NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एकैपटक जन्मिएका नौ वटा बच्चाको एक वर्षपछि अवस्था कस्तो छ ?

माली । गत वर्षको मे ४ मा मालीकी हलिमा सिस्सेले एकैपटक नौ सन्तानलाई जन्म दिएकी थिइन् । बच्चाहरु मोरक्कोको अस्पतालमा जन्मिएका थिए । माली सरकारले उनलाई विशेष हेरचाहका लागि त्यतिबेला मोरक्को पठाउने व्यवस्था गरेको थियो ।

२६ वर्षीया हलिमा सिसेले बुधबार आफ्नो छोराछोरीको जन्मदिन मनाइन् । हलिमा सिसेका श्रीमान् अब्दुल कादिर अर्बीले भने, ‘बच्चाहरूको स्वास्थ्य राम्रो छ ।’ मालीको सेनामा काम गरेका अर्बी भन्छन्, ‘बालबालिकाहरू अहिले घुँडा टेकेर हिँडिरहेका छन् । कुनै बस्न थालेका छन् भने केही सहारा पाए भने हिँड्न थालेका छन् ।’

छोराहरूको नाम मोहम्मद छैठौं, ओमार, इल्हादजी, बाह र छोरीहरुको नाम कादिदिया, फतौमा, हवा, अदामा र ओउमो राखिएको छ ।

यी सबै बच्चाहरू मोरक्कोको एउटै क्लिनिकको हेरचाहमा छन् । बच्चाकी आमा हलिमा सिसेको स्वास्थ्य पनि राम्रो छ । बच्चाका बुबाले भने, ‘सजिलो त छैन तर धेरै राम्रो छ, कहिलेकाँही थकाई नै लाग्छ । बच्चाहरु देख्दा र उनीहरुको स्वास्थ्य अवस्था राम्रो हुँदा खुशी लाग्छ । त्यसैले त हामी सबै कुरा बिर्सन्छौं ।’

बुबा अब्दुल कादिर अरबी आफ्नो तीन वर्षीय जेठी छोरी सौदाको साथ ६ महिनामा पहिलोपटक मोरक्को फर्केका छन् र आफ्नो परिवारलाई भेट्न पाउँदा धेरै खुसी छन् । यसरी धेरै सन्तान जन्माउने प्रसव बच्चाहरुका लागि अप्ठ्यारो मात्र नभएर आमाका लागि पनि निकै जोखिमपूर्ण हुन्छ ।

गर्भपतनलाई कानुनी मान्यता दिने देशहरूमा महिलाहरूलाई एकैपटक चारभन्दा बढी बच्चा नजन्माउन सल्लाह दिइन्छ । धेरैजसो यस्तो गर्भावस्थामा, बच्चाहरू समयभन्दा पहिले नै जन्मिन्छन् ।

समय नपुग्दै जन्मिने बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र संक्रमण हुने सम्भावना बढी हुन्छ । धेरै अवस्थामा यस्ता बालबालिकाको दिमागको विकास राम्रोसँग हुँदैन । मालीका स्वास्थ्य मन्त्री फान्टा सिबीका अनुसार सिस्सेले ३० सातामा पाँच छोरी र चार छोरा जन्माएकी हुन् ।

आइन बोर्जा क्लिनिकका मेडिकल डाइरेक्टर प्रोफेसर युसुफ अलौईले एएफपी समाचार एजेन्सीसँग ती बच्चाको तौल ५०० ग्रामदेखि १ किलोग्रामसम्म रहेको बताइन् । सिस्सेको सिजेरियन डेलिभरी भएको थियो ।

एकैपटक सबैभन्दा धेरै जीवित बच्चा जन्माएर सिस्सेले गिनिज वल्ड रेकर्डमा नाम राखेकी छन् । यसअघि सन् २००९ मा एकैसाथ आठ सन्तान जन्माउने अमेरिकाकी एक महिलाको नाम सबैभन्दा बढी सन्तान जन्माउनेमा थियो । यसअघि पनि यस्ता दुईवटा घटना बाहिर आएका थिए ।

सन् १९७१ मा अष्ट्रेलियाकी एक महिलाले ९ सन्तान र १९९९ मा इन्डोनेसियाकी एक महिलाले ९ सन्तानलाई जन्म दिएकी थिइन् तर ती बालबालिका केही दिन मात्रै बाँच्न सफल भए ।

विश्व कीर्तिमानधारी नादिया सुलेमानले ८ सन्तानलाई जन्म दिएकी थिइन्, ती अहिले १२ वर्ष पुगिसकेका छन् । उनको गर्भावस्था इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) मार्फत भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष