NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अख्तियारका पूर्वप्रमुख बस्न्यातको राजसी ठाँट : सोफामा सुनको जलप !

काठमाडौं । घरमा सुनको जलप लगाइएको सोफा छ । सोफामात्र होइन, सुनको जलपले सजाइएका सामानहरूले हरेक कोठा ‘राज कक्ष’जस्तो देखिन्छ ।

कति घर छन् यकिन छैन, एउटा घर सरकारी भाडामा लगाइएको छ । आफू बस्ने घर बंगाला जस्तो छ । घरमा सेक्युरिटी गार्ड । विलासी गाडी । असाधारण जीवनशैली । राजसी ठाँट । तर, उनी न अर्बपति व्यापारीक घराना हुन्, न अकुत सम्पत्तिवाला पैत्रिक विरासत बोकेका व्यक्ति !सरकारी कागजातमा सीधै देखिने सम्पत्ति केही छैन ।

बैंक खातामा पैसा छैन, आफ्नो नाममा कुनै सम्पत्ति पनि देखिन्न ! उनी हुन्, पूर्वप्रशासक दीप बस्न्यात । मानिसहरूलाई झट्ट सुन्दा पत्याउन मुस्किल हुन्छ, पूर्वप्रशासकको यत्रो ठाँटबाँट ! हो ।

यही ठाँटबाँटमाथि अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्तसमेत रहेका दिप बस्न्यातको सम्पत्ति छानविन हुँदै जाँदा रोचक घटनाहरू भेटिन थालेका छन् ।

नेपाल सरकारको सचिवबाट अवकास पाएपछि मुलुकको भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख निकायको नेतृत्वमा पुगेका बस्न्यातमाथि अहिले विभागले छानविन गरिरहेको छ ।

विभागले भण्डै एक वर्षदेखि उनीमाथि अनुसन्धान गरिरहेकाे छ । बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएको ठहर गर्दै अख्तियारले मुद्दा चलाएलगत्तै विभागले उनीमाथि अनुसन्धान थालेको थियो । अनुसन्धानबाट उनीसँग करिब एक अर्ब अबैध सम्पत्ति भेटिएको छ । विभागले उनको सम्पत्तिका अरु स्रोत पनि खोजिरहेको छ ।

अनुसन्धानको सुरुवाती चरणमा उनको नाममा रहेका सम्पत्ति फेला पार्नै विभागका अनुसन्धान अधिकृतहरूलाई धौधौ पर्यो । त्यतिखेर काठमाडौंको बत्तिसपुतलीमा एउटा घर र एउटा गाडी भेटियो, त्यो पनि अंशबण्डा भएर छोरा–छोरीको नाममा गइसकेका थिए । घरको सोफामा सुनको जलप बस्न्यात यस्ता पूर्व प्रशासक हुन्, जो कर्मचारी हुँदा सधैँ कमाउ कार्यालयमा मात्र रहे ।

भौतिक पूर्वाधार तथा यातायात सचिव हुँदा आफ्नै घरमा लगेर मन्त्रालय मातहतको रेल विभागको कार्यालय राखे । त्यसबापतको भाडा मूल्य निकै महंगो निश्चित गराए । तर, अनुसन्धानको क्रममा न उनको बैंक खातामा पैसा देखिन्छ, न प्रशस्त घर जग्गा । करिब ८ महिनाको अनुसन्धानपछि बल्ल बस्न्यातको सम्पत्तिका ‘नेक्सस’ हरू देखिन थालेका छन् ।

सरकारी कागजातमा सीधै देखिने सम्पत्ति केही नभएका उनको जीवनशैली भने असाधारण छ । उनको अनुसन्धानमा खटेका अनुसन्धान अधिकृतहरू भन्छन् – उनको घरको सोफामा सुनको जलप लगाइएको छ । सुनको जलपले सजाइका सामानहरूले हरेक कोठा राज कक्षजस्तो देखाउँछ । भित्ता सजाउन र भुइँमा प्रयोग भएका गलैँचाले उनको ‘आर्थिक भव्यता’ देखाउँछ ।

उनको राजसी ठाँटको स्रोत खोज्दै जाँदा विभागले एक पटक बस्न्यातको करिब १६ करोड अबैध सम्पत्ति भेटेको थियो । त्यस्तो अबैध सम्पत्तिको स्रोत खोज्दै जाँदा अहिलेसम्म ८० करोडभन्दा बढी अबैध सम्पत्ति भेटिएको विभागको दावी छ ।

राजसी ठाँटका बस्न्यातसँग सहजै स्रोत नखुलेको अवैध पैसा भेटिने विभागको अनुमान थियो । तर, अनुसन्धान थप जटिल बन्दै गयो ।

कोठाको सजावटमा एक करोड

दिप बस्न्यातको आर्थिक कारोबार गर्ने प्रमुख विस्वासिला पात्र हुन्, म्यानपावर व्यवसायी भिम रोका ।काठमाडौको बुढानिलकण्ठ घर भएका रोका र बस्न्यातको बीच बाक्लो टेलिफोन कुराकानी हुने गरेको भेटियो ।

बस्न्यातमाथि भइरहेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान रोकामाथि पनि सुरु भएको छ । त्यही टेलिफोन सम्पर्कका आधारमा अनुसन्धान अघि बढ्दा व्यवसायी रोका बस्न्यातको अवैध पैसाको कारोबार गर्ने मूख्य पात्रका रुपमा देखा परेका छन् ।

बस्न्यातका विश्वास पात्र रोकाको बुढानीलकण्ठको घरका प्रत्येक कोठा निर्माणको सजावट मूल्य कम्तीमा एक करोड रुपैयाँ लगानी भएको भेटिएको छ । एउटा व्यवसायीले एउटा कोठामा यति धेरै लगानी गर्न कसरी सम्भव भयो ?

अनुसन्धान अधिकृतले रोकालाई आफ्नो वैध स्रोत पुष्टि गर्न फर्म भरायो । तर, रोकाले खर्च र आम्दानी स्रोतबीच तालमेल देखाउन सकेका छैनन् । बस्न्यात भौतिक पूर्वाधार सचिव भएको समयमा भिम रोकाको सम्पत्ति ह्वात्तै बढेको भेटियो । बस्न्यातलाई सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनायो ।

त्यही समयमा रोक्काको नाममा पनि सम्पत्ति फेरि ह्वात्तै बढ्यो । यही क्रममा बस्न्यात अख्तियारको प्रमुख आयुक्त हुँदा रोकाको सम्पत्ति गुणात्मक वृद्धि भएको देखिएको छ ।

बस्न्यातसँग सम्बन्धित थप समाचार पैसा कमाउने ‘अख्तियार मोडल’ : पूर्वप्रमुखसँग एक अर्ब गैरकानुनी सम्पत्ति दीप बस्न्यातसँग भेटियाे एक अर्ब गैरकानुनी सम्पत्ति (भिडियाे रिपाेर्ट) सम्पत्ति छानविनबारे दीप बस्न्यातसँगकाे अन्तर्वार्ता – मलाई केही थाहा छैन