NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एक सय ६० प्रतिशतले विदेशी पर्यटक बढे, हेर्नुहोस तथ्यांक

काठमाडौँ । कोभिड–१९ महामारीले शिथिल बनेको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिन थालेको छ ।

पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बन्न थालेको छ । पर्यटकीय गतिविधि पनि बढिरहेका छन् ।

सन् २०२२ को सुरुदेखि नै विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले बृद्धि हो ।

अप्रिल महिनामा ५२ हजार ६६३ बाहिरिएका छन् । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१९ को तुलनामा पर्यटक आगमनदर आधाभन्दा बढीको अवस्थामा आइपुगेको बोर्डको विश्लेषण छ । गत वर्षकोभन्दा पर्यटक वृद्धिदर यो वर्ष १६० प्रतिशतले वृद्धि भएको बोर्डका निर्देशक मणि लामिछानेले बताए ।

उक्त वर्षको अप्रिल महिनामा एक लाख ९ हजार २९९ पर्यटक आएका थिए । “यो वर्ष पर्यटक आगमनदर निरन्तर बढिरहेको छ । पर्यटक वृद्धिदर हेर्ने हो भने अप्रिल महिनासम्म ५३ प्रतिशतमा आइसकियो । अघिल्लो महिना ४५ प्रतिशत वृद्धिदर थियो ”, लामिछानेले बताए ।

अघिल्लो मार्च महिनामा कूल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डको अन्तर्राष्ट्रिय स्रोत बजारमा रणनीतिक बजारीकरण तथा व्यवसायीको कडा मेहनत र लगनशीलताका कारण पर्यटक आवागमन निरन्तर बढिरहेको निर्देशक लामिछानेले बताए ।