NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते
प्रेस स्वतन्त्रता दिवस

पत्रकारका लागि खतरनाक मेक्सिको

न्यु मेक्सिको । मेक्सिकोमा बढ्दो हिंसा, मानवअधिकार उल्लङ्घन र दण्डहीनताको पृष्ठभूमिमा पत्रकारहरुविरुद्धका आक्रमणहरु बढ्दै गएका छन् । सन् २०२२ को जनवरीमा मात्रै त्यहाँ ४ जना पत्रकार मारिइसकेका छन् ।

पश्चिमी मेक्सिको सिटीमा अन्तर्वार्ताका लागि तयारी गरिरहँदा जनवरी ३१ मा हतियारसहितका ३ जना व्यक्तिले मोनिटर मिचोअकानका भिडियोग्राफर रोबर्ट टोलेडाको हत्या गरे ।

त्यसको केही दिन अगाडि रिपोर्टर लुर्डेस माल्डोनाडो लोपेजलाई तिजुआनामा गोली हानेर मारिएको थियो । त्यही सहरमा स्वतन्त्र फोटोग्राफर मार्गारिटो मार्टिनेजलाई जनवरी १७ मा गोली हानी मारिएको थियो ।

त्यस्तै, हिंसात्मक क्षेत्र भेराकु्रजको समाचार साइट इन्फोरेजियोका निर्देशक जोसे लुइस गाम्बोआ एरेनासको छुरा प्रहारबाट मृत्यु भयो ।

पत्रकार संरक्षण गर्ने समितिका मेक्सिको प्रतिनिधि जान अल्बर्ट हुट्सेनका अनुसार जनवरीमै अर्का एक पत्रकारलाई गोली हानेर भागेको र अर्कोलाई चक्कु आक्रमण गरी घाइते बनाएको थियो ।

मेक्सिकोमा पत्रकारविरुद्धको हिंसामा कमी हुने संकेत नदेखिएको भन्दै मिडिया स्वतन्त्रता समूहले चेतावनी दिँदै आएका छन् । ‘हरेक वर्ष स्थिति झन् झन् खराब हुँदै गइरहेको छ’ अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने समूह पाउला मारिया साउसेडो रुइजले भनिन् ।

सन् १९८० भन्दा पहिले पत्रकारविरुद्धको हिंसाको इतिहासमा थोरै तथ्यांकहरु भए तापनि हालको प्रवृत्ति सन् २००६ मा फेला पार्न सकिन्छ । त्यससमयमा मेक्सिको सरकारले संगठित अपराधविरुद्ध युद्धको घोषणा गरेर सेना परिचालन गरेको थियो । त्यसपछि बढेको हिंसामा पत्रकारहरुलाई पनि लक्षित गरिएको थियो ।

संगठित आपराधिक समूहहरु एक अर्का र मेक्सिको राज्यसँग लड्दा देशको न्यायप्रणाली खस्किएको छ, भ्रष्टाचार स्थानीय र राज्य स्तरमा फैलिएको छ, जसको परिणामस्वरुप दण्डहीनता बढेको छ ।

‘करिब ९९ प्रतिशत पत्रकारविरुद्ध भएका अपराधमा अपराधीलाई कारबाही हुँदैन’ रुइजले भने, जो कोहीले पनि म यो पत्रकारलाई चुपचाप मार्छु भन्ने निर्णय गर्न सक्छ, किनकी त्यसको परिणाम केही हुने छैन ।’

गत साता मार्टिनेज र लोपेजको हत्यापछि हुट्सन तिजुआना सहर गएका थिए । उनले यो सहरलाई मेक्सिकोको ‘हत्या राजधानी’ भनेका छन् । त्यस सहरमा अहिले दिनमा औसत ५ वटा हत्या हुने गरेको छ ।

आपराधिक समूहहरु तिजुआनामा युद्धरत छन्, उनीहरु आफ्नो हितका रक्षा गर्न जुन हदसम्म पनि पुग्न सक्छन् । तर स्थानीय सरकार ती समूहविरु कारबाही गर्न असक्षम छ’, हुट्सेनले भने, ‘यसले पत्रकारहरुलाई काम गर्न अत्यन्त खतरनाक, विषाक्त वातावरण सिर्जना गर्छ ।’

तजुआनामा बेपत्ता व्यक्तिहरु, मानव बेचबिखन, बसाइसराइ र संगठित अपराधबारे समाचार लेख्ने एक स्वतन्त्र पत्रकार म्यानुअल आयला कसैसँग कुरा गर्दा पनि सावधान हुने बताउँछिन् ।

‘आफूले समाचार लेख्ने स्रोतहरु आपराधिक संगठनहरुका लागि सूचनादाता पनि हुन सक्छन्,’ उनले भनिन्, ‘हाम्रा मालिकले हाम्रो सुरक्षा गर्दैनन्, हामी आफैंले आफ्नो सुरक्षा गर्नुपर्छ । हामी एक अर्कालाई नै सहयोग र सुरक्षा प्रदान गर्छौं ।’

मेक्सिकोमा करिब ५०० पत्रकार सुरक्षाका लागि संघीय संयन्त्रमा भर्ना भएका छन् । उनीहरु घरको निगरानी प्रणालीदेखि अंग रक्षकसम्मको सुरक्षा राज्यले प्रदान गर्ने भए पनि उनीहरू यसकाे प्रभावकारितामा विश्वास गर्दैनन् । राज्यले पनि पर्याप्त सुरक्षा प्रदान गर्न नसकेका कारण पत्रकारहरू धेरै जाेखिममा परेकाे बताउँछन् ।