NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

के अब पेट्रोलियम पदार्थको मूल्य घट्ला ?

काठमाडाैं । विश्वभर कच्चा तेलको मूल्य घटाउने मागका बीच बिहीबार विश्वका ठूला निर्यातकर्ता देशहरुको बैठक बस्दैछ । तर तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लसले सहयोग गर्न खासै चासो देखाएको छैन ।

ओपेक प्लसकाे सदस्य देशमा रुस पनि छ । रूसले हरेक करिब एक करोड ब्यारेल तेल उत्पादन गर्छ ।

तेल निर्यात गर्ने २३ देशको समूहलाई ओपेक प्लस भनिन्छ ।

ओपेक प्लस राष्ट्रहरुको बैठक हरेक महिना भियनामा हुने गर्दछ । यो बैठकमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल कति दिने भन्ने निर्णय हुन्छ । यस समूहको केन्द्रमा मुख्यतया मध्य पूर्वी र अफ्रिकी देशहरूका १३ सदस्य छन् ।

यो १९६० मा एक उत्पादक संघको रूपमा गठन भएको थियो । यसको उद्देश्य विश्वभर तेलको आपूर्ति र मूल्य निर्धारण गर्नु हाे । सन् २०१६ मा तेलको मूल्य कम भएका वेला ओपेकले तेलका १० गैर उत्पादक देशहरुसँग मिलेर ओपेक प्लस गठन गर्यो ।

यी सबै देशले मिलेर विश्वको कुल कच्चा तेलको ४० प्रतिशत उत्पादन गर्छन् । ‘तेलको माग कम भएको बेला आपूर्ति घटाएर उत्पादकहरुले मूल्य उच्च राख्ने गर्छन्, ओपेक प्लसले बजारलाई सन्तुलनमा राख्न तेलको माग र आपूर्तिलाई अनुकुल बनाउँछ, ऊर्जा संस्थानका केट डुरियन भन्छन् ।

ओपेक प्लसले पनि बजारमा अतिरिक्त तेल दिएर मूल्य घटाउन सक्छ । अहिले यसको अपेक्षा तेल आयात गर्ने अमेरिका, बेलायत ठूला मुलुकले पनि गरेका छन् ।

गत वर्षको मार्चदेखि मे महिनाको बीचमा कोरोना तीव्र गतिमा फैलिरहेको बेला लकडाउन गरिएको थियो, त्यसबेला खरिदकर्ताको अभावका कारण कच्चा तेलको मूल्य ह्वात्तै घटेको थियो ।

‘महामारीका समयमा खरिदकर्ता नहुँदा भण्डार गर्नका लागि पर्याप्त ठाउँ नभएका कारण उत्पादकहरूले पैसा दिएर मानिसहरूलाई तेल बेच्ने गर्थे’ डुरियन भन्छन् । यसपछि ओपेक प्लस सदस्यहरूले मूल्य समान बनाउन दैनिक एक करोड ब्यारेल तेलको उत्पादन घटाउने सहमति गरेका थिए ।

सन् २०२१ को जुनमा कच्चा तेलको माग फेरि बढ्न थालेपछि ओपेक प्लसले विश्व बजारमा दैनिक ४ लाख ब्यारेल तेल दिएर विस्तारै आपूर्ति बढाउन थाल्यो । अहिले दैनिक २५ लाख ब्यारेल तेल आपूर्ति भइरहेको छ, जुन सन् २०२० को मार्चदेखि मे महिनाको तुलनामा कम हो ।

तर, रुसले युक्रेनमा आक्रमण गरेदेखि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुगेको थियो । जसका कारण पेट्रोल पम्पहरुमा पनि तेलको भाउमा भारी उछाल आएको छ ।

‘ओपेक प्लसले मे २०२० मा प्रति दिन १० मिलियन ब्यारेलले आपूर्ति कटौती गर्यो, यो ठूलो गिरावट थियो’ आर्गस मिडियाका प्रमुख अर्थशास्त्री डेभिड फिफ भन्छन्, ‘अब उनीहरूले सुस्त गतिमा आपूर्ति बढाउँदैछन्, जसलाई रुस युक्रेन संकटले असर गरेको देखिँदैन ।’

ओपेक प्लसले समूहको दुई ठूला सहयोगी मध्ये एक रुसको इच्छालाई पनि सम्मान गर्नुपर्छ ।

‘रुसीहरु तेलको मूल्य यो स्तरमा पुग्दा खुसी छन् । तिनीहरु मूल्य घट्दा फाइदा हुने देख्दैनन्’, क्रिस्टल इनर्जीका सीईओ क्यारोल नाखल भन्छन्, ‘ओपेकले रुससँग राम्रो सम्बन्ध राख्न चाहन्छ, यसका कारण गत वर्षका सम्झौताहरू जारी रहन्छन् र अब सेप्टेम्बरसम्म कच्चा तेलको आपूर्ति एकदमै सुस्त रूपमा बढ्नेछ ।’