NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रेनुलाई भोट माग्न हेलिकोप्टरमा चितवन पुगे देउवा, होटल सञ्चालकको गाडीमा सरर…

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् ।

प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका व्यवसायी उमेश श्रेष्ठको बा३च २०४० नम्बरको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका थिए ।

श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए । उनले भने, “यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ ।”

श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नेछन् । उनले थपे, “सबै खर्च पार्टीले गर्नेछ ।” सभापति देउवा र उनको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै छन् । पार्टी सभापति देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको हेलिकोप्टरबाट आएका हुन् । उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सो जहाज कांग्रेसले भाडामा ल्याएको हो । उनले भने, “निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो ।”

सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा चितवन आएका हुन् । उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आज आएका छन् । सभालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छिन् । उनैलाई भोट माग्न देउवासहितको टोली आज भरतपुर आएको हो ।

त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् । –रासस

स्थानीय तह चुनावको ‘इपिसेन्टर’ भरतपुरमा बास बस्ने गरी किन गए देउवा ?