NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जेलभित्रको जेल ‘गोलघरमा’ चार खतरनाक कैदी !

काठमाडौं । नेपालको केन्द्रीय कारागार काठमाडौंको सुन्धारामा छ । जसलाई नेपालकै सुरक्षित जेलमध्येको एक मानिन्छ । सुन्धारा जेलभित्र पनि अर्को जेलघर छ, जसलाई ‘गोलघर’ भनिन्छ । त्यहाँ विशेष प्रकारका कैदीहरू राखिन्छन्।

कस्ता कैदी राखिन्छ ?

विशेष प्रकारका मुद्दामा दोषी ठहरिएकाहरू र सुरक्षाको हिसाबले अत्यन्तै संवेदनशील मानिएका कैदी मात्र राख्ने प्रयोजनका लागि गाेलघर बनाइएकाे हाे ।

अरूबाट धम्की पाइरहेका, अरूलाई धम्की दिइरहेका, जेल तोड्ने प्रयास गर्ने गरेका, सुरक्षाका हिसाबले धेरै ‘थ्रेट’ भएकाहरूलाइ गोलघरमा राखिने गरिएको छ ।

गोलघरको सुरक्षा पनि विशेष नै हुने गरेकाे जेलका एक अधिकारीले नेपालवालाई जानकारी दिए ।

उनका अनुसार गोलघरमा रहने कैदीहरूलाई छुट्टै कोठा अर्थात् ‘सिङ्गलरूम’को व्यवस्था गरिन्छ । उनीहरूलाई आवश्यक पर्ने न्यूनतम दैनिक सुविधाको पूर्ण ख्याल राखिन्छ । जेलका अन्य कैदीसँगमात्र हाेइन,  गोलघरभित्रै रहेका कैदीबीच पनि भेटघाट हुँदैन । आठ जनाको क्षमता रहेको गोलघरभित्र हाल चार कैदी रहेको उनले जानकारी दिए ।

काे-काे छन् ‘गोलघर’मा ? 

१. चार्ल्स शोभराज

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडेली महिलाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार्ल्स शोभराज विख्यात ‘सिरियल किलर’  हुन । उनी अहिले गोलघरमा छन् ।

शोभराजसँग धेरै हत्याका घटनाहरू जोडिएका छन् । विषेश गरी युवतीलाई सम्बन्धमा पार्ने र त्यसपछि हत्या गर्ने गरेको देखियो । उनी पहिलो पटक सन् १९६३ मा चोरीको आरोपमा जेल परेका थिए ।

शोभराजले सन् १९७५ मा सयाटलकी टेरेसा नोल्टनको पहिलो पटक हत्या गरेका थिए । उनले टेरेसालाई हत्या गरेर जलाइदिएका थिए ।

शोभराज र उनका सहयोगी डच विद्यार्थीहरु हेनरिकस बिटञ्जा र उनकी प्रेमिका कुकी हेमकरलाई थाइल्यान्डमा हत्या गरेर उनीहरुकै पासपोर्ट लिएर नेपाल पसेका थिए ।

त्यहि समयमा क्यानेडेली र अमेरिकी दुई नागरिकको नेपालमा हत्या गरेर शोभराज र उनका सहयोगी भागेका थिए ।

भारतलगायत अरु थुप्रै देशमा अरु थुप्रैको पनि उनले हत्या गरे । भारतमा उनलाई १२ वर्षको जेल सजाय सुनाइयो । सन् १९९७ को फेबुअरी १७ मा ५२ वर्षको उमेरमा उनी भारतीय जेलबाट रिहा भएका हुन् ।

भारतले फ्रान्समा जान दिएपछि केही समय उनी ओझेल परे । सन् २००३ सेप्टेम्बरमा नेपालमा पक्राउ परेका सोभराजलाई २०६१ साउन २८ गते हत्या आरोपी ठहर गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको हो ।

चार्ल्स शोभराज बिचमा अर्को फैसला नभएमा विसं २०८५ मा जेलमुक्त हुनेछन् ।

 

२. चुडामणि उप्रेती उर्फ ‘गोरे’

३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके हुन चुडामणि उप्रेती उर्फ ‘गोरे’ । सुन तस्करीका साथै त्यसैमा संलग्न मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको मुद्दामा उनी जन्मकैद भुक्तान गरिरहेका हुन् । उनी अपहरण तथा शरीर बन्धक मुद्दाका पनि कसुरदार हुन् ।

२०७४ साल माघ अन्तिम साता युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी गरी नेपाल भित्र्याइएको साढे ३३ किलो सुन सम्बन्धित व्यक्तिसम्म नपुगी बीचमै गायब भएपछि यो घटना बाहिरिएको थियो ।

२०७५ जेठ ११ गते पक्राउ परेका गोरेले जेलभित्र आफू असुरक्षित रहेको भन्ने अभिव्यक्ति दिएपछि उनलाई जेल भित्रको जेलघर ‘गोलघर’मा राखिएको हो ।

साढे ३३ केजीबाट सुरु भएको सुन तस्करीको अनुसन्धान ‘लहरो तान्दा पहरो गर्जने’ भने जस्तै झन्डै तीन हजार आठ सय केजीसम्म पुगेको छ । केही फरार तस्करहरू अझै पक्राउ परेका छैनन् ।

गोरेलगायत ८ जनालाई अदालतले प्रमुख दोषी प्रमाणित गरेको छ । जसमध्ये उनीलगायत ६ जनालाई जन्मकैद सुनाइएको हो ।

हत्याको कसुरमा जन्मकैदको सजाय सुनाइएका अन्यमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।

सुन काण्डमा संलग्न भनिएका नेपाल प्रहरीका पूर्व उच्च अधिकारीहरूसहित ४८ले सफाई पाइसकेका छन् ।

३. सागर केसी उर्फ ‘शारदा’

युवती बलात्कार गरेको आरोपमा पक्राउ परेका काठमाडौंका सागर केसी उर्फ शारदालाई पनि जेलभित्रको ‘गोलघर’मा राखिएको छ । उनी याैनिक अल्पसंख्यक हुन् ।

दिउँसो केटा र राति केटीको रूप धारण गरेर हिँड्ने २४ वर्षीया शारदालाई सल्यानकी २६ वर्षीया युवती बलात्कार गरेको मुद्दामा जेल चलान गरिएको थियो । शारदालाई विसं २०७७ मंसिर १२ गते मध्यराति खुल्लामञ्च नजिकै बलात्कार गरेको आरोप लागेको हो ।

४. रोजन राई

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका रोजन राईलाई पनि जेल भित्रको जेलघर ‘गोलघर’मा राखिएको छ । राईको बारेमा भने पूर्ण जानकारी बाहिर ल्याइएको छैन ।

( गाेलघरको सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )