NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सर्वसाधारणको उद्धार नसकिँदै मरिउपोलको स्टिल उद्योगमा फेरि आक्रमण

मरिउपोल । युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौं सर्वसाधारण उद्धारकार्य बाँकी रहेको सोमबार बताएका छन् । यसैबीच रुसले पुनः हमलाहरु थालेको पनि उनले थप जानकारी दिएका छन् ।

राष्ट्रिय गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका छन् ।

आइतबार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका बताइएको छ । तर पनि स्टिल उद्योगमुनि रहेको बंकरमा अझै कयौं साना बालबालिकाहरु रहेका कमाण्डर श्लेगाले बताएका छन् ।

सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किएलगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले बताएका हुन् । युक्रेनको दक्षिणी बन्दरगाह सहर मरिउपोलमा रुसले यसअघि पनि हप्तौंसम्म तीव्र बमबारी गरेको थियो ।

सोमबार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिएको थियो । यस आगलागिलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन् ।