NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

भुवन केसी : फिल्मी कलाकार, फिल्मीशैलीमै बदल्छन् दल

काठमाडौं । चुनाव नजिकिँदै गर्दा नेपाली चर्चित कलाकारहरू पार्टी प्रवेश तथा कित्ताकाँट गर्ने क्रमः सुरू भएको छ ।

पछिल्लो समय चर्चित अभिनेत्री करिष्मा मानन्धर एमाले अध्यक्ष केपी शर्मा ओलीकाे हातबाट टिका  लगाएर एमाले भइन् । उनी एमाले मात्रै भइनन् , सूर्यकुमारी भएकी छिन् । एमाले प्रवेश गर्न करिष्मा मानन्धर सांसद नवराज सिलवाल र गंगा चौधरीको साथमा ओली निवास बालकाेट पुगेकी थिएन ।

त्यसअघि करिष्माले कक्षा १२ को परीक्षा उतीर्ण गरेकोमा ओली आफैँले फोन गरी बधाईसमेत दिएका थिए । नेपाली सिने क्षेत्रमा सदाबहार सुन्दरी नायिकाको उपमा पाएकी करिष्मालाई केही समयअघि महानायिका घोषणा गरिएको थियो । तर, उनले महानायिकाको भूमिकाभन्दा कुनै दलको कार्यकर्ता हुन बढी रुचाइन् ।

राष्ट्रिय कलाकारको भूमिका निर्वाह गर्नुपर्ने ख्यातिप्राप्त सेलिब्रेटीहरू नै स्वार्थपूर्तिका लागि राजनीतिक दलका नेताहरूको घरआगन चाहर्ने गरेको कलाकारहरूले नै  अाराेप लगाउँदै आएका छन् ।

स्वार्थ पूरा हुन्जेल एउटा पार्टीमा ओत लाग्ने नभएपछि घरै छोडेर भाग्ने रोग कलाकारमा पनि देखिएको भन्दै टिकाटिप्पणी हुने गरेको छ । उनीहरू फिल्मी चरित्रशैलीमै दल बदल्नै हिड्ने गरेका छन् ।

अभिनेत्री मानन्धरको हकमा पनि यो लागू भएको छ । यसअघि ०७२ मा डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य भएकी थिइन् उनी । उनले त्यहाँ काम गर्न नसकेपछि जिम्मेवारीबाट बाहिरिएकी थिइन् । तर दलबदल गर्नेमा अभिनेत्री मानन्धर एक्ली कलाकार भने होइनन् । उनी लगायत धेरै नायक–नायिका र गायक–गायिकाले दलबदल गरेका छन् ।

दलबदल गर्नेमा अर्की चर्चित नायिका रेखा थापा पनि पर्छिन् । थुप्रै चलचित्रमा अभिनय गरेकी रेखा पछिल्लो समय निर्माताको भूमिकामा छिन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि रेखा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत माओवादीमा प्रवेश गरेकी थिइन् । प्रचण्डको नजिक रहेर काम गरेकी उनी ०६६ मा माओवादीले सिंहदरबार घेराउ गर्दा प्रचण्डसँग छमछम नाचेर चर्चामा आएकी थिइन् । माओवादीको केन्द्रीय सदस्य बन्न इच्छा देखाएकी रेखाले भोटर लिस्टमा आफ्नो नाम नहुँदा ०७० को संविधानसभा चुनावमा भोट खसाल्नसमेत पाइनन् ।

माओवादीमा केन्द्रीय सदस्य बन्न नपाएपछि ०७३ मा राप्रपा प्रवेश गरिन् । राप्रपाको एकता महाधिवेशनमा उनले शानदार मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन् । तर गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भइन् ।

पछिल्लो समय नेत्रविक्रम चन्द विप्लवसँग नजिक रहेकी रेखालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यमा नियुक्त गरेका छन् ।

त्यस्तै दलबदल गर्नेमा चर्चित सञ्चारकर्मी एवं गायिका कोमल वली पनि पर्छिन् । रेखासँगै ०७३ मा राप्रपा प्रवेश गरेकी वली एकता महाधिवशेनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा जितेकी थिइन् । राप्रपामा सकृय रहेकी उनी ०७४ असोजमा एमाले प्रवेश गरेकी थिइन् । गत मंसिरमा चितवनमा भएको एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएकी छिन् । ओलीकै जोडबलमा राष्ट्रिय सभा सदस्य बनेकी उनी आफ्नो चार वर्षे कार्यकाल सकेर भर्खरै विदा भएकी छिन् ।

त्यस्तै माओवादी शान्ति प्रक्रियमा आएसँगै एकीकृत माओवादीमा प्रवेश गरेका चर्चित अभिनेता तथा निर्देशक नीर शाह राष्ट्रिय राजनीतिमा कमजोर भएसँगै ०७६ मा नेपाली कांग्रेसतिर लागे । कुनै बेला राजनीतिक परिवर्तनको बाहक माओवादी भएको भन्दै प्रचण्डको हातबाट टीका लगाएका थिए उनले । कांग्रेसमा पनि भनेजस्तो अवसर नपाएपछि पार्टी छोड्ने घुर्की लगाउन थाले । पछि उनलाई राष्ट्रिय सभाको रिक्त एक सदस्यमा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त गर्ने तयारी भएको चर्चा चलेको छ ।

समाजसेवाका लागि एमाले भएको प्रतिक्रिया दिँदै अर्का चर्चित अभिनेता भुवन केसी ०७० को संविधानसभा चुनावअघि एमाले प्रवेश गरका थिए । केसीलाई एमालेले काठमाडौंको चर्चित क्षेत्र नम्बर १ मा उम्मेद्वार बनाएको थियो । मदन भण्डारीको क्षेत्रसमेत रहेको कम्युनिस्ट लाल किल्लामा गैरराजनीतिक व्यक्तिलाई टिकट दिएको भन्दै एमालेभित्रबाट तीव्र विरोध भएपछि अन्तिम अवस्थामा टिकट खोसियो । पाएको टिकट खोसिएपछि असन्तुष्ट रहेका केसी त्यसयता राजनीतिमा निष्कृय रहेका छन् ।

नेपाली कांग्रेसमा प्रवेश गर्नु अघि केसी स्वागत नेपाल नेतृत्वकाे उन्नत लाेकतान्त्रिक पार्टी प्रवेशकाे तयारीमा थिए । उन्नत लाेकतान्त्रिक पार्टीकाे तर्फबाट काठमाडाैँ मेयरमा उम्मेदवारी दिने तयारीमा रहेका  केसी चुनाव हार्ने निष्कर्षमा अघि बढेनन् । त्यहि समयमा उनले कांग्रेसमा पनि लगातार संवाद अघि बढाएका थिए । र उनी अन्तत कांग्रेस प्रवेश गरेका छन् ।

 

नाेट : नेपालवाच अर्काइभबाट ।