NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

रुसको निशानामा युक्रेनका रेल स्टेशन, मे ९ मा विजय दिवस मनाउन सक्ने

किएभ । रुसको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा युक्रेनको रेल सेवाका ६ पावर सबस्टेसनलाई लक्षित गरेको जनाएको छ । रुसले पश्चिमी देशहरूले युक्रेनमा हतियार पठाउन यी रेल नेटवर्क प्रयोग गरिरहेको दाबी गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले मे ९ मा युक्रेन विरुद्ध पूर्ण युद्ध लड्ने भनिएका कुरामा पूर्णविराम लगाउने प्रयास गरेका छन् । सन् १९४५ को मे ९ मा रुसले नाजी जर्मनीलाई जितेको थियो ।

तर रुसले त्यस दिन मरिउपोलमा विजय दिवसको आयोजना गर्न सक्ने रिपोर्टहरु सार्वजनिक भएका छन् । युक्रेनको मिलिटरी इन्टेलिजेन्सका अनुसार सडकबाट भग्नावशेष, मारिएकाहरुको शव र विस्फोट नभएका बम वा मिसाइलहरू हटाइँदैछ ।

यसैबीच, गभर्नर पाभलोभ किरिलेन्कोले मरिउपोलबाट बसमा धेरै मानिसहरु अन्य सहरतर्फ पठाइएको बताएका छन् । तर त्यस बसमा अजोभस्टल स्टिल कारखानामा फसेका नागरिकहरु थिए वा थिएनन् भन्ने स्पष्ट छैन ।

मरिउपोलमा युक्रेनी लडाकुहरु उपस्थित रहेको यो कारखाना अन्तिम ठाउँ हो भनिएको छ । पूर्वी युक्रेनमा रुसी सेनाको दबाब जारी छ । बेलायतको रक्षा मन्त्रालयले रुसले पूर्वी डोनबास क्षेत्रको इजुम सहरमा दुईवटा सैन्य बटालियन तैनाथ गरेको जनाएको छ ।

अर्कोतर्फ, रुसको सहयोगी बेलारुसले ठूलो मात्रामा सैन्य अभ्यास गरिरहेको छ । युक्रेनको उत्तरी छिमेकी देश बेलारुसले सैन्य गाडीको परीक्षण गर्ने उद्देश्य रहेको बताउको छ । बेलारुसको सैन्य अभ्यासले युक्रेनमा थप चिन्ता उत्पन्न गरेको छ । रुसले राजधानी किएभ आक्रमण गर्दा बेलारुसबाट केही क्षेप्यास्त्र प्रहार भएको बताइएको छ ।