NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कुकुर बेचेर करोडौं आम्दानी

काठमाडाैं । ०५० मा भर्खर अध्ययन सकाएर बसेका थिए उनी । अब केही गर्नुपर्छ भन्ने हुटहुटी त मनमा थियो । तर करिअर कुन क्षेत्रबाट सुरु गर्ने ? कुनै रूपरेखा बनिसकेकै थिएन ।

त्यतिबेला काठमाडौंमा भुस्याहा कुकुरको बिगबिगी थियो । व्यवस्थित ढंगले कुकुर पाल्ने संस्कृति नै थिएन । मन लागुन्जेल पाल्ने, आशक्ति नभएपछि सडकमा ल्याउने, छाडिदिने ।

यसले सडकमा भुस्याहा कुकुरको बिगबिगी बढेको थियो । जता हेर्‍यो उतै भुस्याहा कुकुर देखिन्थे । समस्या जटिल थियो, तर त्यसको समाधानमा न कसैको चासो थियो न चिन्ता ।

तत्कालीन काठमाडौं नगरपालिकाले बजेट छुट्याएर बर्सेनि १० हजारको संख्यामा भुस्याहा कुकुर त माथ्र्यो । अर्को वर्ष कुकुरको संख्या बढेर उति नै हुने । मैले दुई वर्ष पालिकासँगको सहकार्यमा भुस्याहा कुकुरको व्यवस्थान गरेँ । तर, व्यवसायिकतासँग जोड्दा दीर्घकालीन समाधान देखेपछि मैले ०५४ सालमा ३० हजार रूपैयाँ लगानीबाट माउण्ट केनल क्लब खोलेँ । व्यावसायिक कुकुरपालनको उक्त व्यवसाय यस २४ वर्षमा करोडौं रूपैयाँ लगानीको बनेको छ ।

काठमाडौं अहिलेजस्तो घना आवादि पनि थिएन, अनि महानगरपालिका हुन पनि बाँकी थियो । तत्कालीन काठमाडौं नगरपालिकाले भुस्याहा कुकुरको प्रकोप नियन्त्रण गर्न हरेक वर्ष बजेट छुट्याउँथ्यो । त्यो बजेटले कुकुर मारिन्थ्यो । तर अवस्था बीसको उन्नाइस पनि भएन । जति कुकुर मार्‍यो, अर्को वर्ष उत्तिकै थपिन्थे ।

‘तत्कालीन काठमाडौं नगरपालिकाले बजेट छुट्याएर बर्सेनि १० हजारको संख्यामा कुकुर त मारिन्थ्यो । तर फेरि उत्तिकै मात्रामा सडकमा थुप्रिहाल्यो,’ उनी अर्थात् कुकुर व्यवसायलाई उद्योगको रूप दिने पायोनियर सुरेश शाह विगततिर घोत्लिए ।

काठमाडौंबासीलाई हायलकायल बनाएको भुस्याहा कुकुर यसरी मार्नु पशु अधिकारका दृष्टिले अक्षम्य अपराध नै थियो । समाधानको कोणबाट पनि यो वैज्ञानिक थिएन । यसरी कुकुर मारेर यसको दीगो समाधान निस्किने वाला थिएन । काठमाडौंको यो जटिल समस्याभित्र एउटा तन्नेरी भने ठूलो सम्भावना देखिरहेको थियो ।

‘काठमाडौंलाई यो समस्याले जटिल बनाए पनि मैले भने आर्थिक उपार्जनसँगै देश सेवा गर्न सकिने देखिरहेको थिएँ,’ शाहले उतिबेलाको मनोदशाको पत्र उप्काउँदै भने ।

No description available.

सम्भावना त अथाह थियो तर कहाँबाट थाल्ने ? कसरी थाल्ने ? सजिलो पक्कै थिएन । यत्तिकैमा उनलाई उपाय फु¥यो, काठमाडौं नगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने ।

उनले नगरपालिकामा प्रस्ताव लगे– ‘जनतालाई व्यवस्थित ढंगले कुकुरपालन गर्न नसिकाएसम्म यसको दीर्घकालीन समाधान हुँदैन । यसका लागि नगरपालिकासँग सहकार्य गर्न तयार छु । मलाई सहयोग गर्नूस् ।’

नगरपालिकाले प्रस्ताव स्वीकार्‍यो । चुनौती त अगाडि थियो नै तर प्रस्ताव स्वीकृत भएकाले उनी गदगद भए । नगरपालिकासँग सम्झौता भयो । उनले कुकुरपालकसँग १०० रूपैयाँ शुल्क उठाउन पाउने भए । त्यो शुल्कबाट उनले नगरपालिकाभित्र जति पनि कुकुर पालिएका थिए, तिनलाई दर्ता गराउँदै परिचयपत्र वितरण गर्नुपर्ने थियो । व्यवस्थित कुकुरपालनको पुस्तिका तयार गरेर त्यसैबाट बाँडियो । घाँटीमा दर्ता नम्बरसहितको परिचयपत्र प्रबन्ध गरियो ।

यसो गर्दा दुई फाइदा भए । पहिलो त, नगरपालिकाभित्रका कुकुरहरूको अभिलेख तयार भयो । दोस्रो, विगतमा बेपरबाह भुस्याहा कुकुर छाड्दै आएकामाथि अंकुश लाग्यो । किनभने, परिचयपत्रसहितका कुकुर सडकमा देखिएमा कसले छाडेको थाहा हुने भयो ।

‘१०० रूपैयाँ कुकुर धनीसँग दर्ता शुल्क भनेर लिन्थ्यौं । त्यसबाट व्यवस्थित कुकुर पालन पुस्तिका, परिचयपत्र दिन्थ्यौं,’ शाहले चौबीस वर्षअघिका ती दिन सम्झिए, ‘यसो भएपछि कुकुरको पहिचान सजिलो भयो र छाड्ने प्रावृत्ति घट्यो । दोहोरो काम हामीले गर्‍यौं ।’

नगरपालिकासँग सम्झौता गरेर दुई वर्षसम्म शाहले यसैगरी काम गरे । यसबाट काठमाडौंको भुस्याहा कुकुरको समस्या निकै कम भएको शाहको अनुभव छ ।

दुई वर्षपछि नगरपालिकासँगको सम्झौता सकियो । नगरपालिकाले पनि त्यसलाई निरन्तरता दिन उत्सुकता देखाएन । उनले पनि सम्झौता नवीकरणमा जोड गरेनन् । किनभने, कुकुरपालनबारे प्रारम्भिक जागरण फैलाइसकेका थिए । त्यसैले उनले थोरै धार परिवर्तन गरेर यसलाई व्यावसायिकता दिने सोच बनाए ।

समस्याले जन्मियो माउण्ट एभरेष्ट केनल

दुई वर्ष भुस्याहा कुकुर व्यवस्थापनमा बिताउँदा सुरेशले धेरै कुरा सिकिसकेका थिए । महानगरपालिकाको सहकार्यको दौरान यसले उद्योगको आकार लिने शाहले अन्दाज गरिसकेका थिए । त्यसपछि उनले निधो गरे, केनल क्लब खोल्ने । माउण्ट एभरेष्ट केनल क्लब भनेर दर्ता गरे । यो काठमाडौंमा व्यावसायिक कुकुरपालनका लागि निजी क्षेत्रबाट गरिएको पहिलो व्यावसायिक प्रयास थियो ।

अहिले नेपालमा कुकुर पाल्ने संस्कृति बढ्न थालेको शाह बताउँछन् । उनका अनुसार, २५–३० प्रतिशतले कुकुर व्यवसाय बढेको छ । धनीले मात्र पाल्ने विगतको मान्यता पनि भत्किएको उनको अनुभव छ ।

शाहका अनुसार ०५४ सालमा शाह एक्लैले यो केनल क्लब खोलेका हुन् । त्यतिबेला २५–३० हजार रूपैयाँ लगानीबाट यो व्यवसाय थालेको शाह बताउँछन् ।

काठमाडौंमा यो नयाँ प्रयोग थियो । त्यसैले चुनौती पनि उत्तिकै हुनसक्थे । तर शाहले नोटिस नै गर्ने गरी कहिल्यै असहजता महसुस गरेनन् ।

‘व्यवसाय गर्दा सानातिना समस्या त आइरहन्छन्,’ उनले भने, ‘नोटिस नै हुने गरी अप्ठ्यारो परिस्थिति अहिलेसम्म झेल्नुपरेको छैन । अब पनि नपरोस् ।’

काठमाडौंका रैथाने भएकाले उनलाई आफ्नै घरमा यो व्यवसाय सञ्चालन गर्ने सुविधा मिलेको छ । कुकुरका लागि हस्पिटल, दाना, पेट सपलगायत आवश्यक हुन्छ । यी सबै सेवा शाहले खोलेको केनल क्लबको एउटै छानामुनि छ ।
‘कुकुरपालनसँग सम्बन्धित सबै सेवा हामी उपलब्ध गराउँछौं,’ शाहले भने ।

शाहले २४ वर्षअघि सीमित पुँजीबाट सुरु गरेको व्यवसाय अहिले शिखरमा छ । व्यावसायिकता, ज्ञान, सीप र समाजप्रतिको उत्तरदायित्वबोध सफलताको कारण ठान्छन् शाह । उनका अनुसार, २५–३० हजार रूपैयाँबाट सुरु गरेको व्यवसाय फैलिएर अहिले करोडौं रूपैयाँ लगानीको बनेको छ ।

No description available.

‘ठ्याक्कै कतिको पुँजी भयो भनेर त मैले हिसाब गरेको छैन,’ शाहले भने, ‘मेरो विचारमा करोडौं रूपैयाँको बनिसक्यो होला ।’

कुकुर किन पाल्ने ?

कुकुरको व्यावसायिक पालनमा इँटा थपिरहेका शाहसँग कुकुर किन पाल्ने ? भन्ने प्रश्न गरिएन भने सायद उनीसँगको बसाइँ अपूरो हुनेछ । त्यसैले मैले शाहसमक्ष प्रश्न तेर्साएँ– कुकुर किन पाल्ने ?

शाहका अनुसार, कुकुरपालनका एउटा मात्र नभएर बहुआयाम छन् । उनको विचारमा कुकुरलाई रिफ्रेसमेन्टका रूपमा उपयोग गर्न सकिन्छ । यसबाट जति रिफ्रेसमेन्ट मानिसले प्राप्त गर्छ, अरू केहीबाट मिल्दैन । भागदौडको जीवन बाँचिरहेका मानिसले दिनभरिको थकान साँझ घरमा कुकुरसँगको एकैछिनको बसाइँबाट मेटाउन सक्ने शाहको ठम्याइ छ ।

‘कुकुरलाई संसारभरि नै पेट (घरपालुवा जनावर) मानिन्छ । भागदौडको जीवनमा यहाँ मानिसहरू बिहानदेखि बेलुकासम्म व्यस्त हुन्छन् । यस्तो अवस्थामा बेलुका घर जाँदा लखतरान हुनु स्वभाविक नै हो,’ शाह भन्छन्, ‘यदि दिनभरि व्यस्त हुने मानिसले घरमा कुकुर पालेका छन् भने एकैछिन खेल्दा पनि उनीहरूको सबै तनाव बिर्साउने ल्याकत कुकुरसँग हुन्छ ।’

एक जमानामा ककुरलाई सुरक्षाका लागि पालिन्थ्यो । शाह अहिले यो ट्रेन्ड हटेको सुनाउँछन् । ‘सुरुसुरुमा सेक्युरिटी पर्पोजका लागि कुकुर पालिन्थ्यो । अहिले यो सोच परिवर्तन भएर पेटको कन्सेप्टमा गइसकेको छ,’ कुकुरपालनमा आएको परिवर्तनबारे शाहले सुनाए ।

कसरी छनाेट गर्ने कुकुर ?

कुकुर पाल्ने सोच भए पनि कतिलाई कुकुर छनौटलगायत ज्ञान हुँदैन । कुकुरपालनको ज्ञान नहुँदा खर्च गरेर किनिएका कुकुर घाँडो भइदिन्छन् । कुकुरपालनमा चासो भएका व्यक्ति यी विषयमा चनाखो हुनुपर्ने शाह बताउँछन् ।

शाहका अनुसार, कुकुरपाल्ने सोच भएकाले पहिले आफ्नो पूर्वाधार कस्तो छ भन्ने हेर्नुपर्छ । घर कम्पाउन्ड ठूलो छ भने ठूलो जातका कुकुर पाल्नु उपयुक्त हुन्छ । फ्ल्याटमा बस्नेका लागि भने सानो जातको कुकुर उपयोगी हुन्छ ।

चार खुट्टेलाई जनावर भनिन्छ भन्ने पशु सेवा विभागको नियममा छ । तर, कुकुर जनावरमा पर्दैन,’ उनले भने, ‘जनावरको इन्सुरेन्स गर्नेमा कुकुर पर्दैन, लोनमा पनि पर्दैन । तर, आहारलगायतमा सम्पूर्ण सामान आयात गर्दा जनावरकै रूपमा क्वारेन्टाइन भर्नुपर्छ

‘सबैभन्दा पहिले के कारणले कुकुर पाल्न लागेको हो, त्यसको निधो गर्नुपर्छ । त्यसपछि पूर्वाधार हेरेर सानो, ठूलो जातको कुकुर आवश्यकताअनुसार पाल्न सकिन्छ,’ कुकुरपालनप्रति उत्सुकहरूलाई शाहको एकसरो सुझाव छ ।

साना, ठूला जातका कुकुरमा पनि आ–आफ्नै विशेषता भएको शाह बताउँछन् । उनका अनुसार, सानो जातमा स्पिच पर्गलगातयत राम्रो मानिन्छ । मध्यममा ल्याबरेटल, जर्मन सेफर्ड उत्तम हुन् । उच्च क्लासमा सानो जात मन पराउनेले चिवाबालगायत पाल्न सक्छन् । सुरक्षाका लागि हो भने ठूलो जातका रकेलर टाइपको कुकुर पाल्दा उपयुक्त हुन्छ ।

उनका अनुसार अहिले बजारमा ८ हजारदेखि ५० हजार देखि ६० हजार रूपैयाँ पर्ने कुकुर बढी पाइन्छ । यीमध्ये ८ हजारदेखि २५ हजार रूपैयाँ मूल्यका कुकुरको माग बढी छ ।

अहिले नेपालमा कुकुर पाल्ने संस्कृति बढ्न थालेको शाह बताउँछन् । उनका अनुसार, २५–३० प्रतिशतले कुकुर व्यवसाय बढेको छ । धनीले मात्र पाल्ने विगतको मान्यता पनि भत्किएको उनको अनुभव छ ।

विदेशिएका युवा यही क्षेत्रमा अटाउने सम्भावना पनि शाहले देखेका छन् । उनका अनुसार, यो क्षेत्रमा कोही प्रवेश गर्न चाहन्छ भने स्पेस खाली छ । तर त्यसका लागि हचुवाको भरमा नभई अध्ययन गरेर आउन उनको सुझाव छ । ‘यो क्षेत्रमा प्रशस्त सम्भावना छ । किनभने, यसको आकार बढ्दो छ । यदि कोही व्यक्ति यो क्षेत्रमा आउन चाहन्छ भने रेखदेख, खानपिन, केयरिङलगायत ज्ञान जरुरी हुन्छ ।’

सेवा विस्तार हुँदै

शाहको सेवा अहिले काठमाडौंमा मात्र सीमित छ । उनले आफ्नो केनल क्लबमार्फत अहिले यहाँभित्र मात्र सेवा दिएका छन् । तर निकट भविष्यमा उनी यसलाई देशव्यापी विस्तार गर्न चाहन्छन् ।

शाहले आफ्नो केनल क्लबको शाखा पूर्वदेखि पश्चिम महाकालीसम्म खोल्ने सोच बनाएका छन् । त्यसका लागि गृहकार्य पनि भइरहेको छ ।

‘अहिले हाम्रो सेवा काठमाडौंमा मात्र छ । निकट भविष्यमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म यसका शाखा खोल्ने योजना छ,’ प्रफुल्ल देखिए शाह ।

सन्तुष्टि पनि उत्तिकै

मान्छेका जीवनमा अनेक दुःख हुन्छन् । सम्हालेको पेशाबाट धेरै सन्तुष्ट हुँदैनन् । पैसा कमाइ भए नाम हुँदैन, नाम भए पैसा । शाहले भने आफ्नो व्यवसायबाट नाम र दाम मात्र होइन, सँगै सामाजिक उत्तरदायित्व पनि बहन गरिरहेका छन्।

काठमाडौं मात्र होइन, देशभर व्यावसायिक कुकुरपालनको जस शाहलाई नै जान्छ । किनभने, नेपालमा यसका सूत्राधार शाह नै हुन् । यदि शाहले उतिबेला यो साहस गरेका थिएनन् भने यसले उद्योगको आकार लिन सक्दैनथ्यो । यसमा शाह निकै सन्तुष्ट छन् ।

‘यो व्यवसायमा लागेर देश र जनताका निम्ति केही योगदान दिन सकेँ । यसमा म निकै सन्तुष्ट छु,’ यो व्यवसायमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा शाहले भने ।

सबैभन्दा ठूलो सन्तुष्टिचाहिँ शाहलाई यो क्षेत्रले उद्योगको आकार लिएकोमा लाग्छ रे । हुन पनि, शाह यो क्षेत्रमा यसरी हेलिदैनथे भने नेपालले अहिले पनि भारतबाट कुकुर आयात गरेर नेपाली रूपैयाँ विदेश पठाइरहेको हुन्थ्यो होला । तर अहिले शाहलगायत केही व्यक्तिका कारण नेपाल कुकुरमा ९० प्रतिशत आत्मनिर्भर भएको छ । १० प्रतिशत मात्र विदेशबाट आउँछन् ।

शाहले यो क्षेत्रमा धेरै कुशल जनशक्तिसमेत उत्पादन गरेका छन् । जसले काठमाडौंसहित देशका विभिन्न भागमा रहेर यो क्षेत्रलाई उद्योगको आकार दिइरहेका छन् । यसले आफूलाई अरूका निम्ति पनि केही गर्न सकेँ भन्ने सुखानुभूति हुने शाह सुनाउँछन् ।

‘यो क्षेत्रले अहिले लगभग उद्योगको आकार लियो । धेरैले रोजगारी पाएका छन् । नेपाललाई केही योगदान दिएँ भनेर सन्तुष्ट छु,’ शाहले भने ।

शाहका अनुसार, उनको आफ्नै केनल क्लबले मात्रै अहिले ४५ जनालाई रोजगारी दिइरहेको छ । कैयन विडर (व्यवसायिक कुकुर उत्पादक)ले उनकै कारण काम पाइरहेका छन् ।

सरकारसँग गुनासो

शहरमा कुकुर उत्पादन गरिबले र खरिद धनीले गर्छ । यसले देशको पैसा देशभित्रै घुमिरेहको छ । शाह यो व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोण भने खोटो रहेको औंल्याउँछन् । उनका अनुसार, कुकुर व्यवसायीसँग लिनेबेला जनावर र दिने बेला भने पेटको व्यवहार हुँदै आएको छ ।

‘चार खुट्टेलाई जनावर भनिन्छ भन्ने पशु सेवा विभागको नियममा छ । तर कुकुर जनावरमा पर्दैन,’ उनले भने, ‘जनावरको इन्सुरेन्स गर्नेमा कुकुर पर्दैन, लोनमा पनि पर्दैन । तर आहारलगायतमा सम्पूर्ण सामान आयात गर्दा जनावरकै रूपमा क्वारेन्टाइन भर्नुपर्छ । नेपालमा पेट फुडको क्वारेन्टाइन क्लियर गर्नुपर्छ । कुकुर जनावर हो कि होइन भन्नेमा सरकार पहिले स्पष्ट हुन जरुरी छ,’ यसरी उनले सरकारसँगको गुनासो पोख्दै कुराको बिट मारे ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८, १५:०५:००

ताजा अपडेट

नेपालवाच विशेष