनेछु ।’

पोखरामा गत निर्वाचनको मतपरिणाम हेर्दा एमाले बलियो देखिन्छ । यसपटक पार्टी विभाजन र पाँचदलीय सत्ता गठबन्धनका कारण एमालेलाई त्यति सजिलो छैन । तर गत निर्वाचनमा संघीय समाजवादीबाट मेयरका उम्मेदवार बनेका हुमबहादुर गुरुङ एमाले प्रवेश गरेकाले केही मत प्रभावित हुन सक्छ । ०७४ को निर्वाचनमा गुरुङले ३ हजार १७० मत ल्याएका थिए । त्यस्तै जसपाका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेश समिति इन्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य देवी सुवेदी र गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङ पनि एमालेमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीले पनि महानगरमा संगठन विस्तार भएको र एमालेसहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता प्रवेशको लहर चलेकोले आफ्नो जित सुनिश्चित भएको नेता दीलकुमारी पन्तले दाबी गरेकी छिन् ।

यस्तो थियो विगत

३३ वडा रहेको पोखरामा २०७४ सालको निर्वाचनमा एमालेले मेयर र उपमेयरसहित २२ वटा वडाध्यक्ष जितेको थियो । कांग्रेसले १३ वटा वडामा जितेको थियो ।

एमालेबाट मेयरमा विजयी भएका मानबहादुर जिसी ६० हजार ११८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रामजी कुँवरले ४६ हजार ४१६ ल्याएका थिए । संघीय समाजवादीका हुमबहादुर गुरुङले ३ हजार १७० मत प्राप्त गरेका थिए । त्यस्तै राप्रपाको गीता गुरुङले ३ हजार १७० मत ल्याएका थिए भने अन्यले एक हजार ६६ मत पाएका थिए ।

त्यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ५६ हजार ४४८ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सरस्वती गुरुङ ४४ हजार ३३८ मत ल्याएका थिए । माओवादी गोमा ढकालले ८ हजार ७९६ मत पाएका थिए । राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८४० ल्याएका थिए । अन्यले ४ हजार ४७५ पाएका थिए । यसमा आधा भोट गठबन्धन दल जसपा र राजमोसमेत जोडिएको छ ।

कांग्रेसमा असन्तुष्टि

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले मेयरको उम्मेदवार बनेपछि कांग्रेसमा असन्तुष्टि देखिएको छ । कास्की कांग्रेस सचिवद्वय भानुभक्त ढकाल र देवेन्द्र रानाभाट एवं पोखरा महानगर कार्यसमिति सचिवद्वय गणेश थापा र टुवराज बास्तोलाले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरूले कांग्रेसको जनाधार भएको क्षेत्र वामपन्थीलाई सुम्पिदा आम कार्यकर्ताको शीर निहुरेको प्रतिक्रिया दिएका छन् । केन्द्रको निर्णय भएको दिन कांग्रेस महानगर कार्यसमितिले जिल्ला कार्यालयमा तालाबन्दी नै गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौंमै बोलाएर उनीहरूको आक्रोसलाई थामथुम पार्ने प्रयास गरेपनि भित्रि असन्तुष्टि कायमै रहेको छ ।

थपिएका नयाँ मतदाता निर्णायक

गत निर्वाचनमा पोखरामा एक लाख ६८ हजार ६७ मतदाता रहेको थिए । कुल मतमध्ये एक लाख १३ हजार २४३ मत सदर भएको थियो ।
स्थानीय तहको चुनावमा पोखरामा ३९ हजार ६४५ मतदाता थपिएका निर्वाचन आयोगले जनाएको छ । थपिएका मतदाता निर्णायक देखिएका छन् । थपिएका मतदातालाई विभाजित नगरी गत निर्वाचनकै मतपरिणाम हेर्दा पोखरामा गठबन्धन भन्दा एमाले बलियो देखिएको छ ।
मेयरमा गठबन्धनले पाएको सबै मत जोड्दासमेत एमालेले पाएको मतलाई उछिन्न सक्ने देखिंदैन । पाँचदलीय गठबन्धनले पाएको मत सबै जोड्दासमेत ६० हजार पुर्याउन सकेको छैन । अहिले एमाले विभाजन भइ गठन भएको एकीकृत समाजवादीले कति मत ल्याउँछ भन्ने तथ्यले धेरै महत्व राख्नेछ ।