NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

शेखर कोइरालालाई किन बोलाइयो भरतपुर ?

काठमाडौं । चितवनमा कांग्रेसबाट मेयरको उम्मेदवारमा बागी उम्मेदवार परेपछि सत्ता गठबन्धनमा सकस देखिएको छ । चुनावी तालमेल गरेर मेयर पदमा फेरि पनि माओवादीलाई दिइएपछि भरतपुरमा कांग्रेसबाटै जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएका हुन् ।

उनको उम्मेदवारी फिर्ता गराउन कांग्रेसले सबै प्रयत्न लगाए पनि सफल भइरहेको छैन । उम्मेदवारीको अन्तिम सूची सार्वजनिक भएपछि पनि पौडेललाई मनाउने अन्तिम प्रयत्न कांग्रेसले गरिरहेको छ । यसैबीच आज सत्ता गठबन्धनले भरतपुरमा संयुक्त चुनावी सभा गर्दैछन् ।

यो सभामा भाग लिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेता हिजै भरतपुर पुगेका थिए ।
भरतपुर पुगेपछि नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारी दिएका पौडेलको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका थिए । तर आफू धेरै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन अस्वीकार गरिदिएका हुन् ।

यस अघि देउवाले पनि फोनबाटै उम्मेदवारी फिर्ताको लागि आग्रह गरेका थिए । तर उनले मानेका छैनन् । भरतपुर पुगेर देउवाले उम्मेदवारी फिर्ताका लागि वातावरण बनाउन खोजे पनि पौडेलले अस्वीकार गरेका हुन् ।

उम्मेदवारी फिर्ता गराउन असहज भएपछि डा. शेखर कोइरालाको खोजी भएको छ । चितवनका सभापति राजेश्वर खनालले फोन गरेर चितवनमा आज हुने सभामा सहभागी हुन कोइरालालाई आग्रह गरेको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

‘चितवनको भरतपुरमा हिजोअस्तिदेखि नै चुनावी सभा हुने सुनेका थियौं तर हामीलाई खबर थिएन । शेखरदाको विराटनगरमा नै कार्यक्रम फिक्स भइसकेपछि चितवन जिल्ला सभापतिले बोलाउनुभएको हो’ थपलियाले भने, ‘आज बिहान मात्रै फोन आएकोले विराटनगरमा भएको पूर्व निर्धारित कार्यक्रम छोडेर चितवन जान सक्ने अवस्था रहेन ।’

नेता रामचन्द्र पौडेलले पनि जगन्नाथलाई मनाउन नसकेपछि चितवनका शेखरको खोजीको बुझिएको छ । तर चितवनमा गरिने सभाको लागि शेखर कोइरालादेखि गगन थापासम्मका नेता आउने भन्दै दुई दिन अगाडिदेखि प्रचार गरिएको थियो । तर शेखरलाई निम्ता पनि नगरिएको थपलियाले जानकारी दिए । अर्का नेता महामन्त्री गगन थापाको पनि चितवन जाने कार्यक्रम छैन । उनी २४ वैशाखमा कपिलवस्तु भने पुग्नेछन् । पहिले खबर नगरिए पनि गगनलाई पनि बाेलाएकाे बुझिएकाे छ ।

भरतपुरमामात्रै होइन देशैभर एक्लै चुनावमा लड्नु्पर्ने पक्षमा नेता कोइराला थिए । कांग्रेसले चुनावी तालमेल गरेर देशैभर समस्या आउने भन्दै केही समय अघिसम्म कोइराला पक्षधर कांग्रेस एक्लै चुनाव लड्नुपर्ने मतमा थियो । यसै अनुरुप शेखर पक्षले गठबन्धनविरोध भाषणलाई तीव्रता दिएका थिए । तर पार्टीले गठबन्धन नगरी नछोड्ने भएपछि शेखर, गगनसहितका नेताले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सार्वजनिक अपिल नै गरेका थिए ।

अरुले नसकेपछि शेखरबाट उम्मेदवारी फिर्ता गराउन सकिन्छ कि भन्ने प्रयत्नरुवरुप उनलाई चितवनका बोलाइएको बुझिएको छ । तर केही बागी उम्मेदवारलाई उनीहरूको अपिलले पनि बुझाउन सकेन । जसले भरतपुरसहितका स्थानमा कांग्रेसबाट बागी उम्मेदवारी परेको हो ।
भरतपुरमा वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल मेयरमा अघि सरेका छन् । तर वडा अध्यक्षमा भने कांग्रेसका उम्मेदवारलाई भोट हाल्न अपिल गरिरहेका छन् ।