NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यस्ता छन् एमालेका चुनाव जित्ने रणनीतिक ५ आधार

काठमाडौं । स्थानीय तह निर्वाचन आउँन अब १० दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आ–आफ्ना चुनाव चिन्हसमेत दिइसकेको छ ।

सम्पूर्ण उम्मेदवारहरू आ–आफ्ना प्रतिबद्धतापत्रसहित भोट माग्न आम मतदाताहरूको घर–दैलोमा व्यस्त देखिन्छन् । वैशाख ३० मा हुने निर्वाचनमा भाग लिन आयोगमा ८० दलले दल दर्ता गरेको भएपनि मुख्य प्रतिस्पर्धा सत्तागठबन्धन र प्रतिपक्षी एमालेबीच हुने देखिन्छ । यी दुवै पक्ष एक–अर्कालाई कमजोर देखाएर आफूलाई अब्बल सावित गर्ने दौडमा रहेका छन् ।

सत्तारुढ गठबन्धनका दलहरूमा स्थानीय चुनावमा तालमेल गर्ने–नगर्ने अन्योलमै रहँदा प्रमुख प्रतिपक्षी एमालेले देशभर नयाँ रणनीतिसाथ चुनावी अभियानमा तीव्रता दिइरहेको छ । गठबन्धनको मुभलाई हेरी आफ्नो रणनीति तय गरेको एमालेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत स्थानमा विजयी हुने दाबी गरेको छ । गठबन्धन र एमाले दुवै पक्षले जीवनमरणको रूपमा हेरेका छन् । सबै शक्ति लगाएर चुनावी मैदानमा उत्रिइरहेका छन् ।

एमालेले संघीय राजनधानीसमेत रहेको काठमाडौंमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चुनावी कमाण्डर बनाएको छ । आफ्ना उम्मेदवारलाई विजयी बनाउन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निकै सक्रिय रहेकी छिन् ।

‘देशभर एमालेप्रति जनमत बढेको छ । स्वार्थ र षड्यन्त्रले जोडिएको गठबन्धनभित्र विवादै विवाद छ’, खगराज अधिकारीले, ‘एमाले नेतृत्वको सरकारले गरेको काम, राष्ट्रियता र विकास निर्माणमा हामीले दिएको योजनाले एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको छ । वैशाख ३० मा हुने निर्वाचनमा हामी ६० प्रतिशत स्थानमा विजयी हुन्छौं ।’

अधिकारीले केही ठाउँमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग हुने भएपनि माओवादी केन्द्र र एकीकृत समाजवादीको कुनै भविष्य नभएको टिप्पणी गरे । अधिकारीले दाबी गरेजस्तै एमालेले विगतको विरासतलाई जोगाइ बाँकी स्थानमा विजय प्राप्त गर्न विभिन्न रणनीति तय गरेको छ ।
एमाले रणनीति १ : पदाधिकारीसहित सातै प्रदेशमा सचिवालय सदस्य परिचालन

गत निर्वाचनमा एमाले ४० प्रतिशत स्थानमा विजयी भएको थियो । यसअघिको विरासतलाई कायमै राख्दै थप २० प्रतिशत हिस्सा बढाउने महत्वकांक्षी योजनासहित एमाले अघि बढेको छ । त्यो योजनालाई सफल बनाउन एमालेले केन्द्रदेखि पालिकासम्म सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली एक्लै देशभर चुनावी सभामा सक्रिय रहेका छन् । विपक्षी दलका कार्यकर्तालाई प्रवेश गराउने, आमसभा गर्ने, आफ्नो नेतृत्वको सरकारले गरेका कामको विभिन्न फोरममार्फत आक्रामक प्रचारप्रसार गर्र्ने काममा ओली अग्रपंक्तिमा छन् । यसैगरी सातै प्रदेशमा विकास र राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएका सहरमा पदाधिकारी टिमलाई परिचालन गरेको छ । ७७ वटै जिल्लामा केन्द्रीय नेताहरूलाई चुनावी कमाण्डरको रूपमा परिचालन गरिएको छ ।

एमालेले संघीय राजनधानीसमेत रहेको काठमाडौंमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चुनावी कमाण्डर बनाएको छ । आफ्ना उम्मेदवारलाई विजयी बनाउन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निकै सक्रिय रहेकी छिन् । गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल र संगठन विभाग प्रमुख खगराज अधिकारी सक्रियतापूर्वक लागेका छन् ।

लुम्बिनीमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल खटिएका छन् । कर्णालीमा उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य मणि थापा, सुदूरपश्चिममा सचिव लेखराज भट्टलाई खटाइएको छ । त्यस्तै गुल्मी लगायत क्षेत्रमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टलाई खटाइएको छ । पूर्वमा सचिव योगेश भट्टराई, शेरधन राई, स्थायी कमिटी सदस्य लालबाबु पण्डित लगायत नेताहरूलाई जिम्मेवारी दिएको छ ।
कमजोर स्थिति रहेको मधेश प्रदेशमा सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलाई जिम्मेवारी दिइएको छ । चितवनलगायत क्षेत्रमा उपाध्यक्ष रामबहादुर थापा, केन्द्रीय सदस्य देवी ज्ञवालीलगायत नेताहरूलाई जिम्मेवारी सुम्पिएको छ ।

रणनीति २ : मेयरको टिकटसहित अन्य पार्टीका नेताहरूको प्रवेश

एमालेले चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि पार्टीभित्रका असन्तुष्ट, विपक्षी नेता, युवा, तथा स्वतन्त्र नेतालाई प्राथमिकतामा राखेर एमालेले टिकट दिएको छ । लिपी क्वीनका नामले चर्चित रहेकी सांस्कृतिक अभियान्ता सुनिता डंगोलाई काठमाडौं महागरमा उपमेयरको टिकट दिइएको छ । स्वतन्त्र मतदातालाई एमालेप्रति आकर्षित गर्न सिफारिसमै नपरेकी डंगोललाई एमालेले चुनावी मैदानमा उतारेको छ ।
मेयरमा विद्यासुन्दर शाक्यलाई टिकट नदिइ केशव स्थापितलाई ल्याएको छ । वर्तमान मेयर शाक्यलाई पुनः टिकट दिँदा अपेक्षाकृत भोट आउन नसक्ने देखेर रणनीतिक रूपमा स्थापितलाई ल्याइएको छ । किनकी स्थापितले दुईपटक मेयर भन्दा देखिने सुधारका काम गरेर चर्चा बटुलेका थिए। । अभिव्यक्तिका कारण स्थापित विवादको घेरामा तानिने गरेका छन् । तर महानगरको समस्या राम्रोसँग बुझेको र विकल्प अघि सार्ने नेतामा उनी गनिन्छन् ।

त्यस्तै ललितपुरमा गत चुनावमा झिनो मतान्तरले पराजित भएका हरिकृष्ण ब्यञ्जनकारलाई नै पुनः उठाएको छ । उपमेयरमा भोट तान्न माओवादी पृष्ठभूमिका नेता मञ्जली शाक्यलाई टिकट दिइएको छ ।

त्यस्तै भरतपुरमा यसअघि वाग्मती प्रदेश सभा सदस्य रहेका विजय सुवेदीलाई मैदानमा उतारेको छ । गठबन्धनभन्दा आफ्ना उम्मेदवार कमजोर हुने देखिएपछि एमालेले राप्रपासँग तालमेल गरेको छ । राप्रपाले एमालेको मेयरलाई सहयोग गरेबापत उपमेयर पाएको छ । यसैगरी वीरगञ्ज महानगरपालिका निवर्तमान मेयर विजयी सरावगीदेखि नेपालगञ्जका पशुपति दयाल मिश्र र विराटनगरको रंगेली नगरपालिकाका मेयर दिलीप बगडियासम्मलाई टिकट वितरण गरेको छ । सरावगी जसपाबाट एमाले प्रवेश गरेका हुन् भने मिश्र गत मंसिरमा हृदयश त्रिपाठी समूहबाट आएका हुन् । एमालेले वीरगञ्जमा लोसपालाई उपमेयर दिएर गठबन्धनविरुद्ध चुनावी तालमेल गरेको छ ।

०७४ को निर्वाचनमा एमाले वीरगञ्जमा पाँचौँ स्थानमा थियो । रंगेली नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा तेस्रो धेरै मत प्राप्त गरेको थियो । राजनीति र आर्थिक दृष्टिले महत्वपूर्ण रहेको यी स्थानमा पाहुनालाई उम्मेदवार बनाएर विपक्षी मतदाताको मन जित्ने रणनीतिको साथ एमाले अघि बढेको देखिन्छ ।

त्यस्तै पोखरामा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई उम्मेदवार बनाएको छ । सुन चोरीको आरोपमा पौडेल विवादित बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई मेयर टिकट दिएका हुन् ।

आफ्नै पार्टीभित्रबाट पौडेल संलग्न भनिएको करिब १० वर्ष पुरानो सुन चोरीको भिडिओ फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो । यही भिडियोले उनको टिकट खोसियो । थापा ०५४ मा समेत मेयरमा निर्वाचित भइसकेका नेता हुन् । उनी गण्डकी प्रदेशका निर्वतमान सदस्य हुन् । गुरुङ र अधिकारीबीचको शक्ति संघर्षले पोखराको राजनीति गिजोलिएको थियो । त्यहाँ गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयरमा उठेका छन् । पोखरामा एमालेको प्रतिस्पर्धी नै नभएको भन्दै मेयरमा एमालेले जित्ने दाबी गरेका छन् ।

यस्तै विराटनगरमा महानगर कमिटी अध्यक्ष रहेका सागर थापालाई मेयरको उम्मेदवार बनाएको छ । त्यहाँको कमाण्डर स्थायी कमिटी सदस्य लालबाबु पण्डितलाई तोकेको छ । कपिलवस्तु, कर्णाली, झापा, सुदूरपश्चि, लुम्बिनीलगायत क्षेत्रमा विभिन्न पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएर टिकट वितरण गरेको छ । यस्तै राप्रपाबाट अलग भएका कमल थापाको पार्टीलाई एमालेकै चुनाव चिन्हमा निर्वाचनमा भाग लिने वातावरण बनाएर गठबन्धनलाई चुनौती दिएको छ । मोरङको रंगेली नगरमा गत निर्वाचनमा माओवादी केन्द्रबाट विजयी मेयर बगडियालाई पार्टी प्रवेश गराएर माओवादी मतदातालाई प्रभावित बनाउने रणनीति बनाएको छ ।

तुलनात्क रूपमा अन्य प्रदेशभन्दा मधेशमा कमजोर रहेको एमालेले जसपाबाट विभाजित भएको लोसपालाई हात लिएर जनमत सुधार्ने रणनीति बानाएको छ । तर यस रणनीतिले विपक्षी नेता तथा कार्यकर्तालाई आकर्षित गरेतापनि पार्टीभित्रै लामो समय सक्रिय राजनीति गरेका नेता तथा कार्यर्ताहरूलाई निषेध गर्ने काम भएको छ ।

रणनीति ३ : गठबन्धनको अन्तरविरोधमा खेल्ने प्रयास

विपक्षी गठबन्धनले ६ महानगरसहित ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन गरेको छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर आफूले लिएको छ । भरतपुर माओवादी, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाको भागमा परेको छ । कांग्रेसको जनमत रहेको स्थानमा अन्य दललाई दिएको भन्दै कांग्रेसभित्रै विद्रोह सुरु भएको छ ।

काठमाडौंमा गठबन्धनले सिर्जना सिंहलाई मेयरमा उठाएको छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन् । तर उनको उम्मेदवारीलाई एमालेले नेताकी श्रीमती भन्दै परिवारवादको रुपमा व्याख्या गरेको छ । त्यस्तै भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल छिन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् । पोखरामा कमजोर धरातल रहेको एकीकृत समाजवादीका नेता आचार्यलाई मेयरको उम्मेदवार बनाइएको छ ।

वीरगञ्जमा जनता समाजवादीका नेतालाई उम्मेदवार बनाएको छ । विराटनगरमा उपेन्द्र यादवका छोरालाई उपमेयरको उम्मेदवार बनाइएको छ । देशभर भएको भागबण्डामा गठबन्धन दलहरूबीच असन्तुष्टि बढेको छ । कतिपय पालिकामा गठबन्धन नै तोडिएको छ । गठबन्धनभित्रको यी सबै असन्तुष्टिका कारण आफूलाई फाइदा पुग्ने एमालेको बुझाइ छ ।

रणनीति ४ : आफ्नो नेतृत्वको सरकारले गरेको कामको आक्रामक प्रचार

एमालेले स्थानीय निर्वाचन जित्ने महत्वपूर्ण रणनीति आफ्नो नेतृत्वको सरकारले गरेको कामलाई विभिन्न फोरममार्फत् आक्रामक प्रचार शैली अपनाएको छ । राष्ट्रियता, विकास निर्माण तथा आर्थिक सुधारमा एमाले नेतृत्वको सरकार सफल भएको उसको दावी छ । कालापानीसहित समेटिएको चुच्चे नक्सा, पुनर्निमाणमा भएका काम, भौतिक पूर्वाधार विकास लगाएत र आगामी दिनमा हुने कामको सामाजिक सञ्जालदेखि मिडिया फोरमसम्म लोभलाग्दो प्रचार शैली अपनाएको छ ।

रणनीति ५ : संगठित कार्यकर्ता

चितवन महाधिवेशनलगत्तै चुनावी रणनीति तय गरेको एमालेले सचिवालयदेखि वडातहसम्मका संगठनलाई मजबुत बनाएको छ । ओलीको एकै निर्देशनमा आम कार्यकर्ता पंक्ति निर्माण गरेको एमालेले निर्वाचन केन्द्रित गरेर देशैभरि संगठित कार्यकर्तालाई परिचालन गरेको छ । ७५३ वटै पालिकामा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । यस निर्वाचनलाई जुनसुकै मूल्यमा आफ्नो पक्षमा पार्ने रणनीति तय गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष