NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विवाह अघि महिला प्रहरीले आफ्नै ‘मंगेतर’लाई जेल हालिन्

काठमाडाैं । आसाम प्रहरीकी एक महिला नायब निरीक्षकले आफ्नै मंगेतरलाई ठगी गरेको आरोपमा पक्राउ गरेकी छन् । नौगाउँ प्रहरी चौकीमा कार्यरत सब-इन्स्पेक्टर जुनमोनी राभाले आफ्नो मंगेतर राना पोगागविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् । पोगागले आफूलाई ओएनजीसी, तेल र प्राकृतिक ग्यास आयोगमा जनसम्पर्क अधिकारी भएको झुटो दाबी गरेका थिए ।

हाल राणालाई नौगाउँ प्रहरीले दुई दिन प्रहरी हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । केही महिनाअघि पनि यी महिला सब इन्स्पेक्टरले सत्तारुढ भाजपा विधायकलाई फोनमा जवाफ फर्काएपछि उनको मिडियामा निकै चर्चा भएको थियो ।

जुनमोनी र राणाले गत वर्ष अक्टोबरमा इन्गेजमेन्ट गरेका थिए भने यो वर्ष नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए । नौगाउँ प्रहरी चौकीमा परेको उजुरीका अनुसार प्रहरी नायव निरीक्षक जुनमोनीले आफूले जीवनसाथी बनाउन लागेको व्यक्ति वास्तवमा ठग भएको इन्गेजमेन्टपछि मात्र थाहा पाइन् ।

सेताे काेटमा जुनमाेनीका मंगेतर

उजुरीअनुसार, अभियुक्त पोगागले जुनमोनीलाई पहिलो भेटमा आफू ओएनजीसीको जनसम्पर्क अधिकारीका रूपमा परिचय गराएका थिए । तर, इन्गेजमेन्टपछि जुनमोनीले आफ्ना मंगेतरमाथि शंकास्पद धेरै प्रमाण फेला पारिन् ।

यसबारे थप अनुसन्धान सुरु गर्दा उनी धेरै ठगीका घटनामा संलग्न रहेको थाहा भयो । उनले धेरैलाई जागिर दिने झूटो बहानामा करोडौं रुपैयाँ ठगी गरेको आरोप पनि लागेको छ ।

जुनमोनी माजुलीमा पोस्टिङ हुँदा गत जनवरीमा यी दुईको पहिलो भेट भएको थियो । राणा मजुलीका बासिन्दा हुन् । धेरै भेटघाटपछि दुवै प्रेममा परे र केही महिनापछि परिवारका बीच दुवैले इन्गेजमेन्ट गरे ।

आरोपी राणाको ठगीबारे जानकारी दिँदै जुनमोनीले भनिन्, ‘राणाले २५ लाख रुपैयाँ ठगी गरेका पीडित व्यक्तिले आफैं आएर राणाको सबै गल्ती बताएका थिए, यसबारे राणालाई बारम्बार सोधपुछ गर्दा सबै सत्य बाहिर आयो । उसले मलाई धोका दिएकोले सजाय भोग्नुपर्छ । म मायामा पागल भएर शोक मनाउने केटी होइन । मैले तुरुन्तै एफआरआई दर्ता गरें ।’

नौगाउँ प्रहरीले आरोपित राणाबाट धेरै कागजात र ओएनजीसीका छापहरू बरामद गरेको दाबी गरेको छ । आफ्नो हैसियत कायम राख्न राणाले व्यक्तिगत सुरक्षा अधिकृत र चालकलाई सधैं साथमा राख्ने गरेका थिए ।