NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

भारतका प्रधानमन्त्री मोदी र डेनमार्ककी रानीबीच भेट

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग भेटवार्ता गरेका छन् । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गरेका हुन् ।

कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गरेको प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री मोदी रानी मार्गरेटले आयोजना गरेको रात्रीभोजमा समेत सहभागी भएका थिए । सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यहरुसँग पनि भेटवार्ता गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमर्ककी रानी मार्गरेट द्धितिय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

एक दिने डेनमर्क भ्रमणका क्रममा उनले अति व्यस्त कार्यतालिकाकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरु गरेका छन् । उनले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ सम्भावनाहरुका बारेमा छलफल गरेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उनले डेनमार्कमा छलफल गरेका छन् । सोमबारदेखि तीन दिने युरोप भ्रमण सुरु गरेका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुगेका हुन् ।

उनले भ्रमणको पहिलो दिन नै सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गरेका थिए । उनीहरुका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल गरेको बताइएको छ ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिएको जानकारीअनुसार प्रधानमन्त्री मोदीले यस पटक युरोप भ्रमणका क्रममा उनले युक्रेनमाथी रुसको हमलाका बारेमा पनि धेरै जसोसँग छलफल गरेका छन् ।

सोमबार जर्मनीबाट युरोप प्रवेश गरेका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कको भ्रमण गरेका छन् भने बुधबार फ्रान्सको भ्रमण गर्नेछन् ।