NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

नेपालमा कसरी भइरहेको छ हुण्डी कारोबार ?

काठमाडौं । दक्षिण कोरियामा ८ वर्षदेखि कार्यरत दाङका विष्णु अधिकारी (नाम परिवर्तन) सुरुवाती दिनमा रकम घर पठाउनु परे हुण्डी कारोबारीलाई खबर गर्थे । तिनका एजेन्ट कम्पनीमै आउँथे, रकम बुझ्थे र परिवारको हातमा पारिदिने आश्वासन दिएर बिदा हुन्थे ।

त्यसरी कामदारसँग लिएको पैसा हुण्डी कारोबारीले नेपालमा इच्छाइएका तिनका आफन्तलाई भेटेरै दिन्थे । अधिकारीका अनुसार, उनले कैयौं पटक हुण्डीवालालाई बोलाएर हातैमा पैसा थमाए, उसैगरी कारोबारीले नेपालका आफन्तलाई ।

तर पछिल्ला केही वर्षदेखि अधिकारीलाई पैसा पठाउन यति धेरै धामा गरिराख्नु परेको छैन । उनले हुण्डी कारोबारीलाई नभेटीकन तिनको खातामा रकम पठाइदिन्छन् । अधिकारीका अनुसार, यसरी पठाएको रकम केही समयमै तिनका आफन्तको बैंक, सहकारीलगायत वित्तीय संस्थाको खातामा हुण्डी कारोबारीले हालिदिन्छन् ।

दक्षिण कोरियामा ३ वर्षदेखि कार्यरत रसुवाका रवीन बिक (नाम परिवर्तन) सुरुमा कोरिया आउने नेपालीलाई जस्तो रकम पठाउन अहिले सकस नरहेको सुनाउँछन् । दुई महिनाअघि उनलाई तीन लाख रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाउनु पर्ने भयो । हुण्डी एजेन्टलाई आफ्नो परिवारको नाममा रहेको नेपाल बंगलादेश बैंकको खाता नम्बर पठाए । नेपालका हुण्डी एजेन्टले खातामा पैसा जम्मा गरिदिए । एजेन्टले नेपालमा पैसा जम्मा गरेको बैंकको रसिदको फोटो पठाएपछि मात्रै उनले कोरियाका हुण्डी एजेन्टको बैंक खातामा पैसा ट्रान्सफर गरिदिएँ । हुण्डी कारोबारीलाई पहिले रकम दिँदा हराउने भयले बिकले त्यस्तो गरेका हुन् ।

प्रविधिको विकास, कारोबारीबाट बढ्दो ठगीले हुण्डी कारोबारको प्रवृत्तिमा पछिल्लो समय आमूल परिवर्तन आएको छ । यसले एकातर्फ देशको रेमिट्यान्समा नोक्सानी पुर्याइरहेको छ भने अर्कातिर अनुसन्धानमा समेत चुनौती थपिदिएको छ

प्रविधिको विकास, कारोबारीबाट बढ्दो ठगीले हुण्डी कारोबारको प्रवृत्तिमा पछिल्लो समय आमूल परिवर्तन आएको छ । यसले एकातर्फ देशको रेमिट्यान्समा नोक्सानी पुर्याइरहेको छ भने अर्कातिर अनुसन्धानमा समेत चुनौती थपिदिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह हुण्डीको कारोबार डिजिटलाइज हुँदा अनुसन्धान चुनौती थपिएको सुनाउँछन् ।

सिंहका अनुसार, हुण्डी कारोबार डिजिटलाइज हुँदा देशका सहकारीहरू त्यसका अखडा बनेका छन् । अहिले नेपालमा ८० प्रतिशत हुण्डीको कारोबार सहकारीमार्फत भइरहेको सिंहको दाबी छ । नेपालमा हाल ३४ हजार ५०० हाराहारीमा सहकारी छन् ।

‘नेपालमा ८० प्रतिशत हुण्डीको कारोबार सहकारी संस्थामार्फत हुन्छ,’ सिआइबी ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक सिंह भन्छन, ‘नेपालमा रहेका सहकारीहरूमध्ये अधिकांशलाई हुण्डी कारोबारीले पैसा पठाउने र पाउने माध्यमका रूपमा प्रयोग गरिरहेका छन् ।’

नेपाल राष्ट्र बैकका प्रवक्ता गुणाकर भट्ट पनि पछिल्लो समय बैंकिङ माध्यमबाट हुण्डीको कारोवार बढेको स्वीकार्छन । भट्ट थप्छन, ‘रेमिटयान्स जति आउनुपर्ने हो, त्यति आएको छैन । यो वर्षको पहिलो चार महिनामा रेमिट्यान्स नघट्नुपर्नेमा घटेको छ । यसले पनि कतै रेमिटेन्स अनौपचारिक बाटोबाट त आएको छैन भन्ने आशंका उब्जाएको छ । तर शंकाकै भरमा बोलिहाल्न मिल्दैन ।’

कारण पत्ता लगाउन राष्ट्र बैंकले अनुसन्धान गरे भयो त ?

भट्ट हुण्डी कारोबारको अनुसन्धान राष्ट्र बैंकको क्षेत्राधिकारभित्र नपर्ने जिकिर गर्छन् ।

हुण्डी गैरकानुनी र अनौपचारिक कारोबार भएकाले कुनै तथांक नहुने प्रवक्ता भट्टको तर्क छ ।

उदेकको कुरा त यसबारे सहकारी विभाग नै बेखबर छ । विभागका सूचना अधिकारी टोलराज उपाध्याय सहकारीको संलग्नतामा हुण्डी कारोबार भएकोबारे विभागलाई कुनै जानकारी नभएको बताउँछन् । सहकारीले गरिरहेका कामको तथ्यांक नै नरहेको भन्दै उनले निरीहता प्रकट गरे ।

‘सहकारीले के काम गरिरहेका छन् हामीलाई थाहा हुँदैन,’ उपाध्यायले भने । आफ्नो कार्यक्षेत्रभित्रको समस्या समाधानमा विभाग इमान्दारितापूर्वक नउत्रिँदा हुण्डी कारोबार थप आकाशिएको छ ।

बैंकबाट कसरी हुन्छ कारोवार ?

विदेशबाट हुन्डीमार्फत रेमिट्यान्स आउँदा विदेशी मुद्रा नेपाल आउँदैन, विदेशमै रहन्छ । यताका हुण्डी एजेन्टले विदेशका कारोबारीको निर्देशनमा सम्बन्धित व्यक्तिको बैंक खातामा रकम हालिदिन्छन् ।

सिआइबी प्रमुख सिंह पछिल्लो समयमा हुन्डी कारोबारीहरूले पिन कोडसहित सम्बद्ध घरपरिवारलाई पैसा पठाइरहेको बताउँछन् । ‘हुण्डी पठाउनेले घरपरिवारमा पिन कोड दिन्छन् । त्यही पिन कोडका आधारमा विदेशबाट पठाएको हुण्डीको पैसा परिवारले बैंकबाट लिन्छन्,’ हुण्डी लेनदेन प्रवृत्तिबारे सिंहले भने । सिंह हुण्डीको पैसा बुझ्दा परिवारका सदस्यले ‘रिसिप्ट’ समेत पाउने बताउँछन् ।

पिन कोडको आधारमा हुण्डी कारोबार हुनुले हुण्डी सञ्चालक र रेमिट्यान्स कम्पनीहरूको मिलोमतो त छैन भन्ने आशंका उब्जाएको सिंह बताउँछन् । उनी थप्छन्, ‘पिन कोडले पनि रेमिट्यान्स कम्पनीको संलग्नता हुन सक्ने आकलन गर्न सकिन्छ ।’
जापानलगायत केही मुलुकमा भने अहिले पनि हुण्डी कारोबारीले प्रत्यक्ष भेटेर लेनदेन गर्ने गरेका छन् ।

विदेशमा रहेका नेपालीले अनलाइन, वालेटलगायत विद्युतीय उपकरणमार्फत सीधै बैंक खातामा रकम पठाउने सुविधा पनि अहिले छ । चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) रेमिट्यान्समार्फत ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा योभन्दा ६.८ प्रतिशत रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैकको तथ्यांकले देखाउँछ ।

(हुण्डीकाे सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १७:४३:००

ताजा अपडेट

नेपालवाच विशेष