NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ३ गते

दलको सो–केसमा सजिएका राष्ट्रका गहना

कलाकार साझा हुन् कि दलका औजार ?

काठमाडौं । स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै दलीय प्रचारप्रसार अचेल डिजिटल माध्यममा छाइरहेको छ । हरेक दलका चुनावी गीतले युट्युब र टिकटकदेखि सामाजिक सञ्जाल भरिएका छन् ।

नेकपा (एमाले) का समर्थक ‘मै पनि एमाले, सइ पनि एमाले…’ बोलको गीतमा नाचिरहँदा माओवादी केन्द्रका सञ्जालीय तप्काचाहिँ यही गीतको लयमा शब्द फेरेर ‘सही छैन एमाले, ठीक छैन एमाले …’ भन्दै टिकटक बनाइरहेका छन् ।

अर्थात् गीतको लय एउटै छ । कलाकारहरू चाहिँ दलगत रूपमा बाँडिएका छन् । उता, ‘बाउ पनि कांग्रेस, आमा पनि कांग्रेस, देशै कांग्रेस, म त यसै कांग्रेस…’ भन्दै कांग्रेसनिकट कलाकारले गाइरहेका छन् ।

चुनावको यो माहोलमा अमूक दलको पक्षमा गाएर दाम कमाउन कलाकारहरूको होड छ । आफ्नो कलाकारिताको धर्म र स्वतन्त्र पहिचानसमेत नामेट पार्दै उनीहरू खुलेआम दलका ‘भाडाका कलाकार’ बन्नुमै गर्व गरिरहेका छन् ।

अचेल कलाकारहरू राजनीतिक दलमा हाकाहाकी प्रवेश गर्न थालेका छन् । हरेक दलनिकट केही कलाकार छन्, जो दलको स्तुति गाउँछन् । नेकपा (माओवादी केन्द्र)को केही महिनाअघि सम्पन्न आठौं महाधिवेशनमा गायक चेतन सापकोटाले ‘गणतन्त्र ल्याउने माओवादी हो, राजतन्त्र ढाल्ने माओवादी हो’ भन्दै नारा नै गाए ।

कुनै पनि राजनीतिक दलका लागि चर्चित कलाकारहरूको पार्टी प्रवेश केही समयको स्टन्ट मात्र हो । कलाकार जनतामाझ लोकप्रिय भएकाले यही लोकप्रियतालाई दलीय स्वार्थमा भजाउनुबाहेक यसमा अर्को कुनै अभिष्ट देखिँदैन

आफूलाई चलचित्रकर्मी बताउने तर चलचित्र क्षेत्रबाट करिब–करिब हराइसकेका युवराज लामा माओवादीको महाधिवेशन प्रतिनिधि थिए । चलचित्र निर्देशक छवि ओझा पनि माओवादी केन्द्रनिकट चलचित्र संघको विशेष समिति अध्यक्ष भएका छन् । विभिन्न नायिकासँगको काण्डमा फसेका ओझा विवादमा आइरहने पात्र हुन् ।

कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनमा निर्माता रोज राणा, कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’, लोकगायक विमलराज क्षेत्री, कलाकार शिवहरि वैरागी, तीर्थ थापा, निर्देशक सम्झना रौनियरलगायतका कलाकार महाधिवेशन प्रतिनिधि भएका थिए ।

त्यसैगरी, एमालेको चितवनमा सम्पन्न महाधिवेशनमा गायक एकनारायण भण्डारीले ‘राम्रो नेपालमा हाम्रो एमाले…’ बोलको गीत गाएका थिए । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएको भए पनि पराजित भइन् । अहिले उनी राप्रपामै सक्रिय छिन् । यही होडमा नायिका करिष्मा मानन्धर पनि ‘सूर्जेकुमारी’का रूपमा एमालेको राजनीतिमा रमाइरहेकी छन् ।

नेपाली चलचित्रको हालत चौपट छ । प्रदर्शन भएका हरेक नेपाली चलचित्र करिब–करिब डब्बामा परिणत भइरहेका छन् । हलिउड र दक्षिण भारतीय चलचित्रको लोकप्रियताका कारण हलहरूमा नेपाली चलचित्रको बेहाल छ ।

नेपाली चलचित्र उद्योग नै धराशायी हुन लागेको चिन्ता निर्मातामा घनिभूत छ । यस्तो बेला कलाकारहरूको कर्तव्य हुन्थ्यो, कसरी उत्कृष्ट चलचित्र निर्माण गर्ने र विदेशी चलचित्रको हैकम र दबाबलाई परास्त गर्ने ।

तर, मै हुँ भन्ने कलाकारमासमेत चलचित्र उद्योगको बेहालप्रति कुनै चिन्ता देखिँदैन । राम्रो चलचित्र दिन नसके पनि आफूलाई महानायक, महानायिका दाबी गर्ने होडमा जुटेका कलाकारहरू अचेल विभिन्न राजनीतिक दलको ओत लागेर आफ्नो अस्तित्व रक्षाको ध्याउन्नमा लागेका छन् । रिलमा फापेकाहरू अचेल राजनीतिमा च्याँखे दाउ थाप्दैछन् । राष्ट्रका गहना भनिनेहरू दलको सो केसमा सजिन थालेका छन् ।

‘पच्चीस वसन्त’का पथिकहरू

नेपालका कलाकारहरूलाई राजनीतिक शक्ति केन्द्रहरूले उपयोग गर्न थालेको पञ्चायतकालदेखि नै हो । राजारानीदेखि दरबारियाहरूको गुनगान गाउने गायक गायिकाले रेडियो नेपाल भरिन्थ्यो, कुनै बेला । पञ्चायती व्यवस्थाको स्तुति गाउनेहरू राष्ट्रिय कलाकार कहलिन्थे ।

‘चौतारीमा राजा भेटीए

चौतारीमा रानी भेटिइन…’

रेडियो नेपालमा दिनहुँ गुन्जन्थ्यो, यो गीत । यस्तो गीत गाउनेले दरबारबाट गोदबा, बक्सिस अनेक पाउँथे । त्यो जमाना नै त्यस्तै थियो, स्तुतिगायनको बोलवाला थियो । चाँदनी शाह (रानी ऐश्वर्य), मविवि शाह (राजा महेन्द्र), जिशाह (ज्ञानेन्द्र) का गीतहरू गाउन तछाडमछाड चल्थ्यो ।

कोमल वली एमाले प्रवेश गरेको केही समयभित्रै सांसद बनेको देखेपछि अन्य कलाकारमा पनि यसैगरी दल प्रवेश गरेर यसैगरी राजकीय पद हत्याउने होड चलेको छ

चाकडीको यो होडमा ०४५ साल जेठमा प्रदर्शनमा आएको चलचित्र ‘पच्चीस वसन्त’ एउटा कालो उदाहरण हो । निरंकुश पञ्चायती व्यवस्था लादिएको पच्चीस वर्ष अर्थात् ‘पञ्चायत रजत जयन्ती’का अवसरमा पञ्चायतकै गुणगान गाइएको चलचित्र ‘पच्चीस वसन्त’मा भुवन केसी र नीर शाहलगायतका कलाकारले अभिनय गरेका छन् ।

‘मण्डले चलचित्र’का रूपमा बदनामी कमाएको ‘पच्चीस वसन्त’मा अभिनय गरेबापत अभिनेता केसी र शाहमाथि पनि पञ्चायतकालमै मण्डलेको आरोप लागेको थियो । पञ्चायती शासकहरूले बहुदलवादी नेता–कार्यकर्तामाथि गरेको दमनको पक्षपोषण गरेकाले पनि बहुदलवादीले यसलाई ‘कालोसूची’मा राखेका थिए ।

‘पच्चीस वसन्त’मा अभिनय गरेर पञ्चायतको गुनगान गाउने यिनै अभिनेताद्वय केसी र शाह हालै मात्र सत्तारूढ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पञ्चायतकालभरि बहुदलवादीलाई सराप्दै आएका कलाकार कांग्रेसको सरकार भएको बेलामा कांग्रेसमा प्रवेश गर्नु कुनै अनौठो पनि होइन ।

‘कोमल पथ’ पछ्याउनेहरू

कुनै पनि राजनीतिक दलका लागि चर्चित कलाकारहरूको पार्टी प्रवेश केही समयको स्टन्ट मात्र हो । कलाकार जनतामाझ लोकप्रिय भएकाले यही लोकप्रियतालाई दलीय स्वार्थमा भजाउनुबाहेक यसमा अर्को कुनै अभिष्ट देखिँदैन ।

२०४८ सालको निर्वाचनमा मोरङ र सुनसरीका क्षेत्रहरूमा कोइराला परिवारका उम्मेदवार जिताउन बलिउड अभिनेत्री मनिषा कोइराला आएकी थिइन् । उनलाई हेर्न मानिसहरूको घुइँचो लागेको थियो । मनिषाले आफ्ना पिता, काका र भाइ भतिजालाई जिताउन त्यसरी सहयोग गर्नु अस्वाभाविक पनि थिएन । तर उनी कहिल्यै नेपाली कांग्रेसमा प्रवेश गरिनन् । अर्थात् राजनीतिक रूपमा उनी तटस्थ नै रहिन् ।

२०४७ सालमा बहुदल आएलगत्तै पनि कलाकारहरू हाकाहाकी कुनै दलमा प्रवेश गरेको देखिएन । बरु, हरेक दलको सांस्कृतिक फाँटका कलाकारहरूले दलीय राजनीति गरे । रामेश, मन्जुल, रायन, जेबी टुहुरेलगायतका कलाकारले कम्युनिस्ट राजनीति विस्तारमा योगदान दिए, जसको मूलधार अहिलेको एमाले हो ।

त्यसैगरी जीवन शर्मा, चुनु गुरुङ आदि कलाकारले विद्रोही कम्युनिस्टको राजनीतिमा सघाए, जसको मूलधार अहिलेको माओवादी हो । नेपाली कांग्रेसमा धेरै पछि मात्र सांस्कृतिक फाँट सक्रिय भयो, जसका हर्ताकर्ता तीर्थ थापा हुन् । अन्यथा कांग्रेसले कलाकारलाई राजनीतिमा खासै उपयोग गरेको पाइँदैन । हो, अचेल निर्माता रोज राणाचाहिँ प्यूठानको कांग्रेस राजनीतिमा निकै सक्रिय छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि नीर शाह, अशोक शर्मादेखि रेखा थापासम्म माओवादी प्रवेश गरेका थिए । एक सार्वजनिक कार्यक्रममा रेखा थापा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘कि लाऊ माया मैतिर, कि लाऊ उहीतिर’मा कम्मर मर्काइमर्काइ नाचेको घटना अहिले पनि सबैको स्मरणमा हुनुपर्छ । शाह कांग्रेसमा प्रवेश गरेका छन् भने रेखा थापा अहिले राप्रपामा सक्रिय छिन् ।

ज्ञानेन्द्रको शाहीकालमा दरबारको गुनगान गाउन पछि नपर्ने गायिका कोमल वली गत निर्वाचनमा एमालेमा प्रवेश गरिन् । दाङकी चेली कोमललाई दाङकै नेता शंकर पोखरेलले पार्टीमा भित्रयाएनन् मात्र, राष्ट्रियसभामा सांसद नै बनाए ।

एमाले सांसद भएर उनले गरेको योगदान भनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ‘बाँदर’ संज्ञा दिँदै कविता बाचन गर्नु हो । तर एमालेमा कोमलको हाइहाइले सो पार्टीका धेरै इमानदार महिला नेता कार्यकर्ता रुष्ट भए ।

एमाले नेता रघुजी पन्तले त ‘तिघ्रा देखाएको भरमै हाम्रो पार्टीमा कोही सांसद बन्छन्’ भन्दै कोमल वलीको हाकाहाकी आलोचना गरे, जसलाई लिएर ठूलै रडाको मच्चियो । कोमल वली एमाले प्रवेश गरेको केही समयभित्रै सांसद बनेको देखेपछि अन्य कलाकारमा पनि राजनीतिक दल आफ्नो दुनो सोझ्याउने उपयुक्त मञ्च हुनसक्ने आशा पलायो ।

कांग्रेस, एमाले र माओवादीले केही गर्न नसकेकाले परिवर्तनका एजेण्डा सार्थक पार्न नयाँ वैकल्पिक शक्ति भन्दै गठन भएको नयाँ शक्ति पार्टीमा नायिका करिश्मा मानन्धरको धुँवाधार प्रवेश भयो । नयाँ शक्ति पार्टीको उद्घाटन समारोहको उद्घोषण नै करिश्माले गरेकी थिइन् । तर, विभिन्न कारणले डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको विस्तार हुन सकेन ।

नयाँ शक्तिमा लागेपछि नायिका करिश्माको जीवनमा भने केही सकारात्मक परिवर्तन आयो । डा. भट्टराईकै सल्लाहमा उनले आफ्नो पढाइलाई निरन्तरता दिइन् । हालै उनले प्लस टू पास गरेकी छन् ।

कुनै जमानामा नेम र फेम भएकी करिश्मालाई लाग्यो होला, एमाले पार्टीमा लागेपछि ‘ओली बा’ले कोमल ओलीलाई सांसद बनाएझै आफूलाई पनि बनाउन के बेर ?

करिश्मा पक्कै शिक्षित भइन्, तर राजनीतिमा लागेर उनमा जुन हिसाबको चेतना विकास हुनुपर्ने हो, त्योचाहिँ हुन सकेन । नयाँ शक्तिमा उनी लहलहैमा लागेको भए पनि यसबीचमा उनले राजनीतिक सिद्धान्त, विचार र दर्शनको के कति अध्ययन गरिन् त ? भन्ने प्रश्न खडा भएको छ ।

वैकल्पिक शक्तिको खाँचो महसुस गरेर नयाँ शक्तिमा प्रवेश गरेकी उनी अचेल नेकपा (एमाले) को गुणगान गाउँदै हिँडिरहेकी छन् । एमाले अध्यक्ष केपी ओली नै देशको भाग्यविधाता हो भन्दै उनले सभाहरूमा भाषण गर्दैछिन् । कहाँसम्म भने उनले आफ्नो न्वारानको नाम ‘सूर्जेकुमारी’ भएको भन्दै एमालेको चुनाव चिह्न सूर्यसँग आफ्नो नामलाई समेत एकाकार गराएकी छन् ।

करिश्माले एमाले पार्टी रोज्नुमा न त कुनै वैचारिक आधार छ, न एमाले पार्टीमा नयाँ पुस्ताले आशा गर्ने कुनै सम्भावना नै देखिन्छ । करिश्माले आफ्नै हितका खातिर एमाले रोजेको स्पष्ट देखिन्छ ।

चलचित्रमा अभिनय गर्न छाडेकी करिश्माको अचेल ‘ग्लामरस भ्यालु’ पनि खासै छैन । गौरी मल्ल या मिथिला शर्माजस्तै करिश्मा माझिएकी कलाकार पनि होइनन् । बस्, यो अधवैंशे उमेरमा पनि उनको रूपको बान्की भने सुन्दर देखिन्छ । अतः कुनै जमानामा नेम र फेम भएकी करिश्मालाई लाग्यो होला, एमाले पार्टीमा लागेपछि ‘ओली बा’ले कोमल ओलीलाई सांसद बनाएझै आफूलाई पनि बनाउन के बेर ?

कुनै पनि पार्टीका नेता या कार्यकर्तालाई सांसद पदसम्मको तहमा पुग्न धेरै समय, बलिदान र सक्रियता खर्चिनुपर्छ । पार्टीभित्रकै अनेकौं प्रतिस्पर्धीलाई उछिन्दै, शीर्ष नेताको गुटमा सामेल हुँदै र अनेक तिकडम गर्दै अब्वल साबित भएपछि मात्र कसैले सांसद या मन्त्री पद पड्काउने हो ।

एमालेभित्र अनेकौं महिला थिए, जो यो तिकडम नजानेर पाखा पारिए । भूमिगतकालदेखिका जुझारु महिलाहरू अझै अवसर नपाए पनि पार्टीको मायाले खटिइरहेकै छन् । तर यस्तोमा फुत्त आएकी कोमलले सांसद पद हत्याएपछि करिश्माजस्ता कलाकारलाई लाग्यो, सांसद बन्न त केही गर्नै नपर्ने रहेछ, एमाले प्रवेश गरिदिए पुग्ने रहेछ ।
‘कोमल पथ’ले कलाकारहरूमा राजनीतिमा लागेर स्वार्थको रोटी सेक्ने सम्भावना बढाइदियो । नेपाल प्रज्ञा प्रतिष्ठान, विभिन्न कला प्रतिष्ठानलगायत चलचित्र र कलासम्बन्धी सरकारी निकायमा नियुक्त हुन चाहने कलाकारले कुनै न कुनै राजनीतिक दलको फेर समात्नैपर्ने बाध्यता नभएको होइन । पार्टीमा संगठित कलाकारले मात्र यस्तो मौका पाउँदै आएकोमा अब चर्चित राष्ट्रिय कलाकारले पनि त्यसतर्फ आँखा सोझ्याएको देखिन्छ ।

कांग्रेस प्रवेश गरेका केसीले मौका पाए चलचित्र विकास बोर्ड हाँक्न सक्ने बताइसकेका छन् । अर्थात् उनको दाउ अब चलचित्र विकास बोर्डको अध्यक्ष पड्काउनु हो । त्यसैगरी, नीर शाहको नाम कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यका रूपमा चर्चामा ल्याइसकिएको छ ।

जतिसुकै मण्डले कित्ताको भने पनि नेपाली चलचित्र र कला क्षेत्रमा शाहको योगदान अतुलनीय छ । यस हिसाबले कला क्षेत्रबाट उनलाई कांग्रेसले राष्ट्रिय सभामा मनोनीत गर्नु पनि खासै आपत्तिजनक नहोला ।

तर यसका लागि शाहले कांग्रेसमा प्रवेश नगरेको भए पनि हुन्थ्यो । राजावादी पृष्ठभूमिका अनि राज परिवारकै सदस्यसँग नाता जोडिएका शाहले अहिले आएर आफ्नो विचार, दर्शन र पक्षधरतालाई दाउमा नराखिकनै राष्ट्रियसभामा मनोनीत हुनसक्नुपथ्र्यो ।

तर कांग्रेसले यत्तिकै किन उनलाई सांसद बनाउने ? शाहलाई सांसद बनाएर कांग्रेसलाई के फाइदा ? भन्ने प्रश्न उठेको हुनसक्छ । अतः चुनावको मुखमा शाहले मुुसुक्क हाँस्दै बालुवाटारस्थित प्रधानमन्त्री निवासमै भुवन केसी, स्वेता खडकालगायतका कलाकारसँग प्रधानमन्त्री देउवाको हातबाट पार्टी प्रवेशको टीका लगाए । आखिर पञ्चायकालदेखि गणतन्त्र कालसम्म रजगज गर्न शक्ति केन्द्रसँग निकट त हुनैपर्ने हुन्छ । सत्ताकै इर्दगिर्द रहेर कलाकारिता निखारेका शाहले नै हो, पञ्चायतको गुणगान गाइएको ‘पच्चीस वसन्त’को निर्देशन गरेको ।

ज्ञानेन्द्रसँग सेल्फी खिचाउनेहरू

नेपालमा केही कलाकार छन्, जो सदा सत्ता र शक्ति केन्द्रको नजिक रहेर लाभ लिन पछि पर्दैनन् । ज्ञानेन्द्रको शाही शासनका बेला लोकतन्त्रवादीहरूलाई हाकाहाकी सराप्ने कलाकार लोकतन्त्र स्थापनालगत्तै कांग्रेस र माओवादीमा प्रवेश गर्न हतारिएको दृश्य अझै ओझेलमा परिसकेको छैन ।

एउटा उदाहरण त निर्माता निर्देशक अशोक शर्माकै छ । ०४६ सालको जन आन्दोलनमा प्रज्ञा प्रतिष्ठानमा बहुदलको माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाइरहेका लेखक, कलाकार र पत्रकारमाथि केही मण्डलेहरूले आक्रमण गरे । त्यसको अग्रपंक्तिमा अशोक शर्मा नै थिए । बहुदल आउनासाथ तीनै शर्मा बहुदलवादी दलको दैलो चहार्न थाले । पछिल्लो कालखण्डमा शर्मा डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा थिए, अचेल कता छन्, त्यति चर्चामा छैन ।

०७८ कार्तिकमा होटल सोल्टीमा पूर्व युवराज्ञी हिमानी शाहको हिमानी ट्रष्टले आयोजना गरेको चियापान कार्यक्रममा कलाकारहरूको घुइँचो थियो । कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह थिए ।

पूर्वराजा ज्ञानेन्द्रसँग सेल्फी तथा फोटो खिच्न अग्रपंक्तिमा थिए, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, सरोज खनाल, सुष्मा कार्की, निर्मल शर्मा, दीपकराज गिरी, जितु नेपाल आदि ।

सडकमा राजावादीहरू ‘राजा आउ देश बचाउ’को नारा लगाइरहेका थिए । राजनीतिक वृत्तमा राजतन्त्र फर्किंने हल्लाले जोड पकडिरहेको थियो । पूर्व राज घरानासँग हिमचिम बढाउन कलाकारहरूको होड देख्दा राजतन्त्र फर्किहाल्ला कि भन्ने आश उनीहरूमा पनि भएको भान हुन्थ्यो ।

नयाँ सत्ताको उदय हुने संक्रमणकालमा कतिपय कलाकार यसैगरी सम्भावित सत्ताको इर्दगिर्द झुम्मिने गरेका कैयौं उदाहरण छन्, जसमा कलाकार मात्र पर्दैनन्, टाठाबाठा र लोभीपापी अन्य तप्का पनि पर्छन् ।

राजनीतिक नियुक्ति या लाभका पद पाइने लोभमै दलको छाता ओड्न कलाकारलाई सुहाउने कुरा होइन ।

चुनावको मुखमा अभिनेता भुवन केसी, स्वेता खडका र नीर शाहको कांग्रेस प्रवेशभित्रको चुरो पनि यही हो । कम्युनिस्ट विभाजित भएको बेला हुने तीनै तहको निर्वाचनमा कांग्रेस नै विजयी हुने र सत्ताको सम्भावित केन्द्र कांग्रेस नै हुने भएकाले अहिलेदेखि नै त्यहाँ आफ्नो स्पेस निर्माण गर्नु उनीहरूको अभिष्ट देखिन्छ ।

केही दिनअघिसम्म स्वागत नेपालको उन्नत लोकतान्त्रिक पार्टीमा लहसिएका भुवन केसीले यसबीचमा एमालेसँग मोलमोलाइ गरेका थिए । एमालेबाट सकारात्मक जवाफ नपाएपछि उनी कांग्रेसतिर लागेका हुन् । यो सबै तारतम्यचाहिँ प्रधानमन्त्री पत्नी आरजु राणाले मिलाएको बताइन्छ, जसको हिजोका दरबारीया र पञ्च मण्डलेहरूसँग राम्रो चिनजान छ ।

राष्ट्रिय गहना कि दलको औजार ?

आखिर कुनै पनि दलमा लागेर कलाकारले के योगदान दिन सक्छन् ? उनीहरूको भूमिका के हुन सक्छ ? यो प्रश्नचाहिँ अमूर्त छ । पार्टीकै कलाकारले त पार्टीको संगठन र दर्शन विस्तारमा कला प्रतिभाको उपयोग गर्लान् । तर राष्ट्रिय कलाकार हूँ भन्नेले चाहिँ अमूक दलमा गएर गर्ने के हो ?

अर्को प्रश्न, भुवन केसी कांग्रेसको कलाकार भएपछि अब एमाले र अन्य दलका नेता कार्यकर्ताले उनलाई आफ्नो कलाकार मान्ने कि नमान्ने ? करिश्मा मानन्धर ‘सूर्जे कुमारी’ भएपछि अब अन्य दलकाले उनलाई राष्ट्रिय कलाकार मान्ने कि नमान्ने ?

कलाकारलाई राष्ट्रका गहना भन्ने गरिन्छ । अमूक दलमा प्रवेश गरेका कलाकारलाई अब राष्ट्रिय गहना भन्ने कि दलका औजार ? भन्ने प्रश्न खडा भएको छ ।

कलाकारले गर्ने भनेको कालाकारिता हो । कलाकारले समग्र दर्शक र स्रोताको भावना र मर्मलाई आफनो सिर्जनामा समेट्ने हो । उदाहरणका लागि गायक बद्री पंगेनीले ‘मन थिएन जोगी बन्नलाई’ गाउँदा त्यसले सम्पूर्ण भुक्तभोगीको मन छोएको थियो । तर, जसै उनले ‘सई पनि एमाले’ गाए त्यसपछि उनी एमालेको दलीय गायकमा खुम्चिए । बद्रीले आफ्नो उचाइ र ओजलाई ‘बालकोटको वार्दली’मा लगेर पछारे ।

कोमल र करिश्माले पनि आफ्नो व्यापक ख्यातिलाई एमालेको साँघुरो घेरामा लगेर खुम्च्याएकै थिए । भुवन केसी र नीर शाहले पनि आफुलाई राष्ट्रिय गहनाको उचाइबाट झारेर ‘कांग्रेस कार्यकर्ता’मा ल्याएका छन् ।

हास्यकलाकार मदन कृष्ण श्रेष्ठलाई एकपटक पत्रकारले सोधे, ‘तपाईं कुन पार्टीको कलाकार ?’

मदनकृष्णले भनेछन्,‘म एमालेको कलाकार, म कांग्रेसको पनि कलाकार । म राप्रपाको पनि कलाकार, म माओवादीको पनि कलाकार । म सबैको कलाकार । म जनताको कलाकार ।’

यसै कारण मह जोडी कुनै पनि दलमा आबद्ध भएनन् । अहिले मह जोडीको जुन उचाइ छ, त्यो धेरै माथि छ । यदि मह जोडी कुनै दलमा आबद्ध भएको भए दलको कलंक उनीहरूमाथि पनि लाग्ने थियो र उनीहरूको उचाइ दलकै संकीर्ण घेरामा खुम्चिने थियो ।

भुवन केसीदेखि करिश्मा मानन्धरजस्ता कलाकार वास्तवमै नेपाली चलचित्र क्षेत्रका जीवित किम्वदन्ती हुन् । उनीहरूको ख्यातिको क्यानभासमा राजनीतिक दलहरूले स्वार्थको भद्दा चित्र कोरिदिएका छन् ।

दलमा प्रवेश गर्नासाथ उनीहरूको कद धेरै हदसम्म घटेको छ । न त उनीहरूसँग कुनै वैचारिक भिजन छ, न राजनीतिको अनुभव र ज्ञान । बस्, राजनीतिक नियुक्ति या लाभका पद पाइने लोभमै दलको छाता ओड्न कलाकारलाई सुहाउने कुरा होइन ।

ताजा अपडेट

नेपालवाच विशेष