NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

जनताले गराए नेतालाई तमसुक

दैलेख । जब चुनाव आउँछ उम्मेदवारले घोषणापत्रमा गाउँ–नगरको विकास गर्ने बुँदा छुटाउँदैनन्। विकासको लहरले मुहार फेर्ने बुँदा प्रत्येक दलको चुनावी घोषणापत्रमा हुन्छ। तर, व्यवहारमा कमै लागू गर्छन्। जुन कुरा नागरिकले बुझ्न थालेका छन्। सचेत बन्दैछन्। चुनाव अघि हात जोडेर चाहेको पूरा गर्ने आश्वासन दिने उम्मेदवारले विजयी भएपछि आफ्नो प्रतिबद्धता भुल्ने भएकाले दैलेखमा नागरिकले उम्मेदवारलाई ‘तमसुक’ नै गराएका छन्। दैलेखको भैरवी गाउँपालिकाका मतदाताले यो अभियान नै चलाए। भ्रष्टाचार नगर्ने, गाउँको विकासमा इमान्दारितापूर्वक भएर लाग्ने जस्ता बुँदा राखेर उम्मेदवारलाई प्रतिबद्धता जनाउन लगाएका छन्। त्यो पनि काँचो कागजमा।

भैरबी गाउँपालिका–७ की ५० वर्षीया दुर्गा मिजारको घरमा धेरै आश्वासन लिएर उम्मेदवारहरू दिनहुँ झै पुगिरहन्छन्। ‘अघिपछि कहिल्यै नआउने, सन्चो बिसन्चो नसोध्ने नेताहरू पनि चुनाव आएपछि नमस्कार गर्दै आउँछन्,’ धेरै चुनावहरू देखेकी उनी भन्छिन्, ‘यसअघि पनि उम्मेदवारले धेरै सपना देखाए तर पूरा गरेनन्।’ सोही गाउँपालिकाकी पट्टु थापाले दिनहुँ झै उम्मेदवारहरूको प्रतिबद्धता सुन्नु परेको हप्तादिन भइसक्यो। अघिपछि वास्तै नगर्ने नेताहरू मतको आशले घरमा आउने गरेको थापा बताउँछिन्। उनी भन्छिन्, ‘अब प्रतिबद्धता गरेर मात्रै चुनावमा मतदान गर्ने हो।’

मतदाता आजित भएपछि उम्मेदवार पनि तमसुकमा हस्ताक्षर गर्ने राजी भएका छन्। गाउँपालिकाका उम्मेदवारले मतदातासमक्ष नै तमसुक गरे र बोलेका लेखेका कुरा पूरा गर्ने वाचा गरे। नेकपा एमालेका तर्फबाट अध्यक्षका प्रत्यासी सर्वराज महतारा, उपाध्यक्ष पदमकुमारी बिस्ट, नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार ऐनबहादुर कठायत, एकीकृत समाजवादी पार्टीबाट अध्यक्षका प्रत्यासी जगतप्रसाद आचार्य र उन्नत लोकतन्त्र पार्टीबाट मिलन ढुंगानाले मतदातासमक्ष सम्झौता मात्र गरेका छैनन्, औंठाछाप नै लगाएका छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।