NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अप्ठ्यारोमा साथ दिने देउवाको वचनपछि कांग्रेस रोजेँ : भुवन केसी

जब निर्वाचनको मौसम सुरु हुन्छ, तब पार्टी प्रवेशले तीव्रता पाउँछ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै यस पटक पनि पार्टी प्रवेशको लहर चलेको छ । राजनीतिमा आबद्ध मात्र नभएर अन्य पेशा व्यवसायमा संलग्न व्यक्ति धमाधम दल प्रवेश गरिरहेका छन् । यही मेसोमा चर्चित अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । यसअघि एमालेनजिक रहेका केसी मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका हुन् । तर केसी आफूले सदस्यता नलिएकाले एमालेबाट कांग्रेस प्रवेश गरेको भन्न नमिल्ने तर्क गर्छन् । 

४० वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय केसी कलाकारिताको विकास गर्ने प्रतिबद्धता देउवालगायतले जनाएकाले कांग्रेस प्रवेश गरेको सुनाउँछन् ।  उनै केसीसँग कांग्रेस प्रवेशकाे सन्दर्भमा नेपालवाचले गरेको केही सवाल :

तपाईं साँच्चै कांग्रेस प्रवेश गरेको हो ?

हो । आज एक कार्यक्रममार्फत म नेपाली कांग्रेस प्रवेश गरेको छु । योसँगै आजदेखि म नेपाली कांग्रेसको कार्यकर्ता भएको छु ।

खुरुखुरु कलाकारिता नगरेर किन पार्टी चहार्दै हिँडेको ?

कलाकारिता क्षेत्रमा मैले ४० वर्ष योगदान गरेँ । तर यसको विकासमा खासै उल्लेखनीय काम भएन । कलाकारलाई प्रयोग गरेर चुनाव जित्ने काम मात्र भयो । कलाकारलाई चुनावी मैदानमा उतार्ने तर अर्कैले जित्ने विद्यमान अवस्था भत्काउन मैले कांग्रेस रोजेको हुँ ।

लाभको पदमा रुचि बढेर भुवन केसी दल बदलेको बदल्यै छन् भनेर तपाईंको आलोचना भइरहेको छ नि ?

मेरो पहिलो रोजाइ, झुकाव कला क्षेत्रको विकासमै रहन्छ । राजनीतिमा लागेपछि स्वाभाविक रूपमा जिम्मेवारी वहन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । त्यसका लागि म तयार छु । मसँग सामाजिक काम गरेका धेरै उदाहरण छन् । तिनलाई संस्थागत गरेर अघि बढ्ने मेरो चाहना छ र त्यसमा राजनीतिक आबद्धताले सहयोग पुग्ने भएकाले पनि नेपाली कांग्रेस रोज्ने निर्णयमा म पुगेँ ।

पार्टी प्रवेश गर्नुअघि कांग्रेसभित्र तपाईको संवाद को–कोसँग भएको थियो ?

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँगै कांग्रेसका अन्य ९ जना वरिष्ठ नेताहरूसँग छलफल गरेर कांग्रेस प्रवेश गरेको हुँ ।

भेटमा देउवाले के भन्नुभयो ?

तपाईंजस्तो कलाकार नेपाली कांग्रेसलाई चाहिएको छ, तपाईंले उठाएका विषयहरूलाई हामी एकदमै महत्त्वका साथ सम्बोधन गर्छौं । तपाईंलाई जहाँ समस्या पर्छ, त्यहाँ म हुन्छु भनेर विश्वस्त गराउनु भएको छ ।

नेताको बोलीको भर हुँदैन भन्छन् । तपाईं त पग्लिहाल्नु भए छ त ?

माथि नै भनेँ नि प्रधानमन्त्री देउवाका अतिरिक्त सँग कांग्रेसका वरिष्ठ नेताहरूसँग पनि मेरो कुराकानी भएको थियो, पार्टी प्रवेशपूर्व । कलाक्षेत्रप्रति उहाँहरूको छुट्टै सम्मान र प्रतिबद्धता मैले पाएँ । जसबाट म साँच्चै प्रभावित भएँ ।

दल बदल गर्ने समकालीन कलाकारमा तपाईं अग्रपंक्तिमा पर्नुहुन्छ । एउटा कलाकारले आफ्नो पेशाभन्दा फरक क्षेत्रमा रुचि देखाउनुको मक्सद के हो ?

नेकपा एमालेका वरिष्ठ नेताहरूलाई मैले धेरै सहयोग गरेको छु । सम्बन्ध राम्रो छ । अघिल्लो निर्वाचनमा मैले काठमाडौं महानगरपालिकाको मेयरको टिकट अपेक्षा गरेको पनि हुँ । तर एमालेको सदस्यता नै भने लिएको थिइनँ । त्यसैले यो मेरो पहिलो पार्टी प्रवेश हो ।

आफ्नै रुचिले मात्र मैले कांग्रेस रोजेको होइन । आम कलाकार साथीहरूको सुझाव, सल्लाह र कलाक्षेत्रको विकासमा देख्नुभएको सपना पूरा गर्ने जिम्मेवारी बोकेर यो निर्णय लिएको हुँ ।

निर्वाचनको माहोलमा पार्टी प्रवेश गर्नुभएको छ । अबदेखि तपाईं सबैको साझा कलाकार हो कि कांग्रेस कार्यकर्ता ?

पेशागत हिसाबले म कलाकारिता क्षेत्रमै रहन्छु । त्यसैले म सबैको साझा कलाकार रहिरहन चाहन्छु । राजनीतिक कार्यक्रममा म नेपाली कांग्रेसको नेता हुँ । कार्यकर्ता हुँ ।

तपाईंको आगामी राजनीतिक यात्रा अब कसरी अगाडि बढ्छ ?

अहिले नै मैले कुनै पदमा दाबी गर्ने वा नगर्नेबारे केही सोचेको छैन । नेकपा एमालेमा पनि मैले केही अपेक्षा गरेको थिइनँ । कांग्रेसमा प्रवेश गर्दा पनि छैन । मेरो अभिष्ट मात्रै कलाकारिता क्षेत्रको योगदान गर्नु हो ।

मेयरमा हार्ने भएपछि भुवन स्वागत नेपालको पार्टी छोडेर कांग्रेसतिर लागे

ताजा अपडेट

नेपालवाच विशेष