NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रश्नमाथिको प्रश्न !

आरम्भमा मैले त्यही दिन सम्झिएँ, जुन दिन चितवनका उदय अधिकारीसँग पहिलो भेट भएको थियो, भर्चुअल जगत्मा । त्यसपछि पनि हामीले भर्चुअल माध्यममै संवाद गर्‍यौं । यद्यपि हाम्रा संवाद चाहिँ यथार्थका निकट थिए । साहित्यले हामीलाई जोडेको थियो । दुवै साहित्यका उपासक थियौं । त्यसपछिका दिनमा मैले एक गहन अध्येताको रूपमा उनलाई चिन्न थालें ।
त्यस्तैमा एक दिन उनले संकलन गरेको अन्तर्वार्ताको एक ग्रन्थ पढ्ने संयोग मिल्यो– प्रश्न (२०७८) । वाङ्मय सेवामा प्रतिष्ठित स्रष्टाका जीवनसँग अभिन्न रहेका साहित्यिक कर्मले सुवासित धारणाहरू अत्यन्तै उपयोगी हुन्छन्, भन्ने मेरो ठूलो विश्वास छ । त्यही विश्वासले उनका प्रश्न अध्ययन गर्न म लालायित भएँ । एउटा जटिल भोगाइबाट प्राप्त अनुभव हरेक व्यक्तिको लागि उत्प्रेरक हुनसक्छ । अन्तर्वार्तालाई म त्यही दृष्टिले महत्व दिने गर्छु । एउटा जीवनले भोगेका अनुभूति तथा आर्जिएका ज्ञान हामी तत्क्षणमै जान्न पाउँछौं । त्यसबाट अधिक लाभ लिन सकिन्छ । उनले कति समय र परिश्रमबाट प्राप्त गरेको उपहार (ज्ञान) हामी त्यसै पाउँछौं, निःशुल्क ।

नेपाली भाषा साहित्यको उत्थानमा समर्पित र प्रसिद्धि उपार्जन गरेका व्यक्तित्व अभि सुवेदी, नारायण ढकाल, सरुभक्त, श्यामल, श्रवण मुकारुङ र मनु मञ्जिलसँगको साहित्यिक वार्ता पुस्तकको अन्त्य नहुँदासम्म मैले बिसाउन सकिनँ । अनेक विधामा दक्ष स्रष्टाको जीवन नै अर्को उपविधा जस्तो लाग्छ । अभि सुवेदीको भनाइमा मैले त्यही कुरा पाएँ, ‘मेरो निम्ति बोध गर्नु भनेको लेख्नु हो । मेरो निम्ति लेख्य तर अनुभूति एउटा स्पन्दन, एक आनन्द र चिन्ताको क्षण, एउटा अस्थिर वैचारिक मात्र हो । त्यसैले लेख्न सकिनँ भने मेरो अनुभूतिको खासै अर्थ हुनेछैन (१५) ।’

मैले विश्वका अनेकौं देशमा, वाचनहरूमा गएर जति साहित्य रचना अनि अभिव्यक्तिहरूका चरित्र बुझेँ, त्यसबाट सरलता र इमान्दारीपन सबैभन्दा ठूलो लेखकीय सामथ्र्य हुन् भन्ने बुझेँ
-अभि सुवेदी

प्रश्नकर्ता र उत्तरदाताको गहनतामा राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका साहित्यिक परिचर्चा स्तरीय छन् । विषयवस्तुको गहिराइ र सम्बन्धित श्रष्टासँगको अन्तरङ्ग संगतले मात्रै यस्तो ओजपूर्ण अन्तर्वार्ता लिन सकिन्छ । देश–विदेशमा ख्यातिप्राप्त प्रौढ पुस्ताका अभि सुवेदी, युवापुस्ताका सक्रिय कवि मनु मञ्जिलसम्मका विचारमा विश्व साहित्यका केही सिर्जना र कला चिन्तन पनि उल्लेखित छ । त्यो जटिल छ, वैचारिक छ । त्यस्तै हाम्रो साहित्य दुर्बल हुनुको कारण खोजिएको छ ।

उदय अधिकारी, लेखक

बहुआयामका अभिप्रेरक व्यक्तित्त्व जो साहित्यप्रति कसरी आकृष्ट भए ? कुन प्रेरणाले उनलाई अक्षरसँग खेल्ने बनायो ? त्यसले उत्पन्न गरेको चुनौतीले उनलाई कहाँ पुर्‍यायो ? अनि उनका साहित्यिक कृतिबारे गरिएका रोचक प्रसंग बडो रमाइला छन् । साहित्यसँग जोडिएको उनको जीवन, समाजसँग सम्बन्ध, राजनीतिसँग निकटता अनि त्यसलाई हेर्ने दृष्टिकोणबारे जान्न पाइन्छ । भाषा साहित्यलाई बोध गर्ने अवधारणा, कलाचिन्तनलाई व्याख्या गर्ने उनको परिभाषामा केन्द्रिकृत समालापले मेरो दृष्टि नै बदलियो, व्यापक भयो । एउटा सचेत मनले साहित्यको मूल्यबोध गर्‍यो ।

एक सर्जकले राष्ट्रलाई कसरी लिन्छ ? विश्वलाई कसरी अध्ययन गर्छ ? समाजप्रति उसको जिम्मेवारी कस्तो हुन्छ ? उसका कर्मले समाजमा कस्तो प्रभाव पार्छ ? जस्ता प्रश्नकर्ताको जिज्ञासामा प्राप्त उत्तरले म अरू बढी साहित्य अनुरागी भएँ ।

प्रेम कवितामा पनि एक दुई नारा घुसाइहाल्ने बेइमानहरूलाई त म फुर्सद नै निकालेर सराप्छु
-मनु मञ्जिल

केही सीमित प्रश्नोत्तरमा लेखकको परिचय, उसको रुचि, लक्ष्य, जीवन दृष्टिकोण सम्पूर्णतः उद्बोध भयो भन्नु त ठीक होइन नै । तर उनीहरूको बारेमा धेरै कुरा जाने जस्तो भयो । यहाँ उल्लेख्य विषय प्रशस्तै छन्, हरेक वाक्य उद्धरण गरूँ जस्तो लाग्छ । यद्यपि, त्यो सम्भव छैन । केही सांकेतिक सूचना मात्रै म यहाँ प्रस्तुत गर्दैछु ।

०००
शुरुकै पृष्ठमा छन्, अभि सुवेदी । सामान्य अध्ययनले बुझ्न नसकिने व्यक्तित्व । प्रथमतः उनी कवि हुन्, त्यसपछि अरू सबै हुन् । अझ बढी गहन अध्येता हुन् । ‘विद्यार्थी आन्दोलनमा सक्रिय भई उग्रतामाथि कोमलतालाई बोकेर गोली प्रहारबाट बच्दै कुदें । यद्यपि राजनीतिले मलाई कहीं पुर्‍याएन, केही हासिल गरिनँ,’ उनी भन्छन् । त्यसपछि रोकिएरै पढ्न थालें ।

बाल्यकालबाट शुरु भएको सन्दर्भ भाषा, साहित्य, कला, संगीत, समालोचना, अनुवाद र विश्व साहित्यसम्मका प्रश्नमा केन्द्रित सुवेदी असाधारण प्रवृत्तिका लाग्छन् । ‘सिर्जना गर्ने सामाथ्र्य जति छ त्यसको आधार जीवनको आदिम लय’ भएको बताउने उनको भनाइमा मैले नोबेल विजेता प्याट्रिक मोदियानोलाई सम्झिएँ । उनले पनि लेखनको प्रमुख स्रोत बाल्यकाल हो भनेका छन् । जीवनप्रतिको धारणा बालककालले नै निर्धारण गरेको हुन्छ, त्यसैले निर्देशित गर्छ (हेर्नू, लेखन एक्लो क्रियाकलाप हो शीर्षकमा, मधुपर्कको पूर्णाङ्क ६२८, माघ २०७८ मा प्रकाशित डा. गोविन्दराज भट्टराईको नोबेल भाषण अनुवाद) । सन् २०१४ को नोबेल भाषणमा मोदियानोले यही भनेका छन्, ‘अहिले म जे छु त्यही बाल्यकालको प्रभाव हो ।’

म आफूलाई सफल गद्य लेखक भन्ने कुराको खण्डन गर्न चाहन्छु । मैले अझै धेरै मिहिनेत र तपस्या गर्नुपर्छ
– नारायण ढकाल

लेख्नु पढ्नुलाई श्वास फेर्नु जतिकै अभिन्न कर्मको रूपमा लिने सुवेदी साहित्य, विचार अनि नयाँ समयका प्रयोगवादी चिन्तन भएका किताबहरू पढ्न मन पराउने बताउँछन् । नेपाली साहित्य किन ओझेलमा छ ? त्यसका लागि कस्तो कृति लेखिनु पर्छ ? भन्ने प्रश्न यहाँ अत्यन्तै महत्त्वपूर्ण छ ।

‘मैले विश्वका अनेकौं देशमा, वाचनहरूमा गएर जति साहित्यरचना अनि अभिव्यक्तिहरूका चरित्र बुझें त्यसबाट सरलता र इमान्दारीपन सबैभन्दा ठूलो लेखकीय सामथ्र्य हुन् भन्ने बुझें,’ उनी भन्छन्, ‘हाम्रा सरल गाउँले जनजातीय, भौगोलिक अनि कठोर जीवनमा पनि हाँसेर बाँचेका अनुभूतिहरू लेखियून् किताबमा ।’

ल्याटिन अमेरिकाको साहित्यले राजनीतिक भावना, इतिहास बदलिने आकृतिहरू अनि प्रेम र स्थानीय रङ्ग भरेका क्षणका चित्रण गर्छन् । ती मौलिक छन् । ती आफ्ना जीवन लेख्छन् (१७)।’ मानिसको सामथ्र्य त्यही सरल त्यही साधारण बालसुलभ चरित्र तिनै सरल विम्ब र प्रस्तुतिमा छ, अर्को ठाउँमा उनी भन्छन् ।

०००
आफूलाई प्रगतिशिल लेखक भन्न ज्यादा रुचाउने नारायण ढकालले पनि यही कुरालाई जोड दिएका छन्– आफ्नै इतिहास, संस्कृति र मौलिकतासँग जोडिएर मात्र लेखक सफल हुन सक्छ । राजनैतिक तथा साहित्यिक दुवै क्षेत्रमा परिचित ढकाल पछिल्लो समय हृदय घोप्ट्याएरै साहित्यमा लागेका छन् । राजनीतिमा एक किसिमको संन्यास नै लिएका उनी भन्छन्, ‘अहिले राजनीतिमा सक्रिय नभएको चाहिँ साहित्यमा समय पुग्दैन भनेर नै हो ।’

मेरा ज्ञात् अज्ञात मित्रहरू र पाठकहरूलाई मेरो साहित्य सम्बन्धमा जस्तोसुकै धारणा राख्ने अधिकार छ । त्यो उनीहरूको मौलिक अधिकार र स्वतन्त्रता हो । मैले बुझेको कुरा के हो भने त्यस्ता धारणा र रायहरूका लागि म जिम्मेवार हुँदिनँ । उनीहरू नै जिम्मेवार हुन्छन्
– सरुभक्त

​​​​​​मार्खेज, गोर्की, लु सुनबाट अत्यन्त प्रभावित ढकाल विशेषतः आख्यानकार हुन् । राजनीतिभन्दा अघि नै साहित्यमा लागेका विज्ञानका विद्यार्थी । आरम्भका दिनमा हजारभन्दा बढी कविता लेखेर गोरखापत्रको शनिवारीय अङ्कका लागि बुझाएको तर एउटै नछापिँदा पनि हरेस नखाने उनी एक जब्बर लेखक हुन् । निराशालाई नजिक पर्नै नदिने । निरन्तरको प्रयास र कठोर साधनाले आर्जिएको उनको साहित्यिक व्यक्तित्व सबैका लागि उदाहरणीय छ ।

जीवनको उत्तराद्र्धमा, राजनीतिमा असफल भएपछि, बरु यसो भनौं सक्रिय भएर लाग्न असमर्थ हुँदा त्यसैको क्षतिपूर्ति स्वरूप साहित्यबाट न्याय अन्यायको वकालत गरेको उनको अभिव्यक्ति छ । मजदूरको हकहितमा लेखेर राजनीतिक मार्गको तृप्ति मेटाएको उनको विचार छ ।

आफू सांसद हुँदाको क्षण स्मरण गर्दै देशको राजनीतिक छविबारे उनी एक ठाउँमा भन्छन्, ‘सांसद हुँदा पनि मैले भनेको थिएँ– म पहिला साहित्यमा र त्यसपछि राजनीतिमा छु ।’ केही समयका लागि संयोग र चिठ्ठा परेर त्यहाँ पुगेको । संसदमा बोलेको पनि थिएँ– म यहाँ झुक्किएर आइपुगेको हुँ (४६)।’

साहित्य र राजनीतिको सम्बन्ध, वर्तमान साहित्यको अवस्था, साहित्यमा कलाको महत्व र वैचारिक पक्षको वहसमा केन्द्रिकृत छ यो किताब । राजनीतिक छलफलमा बडो रुचि राख्ने स्रष्टा भएर होला ढकालसँगको वार्ता प्रायः माक्र्सवाद, गैरमाक्र्सवाद, उदारवादी माक्र्सवाद र प्रगतिशील साहित्यको सम्बन्धमा धेरै प्रश्नोत्तर भएका छन् । हरेक जिज्ञासा महत्वपूर्ण र जवाफ पनि रमाइला छन् । अनन्त संघर्षले प्राप्त उपलब्धिप्रति असन्तुष्ट हुँदै उनी भन्छन्, ‘म आफूलाई सफल गद्य लेखक भन्ने कुराको खण्डन गर्न चाहन्छु । मैले अझै धेरै मेहनत र तपस्या गर्नुपर्छ ।’

ढकालले त्यहाँ भनेका छन्, ‘प्रगतिशील लेखक संघले जसरी काम गरिरहेको छ त्यसमा म सन्तुष्ट छैन । यो संगठनले प्रगतिशील लेखक र स्रष्टाहरू जन्माउने छाँट देख्दिनँ (४९)।’ यहीँनेर ढकाललाई मेरो एउटा प्रश्न छ, अहिले साहित्य लेखनका नवीन सिद्धान्तहरू अनेक आइरहेका छन् । यस्तो अवस्थामा माक्र्सवाद र उदारवादी माक्र्सवाद तथा गैरमाक्र्सवादी दृष्टिले मात्रै साहित्यलाई वर्गिकरण गर्नु कतिको न्यायोचित होला ? अबको समयलाई के त्यसले सम्बोधन गर्न सक्छ ?

आरम्भका दिनमा हजारभन्दा बढी कविता लेखेर गोरखापत्रको शनिबारीय अं्कका लागि बुझाएको तर एउटै नछापिँदा पनि हरेस नखाने एक जब्बर लेखक हुन्, नारायण ढकाल

ढकालसँग प्रगतिशील लेखकसँग माल भएको तर प्याकेजिङ गर्ने ढङ्ग नभएको आक्षेप जस्तो एक प्रश्न गर्छन् अन्तर्वार्ताकार अधिकारी । ‘कला पक्षलाई प्रगतिशील लेखकले मात्र होइन गैरप्रगतिशील लेखक भनिनेहरूले पनि उतिकै उपेक्षा गरिरहेका छन्,’ ढकालको यस्तो अभिव्यक्तिले के प्रश्न उठाउँछ भने हाम्रो साहित्यमा कला पक्ष के शून्य स्थितिमै छ ? उसो हो भने कला बेगरका सिर्जना कसरी साहित्य हुन सक्छ ?
०००

दर्शनको केन्द्रीयतामा जीवन र जगत्लाई बुझ्न चाहने बहुव्यक्तित्वले परिचित स्रष्टा सरुभक्त साहित्य, दर्शन र विज्ञानको सन्तुलित केन्द नै जीवन हो भन्छन् । आफ्नो साहित्यिक मान्यतालाई उनले यसरी स्वीकारेका छन्, ‘मेरो विज्ञान साहित्यका चिन्तन दार्शनिकभन्दा बढी वैज्ञानिक मूल्यका होलान् भन्ने मेरो समान्य विश्वास छ (७१)।’ अझै अगाडि भन्छन्, ‘हृदय प्रधान, दर्शन प्रधान र विज्ञान प्रधान लेखनले त्रिवेणीमा प्रभावित हुने इच्छा राख्छु ।’

प्रायः दीर्घ आयामका प्रश्नद्वारा अन्तरकथा उत्खनन गर्न सिपालु अधिकारी पाठकीय आलोचना सुनाउँदै एक ठाउँमा उनलाई भन्छन्–

‘सरुभक्त कमालको लेखक हो तर उसको लेखनमा समसामयितकता बत्ती बालेर खोज्नुपर्छ ।’

‘सरुभक्त गजबको लेखक हो र विचारहीनतालाई उसले जस्तो राम्रोसँग कसैले राख्न सक्दैन ।’

‘सरुभक्तको रचनामा संसार छ तर समाज छैन ।’

पाठक प्रतिक्रियाप्रति सकारात्मक हुँदै सरुभक्तले दिएको जवाफ एकचोटि हरेक स्रष्टाले पढ्न आवश्यक छ । उनले पाठकीय स्वतन्त्रतालाई उच्च स्थानमा राखेका छन् । यसरी पाठकीय आलोचनालाई सहज भावले स्वीकार्न सक्ने हिम्मत कमै स्रष्टामा पाइन्छ । उनको जवाफ हुन्छ, ‘मेरा ज्ञात अज्ञात मित्रहरू र पाठकहरूलाई मेरो साहित्य सम्बन्धमा जस्तोसुकै धारणा राख्ने अधिकार छ । त्यो उनीहरूको मौलिक अधिकार र स्वतन्तता हो । मैले बुझेको कुरा के हो भने त्यस्ता धारणा र रायहरूका लागि म जिम्मेवार हुँदिनँ । उनीहरू नै जिम्मेवार हुन्छन् (७८)।’

प्रायः सबै विधामा कुशल सरुभक्तले समय र पाठकको रुचि बुझेर अघि बढ्यो भने एउटा लेखक सफल हुन सक्छ भनेका छन् । यही सन्दर्भमा उनको विधागत धारणा पनि मलाई उस्तै स्मरणीय लाग्यो, ‘म एउटा साहित्यिक विधा अर्को साहित्यिक विधाभन्दा बढी वा घटी महत्वपूर्ण हुन्छ भन्ने धारणा राख्दिनँ । समयअनुसार विधागत लोकप्रियतामा भिन्नता आउँछ तर एउटा विधाको महत्व अर्को विधाले खोस्दैन (७६)।’

विज्ञान, कला र दर्शनको योगमा साहित्य रच्ने सरुभक्त संरक्षण कविता आन्दोलनका सूत्रधार पनि हुन् । मन परेको पुस्तक चर्चामा उनले महाभारतलाई पहिलो नम्बरमा राखेका छन् । त्यहाँ उनले भनेका छन्, महाभारतमा जीवनमूल्य र शाश्वत मूल्यहरूको खोजी मात्र छैन, मूल्यहरूको खोजीमा चुकाउनु पर्ने अमूल्य इतिवृत्त पनि छ ।

०००

साहित्य त्यसमा पनि विशेषतः कवितालाई चिरेर फाल्नै नसकिने जीवनको ग्रन्थि मान्ने श्यामल (हरिहर अधिकारी) नवीन चेतनाको आह्वान गर्ने एक सशक्त कवि हुन् । त्यसपछि अनुवादक । कलाकृतिको सौन्दर्य नै विचार हो, यही मान्यतामा उनले प्रगतिशील साहित्यको व्याख्यान गरेका छन् । कवितालाई उनी ‘घना अन्धकारका बेला उज्यालो देखाउने फ्लासलाइट हो, उज्यालोका बेला जीवन र जगत्लाई हेर्ने प्राकृतिक लेन्स हो, दुःखका बेला त्यो मेरा लागि साहस हो भने सुखका बेला त्यो अरू मानिससँग संवाद गर्ने सबैभन्दा विश्वासिलो उपकरण हो । फेरि कविता कहिलेकाहीँ झुल्किने प्रेयसीको यादजस्तो कुनै प्रिय वस्तु हो (११७)’ भन्छन् ।

घना अन्धकारका बेला उज्यालो देखाउने फ्लासलाइट हो, उज्यालोका बेला जीवन र जगत्लाई हेर्ने प्राकृतिक लेन्स हो, दुःखका बेला त्यो मेरा लागि साहस हो भने सुखका बेला त्यो अरू मानिससँग संवाद गर्ने सबैभन्दा विश्वासिलो उपकरण हो । फेरि कविता कहिलेकाहीँ झुल्किने प्रेयसीको यादजस्तो कुनै प्रिय वस्तु हो
–श्यामल

प्रगतिशील साहित्य सिद्धान्तका पक्षधर श्यामल गणतान्त्रिक कविता आन्दोलनका अगुवा मध्येका एक हुन् । उनी आफूूलाई कसैले रसिद काटेर तुल्याएको माक्र्सवादी होइन, स्वदीक्षित र स्वप्रशिक्षित हुँ भन्न चाहन्छन् । ‘आफ्नो वैचारिक र व्यवहारिक धरातल माक्र्सवादी भएकाले मैले आफूलाई मेरो विगतदेखि नै लोकतन्त्र र गणतन्त्रको अभियानमा सरिक गराएको छु’ भनेका छन् । तोल्सतोय, लेर्मेन्तोभ, अस्त्रोभ्स्की, एमिल जोला, गोर्कीका उपन्यासले आफ्नो ज्ञानको क्षितिज फराकिलो भएको उनको धारणा छ ।
०००

उपेक्षित र किनारीकृतका आवाजलाई वाणी दिने स्रष्टा श्रवण मुकारुङ भन्छन्, ‘हामीले चाहेको सुन्दर नेपालमा सबैको आवाज र अनुहारको पहिचान हुनुपर्छ । अहिलेलाई मेरो कवितै घोषणा पत्र हुन् भनेर बझिदिनोस् ।’

‘बिसे नगर्चीको बयान’ पछि कुनै रचनात्मक दबाव अनुभव गर्नु भएको छ कि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘लेखनमा समर्पित स्रष्टा लोकप्रियता हुनु नहुनुसँग केही सरोकार राख्दैन ।’ उनको यो अभिव्यक्ति मलाई गीताकै सूक्ति जस्तो लाग्यो । यही वाणीलाई पूर्णता दिन थोरै अघि गएर फेरि भन्छन्, ‘एउटा उद्देश्य, साधनाको महायात्रामा लीन भएको स्रष्टालाई यस्ता सफलता असफलताहरू सामान्य नै हुन्छन् । इमान्दारी ठूलो कुरा हो । आफ्नो लेखनप्रति आफैं विश्वस्त भएपछि अरू विषय गौण नै हुन्छन् (१४०)।’

एउटा गाउँले ठिटो शुद्ध हातमुख लिएर शहर प्रवेश गर्दाका ती दिन निकै कठिन थिए । अनेक कष्ट र अभावका सिलसिलामा आफूलाई एक स्रष्टाको रूपमा स्थापित गराउँदाका, मुकारुङका चुनौती र संघर्ष युवा पुस्ताको लागि नमूना छन् । कैयौं मुकारुङहरू अझै काठमाडौंका सडक गल्लीमा भौतारिरहेका होलान् । कला साहित्यको विषयमा उनीसँगको संवाद नै कवितामय लाग्छ । प्रज्ञाप्रष्ठिानलाई एउटा भर्ती केन्द्रको रूपमा लिएको गुनासो अघि पनि आएको थियो । मुकारुङको पनि त्यस्तै विचार रहेको छ ।

यो संसारलाई सुन्दर बनाउन जीवन अर्पेका तमाम दार्शनिक, वैज्ञानिक, नेता, लेखकहरू सबैले आफ्नो आत्मसन्तुष्टि नहुने काम गरेका होइनन् । स्वान्त सुखायः कै लागि गरेका हुन् तर त्यो महान् कार्य भयो -श्रवण मुकारुङ

‘तपाईं साहित्य आफ्नो लागि लेख्नु हुन्छ या समाजको लागि ?’ भन्ने प्रश्न यहाँ अरू स्रष्टालाई पनि सोधिएको छ । त्यसको जवाफमा मुकारुङ यहाँ बडो दार्शनिक लाग्छ– ‘यो संसारलाई सुन्दर बनाउन जीवन अर्पेका तमाम दार्शनिकहरू वैज्ञानिकहरू नेताहरू लेखकहरू सबैले आफ्नो आत्मसन्तुष्टि नहुने काम गरेका होइनन् । स्वान्त सुखायःकै लागि गरेका हुन् तर त्यो महान कार्य भयो ।’

०००

रबर्ट फ्रस्टले ‘द रोड नट टेकन’ कवितामा भने जस्तै अलग बाटो नहिँडे फरक आउँदैन भन्ने चेतनाले मनु मञ्जिल चुनौती सहितको नव पथ रोज्ने कवि हुन् । ‘अस्तित्वमा सुन्दर कुरा थप्न’ म कविता लेख्छु उनको यो भनाइसँगै आएको पछिल्लो अभिव्यक्ति अर्को महावाणी लाग्छ । उनी भन्छन्, ‘कला मानिसको साथी हो । सुखमा मानिस नाच्छ, अभिनय गर्छ । दुःखमा गहिरा कविता पढ्छ, गीत सुन्छ । कविता जीवनको महान् मित्र हो । कविता कविताको लागि भन्नेहरू कला र त्यसको इतिहासबारे कत्ति गम्भीर छैनन् (१६४)।’

अघिका स्रष्टाहरुलाई पनि यस्तै प्रश्न सोधिएको थियो, उनीहरू सिर्जना कसरी गर्छन् ? कुन प्रेरणाले साहित्यिक मार्गमा लागे ? सिर्जना गर्नु अघिको मूड कस्तो हुन्छ ? यसका उत्तरहरू बेग्लाबेग्लै छन् । फेरि उस्तैउस्तै लाग्छन् । रमाइला कुरा छन् । म यहाँ के अनुरोध गर्छु भने एकपटक तपाईंहरूले पनि यो ग्रन्थ पढेर आफूलाई जाँच्नूस् कतै तपाईंभित्र पनि साहित्य सिर्जना गर्न सक्ने त्यो अगम्य शक्तिले बास लिएको हुन सक्छ ।

साहित्य सिद्धान्त, कलापक्ष र अनुवादका विषयमा मनुसँग गरिएको वार्ता बडो गम्भीर लाग्छ । हाम्रो नेपाली भाषा साहित्य हिजै अन्तराष्ट्रिय स्तरका थिए– देवकोटा, रिमाल, भूपि, शंकर लामिछाने, वीपीको पालामै । परन्तु हामी आज पनि छायामै छौं । मनुको यस भनाइले म निकै दुःखी भएँ । उसो भए हामी कहिले छायामुक्त हुन्छौं त ? अरूमाझ कहिले चिनिन्छौं ?
राम्रो अनुवाद नहँुदासम्म हाम्रो साहित्य त्यो सानो पर्खाल पनि फड्किएर जान सक्ने छैन । उनी भन्छन्, ‘बेलायतमा एक दर्जन भजन लेख्ने कविलाई विश्वले चिन्छ । हाम्रा महान् सुष्टिकै दुर्लभ महाकविलाई किन कसैले चिन्दैन ?’

अनुवादका सम्बन्धमा उनका विचारले फेरि उसैगरी छोयो, ‘अनुवाद बिग्रियो भने त विजेताको अनुहार पनि हरुवामा परिणत हुन्छ । अनुवादका ठेलीहरूमा कविताको हुर्मत काढिएको छ (१६७) ।’ एउटा असल लेखकले आफैंसित प्रतिस्पर्धा गरिरहेको हुन्छ भन्ने चेतनाका कवि मञ्जुललाई साहित्य समाजको लागि हो या पाठकको लागि भनी सोधिएको प्रश्नमा उनको उत्तरले अन्योलमा परेको मलाई निष्कर्षमा पुग्न मद्दत गर्‍यो, ‘पाठकीय आनन्द त पहिलो शर्त हो नि । प्रभावित नभै विराट विश्व आफूतिर फर्किंदैन ।’ उनका विचार मलाई अत्यन्तै निर्भीक लाग्छन् । ‘प्रेम कवितामा पनि एक दुई नारा घुसाइहाल्ने बेइमानहरूलाई त म फुर्सतै निकालेर सराप्छु (१७४) ।’

मनुलाई प्रश्न बेग्लै सोधिएको हो कि उनको भन्ने शैली भिन्न हो ? या उनको हेर्ने दृष्टि अलग हो ? मैले खुट्याउन सकिनँ । तर उनले बोलेका कुरा मलाई एकदमै मन पर्‍यो । शायद मलाई यस्तै विचारले ज्यादा छुने गर्छ ।

प्रश्नमा उल्लिखित स्रष्टाहरूको त्यो अध्ययनको व्यापकता र गहिराइले पठनप्रति मेरो इच्छा दोब्बर भएर आयो । भाषा साहित्यमा अभिरुचि राख्नेलाई यहाँ ठूलो प्रेरणा र ज्ञानप्राप्ति निश्चित छ । स्वदेश तथा विदेशका लोकप्रिय कृतिहरूको सामान्य जानकारी समेत लिन सकिन्छ । समग्रमा नेपाली भाषा साहित्यको भविष्य यसले बताएको छ । भाषा साहित्यका विद्यार्थीले, अझ लेखनमा आकृष्ट नवपुस्ताले एकपटक अध्ययन गर्नै पर्ने कुरा छ । यसले नवपिँढीलाई एउटा सही बाटो देखाउन सक्छ । स्रष्टाका निजी तथा सार्वजनिक भोगाइबाट निश्चय केही जानिन्छ । अनुसन्धान गर्नकै निम्ति पनि यो अन्तर्वार्ता पुस्तक उपयोगी हुनसक्छ । उच्चकोटीको यो अन्तर्वार्ता ग्रहणयोग्य छ । उत्प्रेरक छ । ऊर्जाशील छ । संघर्षको पाठ सिकाउँछ । कवि कलाकारले कस्ता अप्ठ्याराहरू भोगेका हुँदा रहेछन्, त्यो जान्न पाइन्छ ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८, ०९:३०:००