NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ३ गते
रहस्य

पुनर्जन्मको पहेली

भारतको उत्तर प्रदेशस्थित मैनपुरी जिल्ला, नगला सलेही गाउँको घटना हो । सो गाउँका प्रमोदकुमार श्रीवास्तवका १३ वर्षीय छोरा रोहित कुमारको सन् २०१३ मई ४ मा नदीमा डुबेर मृत्यु भएको थियो ।

छोराको निधन भएको आठ वर्षपछि सन् २०२१ अगष्ट १९ मा एक बालक प्रमोदकुमारलाई भेट्न उनको घरमा पुग्छन् । उनी छेउकै गाउँ नगला अमरसिंहका रामनरेस शंखवारका छोरा चन्द्रवीर हुन्छन् ।

‘म नै तपाईंको छोरा रोहित हुँ । मेरो पुनर्जन्म भएको हो,’ चन्द्रवीरले यसो भनेपछि रोहितकुमारका पिता प्रमोदकुमार छक्क पर्छन् ।

यति मात्र होइन, आफू रोहितकै पुनर्जन्म हो भन्ने चन्द्रवीरले माता, पिता र बहिनीलाई समेत चिनेको कुरा गाउँभरि फैलन्छ । प्रमोदकुमारको घरमा गाउँले भेला हुन्छन् । उनीहरूले चन्द्रवीरसँग स्व. रोहितसँग जोडिएका सन्दर्भहरू कोट्याउँछन् ।

गाउँका माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक सुभासचन्द्र यादवलाई देखेपछि चन्द्रवीरले उनको गोडा ढोग्छन् र भन्छन्, ‘प्रणाम सुभास मास्टर सा’ब ।’

अब भने गाउँलेको आश्चर्यको सीमै रहँदैन । चन्द्रवीरलाई स्व. रोहित पढ्ने स्कुलमा समेत लगिन्छ । शिक्षकले सोधेका सबै प्रश्नको उनी सही जवाफ दिन्छन् । हरेक कोणबाट चन्द्रवीर आफूलाई आठ वर्षअघि डुबेर मरेको रोहितकै पुनर्जन्म भएको साबित गर्छन् ।

‘मेरो छोरा सानैदेखि पुनर्जन्मको चर्चा गरिरहन्थ्यो । नगला सलेहीमा मेरो घर छ भनिरहन्थ्यो । हामीले तिम्रो घर यही हो भन्दा पनि मान्दैनथ्यो । मेरो आमा बुबा त्यहाँ हुनुहुन्छ भन्थ्यो,’ चन्द्रवीरका बुबा रामनरेश शंखवारले भनेका थिए ।

अहिले चन्द्रवीरको पुनर्जन्मको चर्चा भारतभरि फैलिएको छ । उनको दाबीमाथि चुनौती दिने अवस्था पनि छैन न सत्य नै ठानेर अर्को पक्षले उनलाई मृतक रोहितकै पुनर्जन्मका रूपमा अपनाउने अवस्था छ । तैपनि, पुनर्जन्मबारे अध्ययन गर्नेहरूका लागि चन्द्रवीर अर्को एउटा विषयका रूपमा प्रकट भएका छन् ।

पुनर्जन्म खासमा एउटा पूर्वीय मान्यता हो, जसमा जीवात्माको जन्म र मृत्युपछि पुनर्जन्ममा विश्वास गरिन्छ । विश्वकै प्राचीन मानिने ऋग्वेददेखि वेद, दर्शनशास्त्र, पुराण, गीता आदि ग्रन्थमा पूर्वजन्मका सन्दर्भ छन् । पुनर्जन्मको कथामा बलीउडमा थुप्रै चलचित्र बनेका छन् । नेपालमा पनि चलचित्र ‘कान्छी’मा पुनर्जन्मको सन्दर्भ छ ।

पुनर्जन्मबारे लामो समयदेखि बहस, अध्ययन र अनुसन्धान हुँदै आएको छ । प्राज्ञिक रूपमा परामनोविज्ञान विषयअन्तर्गत यसको अध्ययन भइरहेको छ । पुनर्जन्ममाथि विश्वास र अविश्वास गर्ने दुवै पक्ष उत्तिकै बलियो छ । यहुदी, इशाई र मुस्लिमहरू पुनर्जन्ममा विश्वास गर्दैनन् । हिन्दू, जैन र बौद्ध धर्मावलम्बीचाहिँ पुनर्जन्ममा विश्वास गर्छन् ।

हिन्दू धर्म अनुसार मानिसको शरीर मात्र मर्छ, आत्मा मर्दैन । बरु, आत्मा एउटा शरीर त्यागेर अर्को शरीरमा प्रवेश गर्छ । श्रीमदभागवत् गीतामा कृष्णले आत्माले शरीर रूपी पोशाक बदलिरहने जिकिर गरेका छन्, यसैलाई पुनर्जन्म भनिन्छ ।

श्रीमदभागवत् गीतामा अर्जुनलाई कर्मयोगबारे ज्ञान दिँदै कृष्ण भन्छन्,

‘इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।

विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेब्रवीत् ।।’

(भावार्थ : मैले यो अविनाशी योगविद्या सृष्टिको आरम्भमा विवस्वान (सूर्य देव)लाई दिएको थिएँ । विवस्वानले यो उपदेश आफ्ना पुत्र मनुष्यका जन्मदाता मनुलाई दिए र मनुले यो उपदेश अफ्ना पुत्र राजा इक्ष्वाकुलाई दिए । अब तिमीलाई दिँदैछु ।)

यति सुनेपछि अर्जुन आश्चर्य मान्दै सोध्छन्, ‘हे कृष्ण, तपाईंको जन्म त केही वर्षपहिले भएको हो । तर सूर्य त कैयौं वर्षदेखि छन् । सृष्टिको आरम्भमा तपाईंले सूर्यलाई कर्मयोगको ज्ञान कहिले दिनुभयो ?’

जवाफमा कृष्ण भन्छन्, ‘तिम्रो र मेरो अनेक जन्म भइसकेको छ । तिमीले बिर्सिसकेका छौं, तर मलाई सम्झना छ । पहिला पनि तिमी र म थियौं, अहिले पनि छौं र भोलि पनि हुनेछौं । त्यसैले यो बदलिइरहने पोशाक रूपी शरीरको मोहमा नपर, शस्त्र उठाऊँ ।’

हिन्दू मान्यताअनुसार, मानिस मोक्ष प्राप्त नगर्दासम्म जन्म जन्मातरको अनेकौं श्रृंखलाबाट गुज्रन्छ । ८४ लाख योनीबाट गुज्रँदै जीवात्माले जन्म र मृत्युको चक्रमा आफ्ना कर्म अनुसारको भोग गर्छ । कुनै मुुमुक्षुलाई जब विभिन्न साधनाबाट आफ्ना समग्र पूर्वजन्मका बारेमा ज्ञान हून्छ, तब जन्म र मृत्युको चक्र नै व्यर्थ लाग्छ । अनि उसमा फेरि फेरि जन्म लिएर विषय बासना भोगको चाहना रहँदैन भन्ने हिन्दू धार्मिक र अध्यात्मिक मान्यता छ ।

धार्मिक विश्वास र मान्यता आफ्नो ठाउँमा होला । केही समययता प्राज्ञिक र वैज्ञानिक रूपमा पनि पुनर्जन्मबारे शोध अनुसन्धान सुरु भएको छ । अमेरिकाको भर्जिनिया विश्वविद्यालयका वैज्ञानिक इयान स्ट्रिवेन्सनले ४० वर्ष लामो शोधपछि ‘रिइन्कार्नेशन एण्ड बायोलोजी’ लेखे, जसलाई पुनर्जन्मसम्बन्धी हालसम्मको महत्वपूर्ण पुस्तक मानिन्छ ।

त्यसैगरी भारत, बैंगलोरको ‘नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्युरो साइन्स’मा क्लिनिकल साइकोलोजिस्टका रूपमा कार्यरत डा.सतवन्त पसरियाले गरेको शोधलाई पनि महत्त्वपूर्ण मानिएको छ । डा. पसरियाले ‘क्लेम्स अफ रिइन्कार्नेशन एम्पिरिकल स्टडी अफ केसेज इन इन्डिया’ पुस्तकमा सन् १९७३ पछि भारतमा भएका पाँच सय पुनर्जन्मका घटना उल्लेख गरेका छन् । यसैगरी गीता प्रेस गोरखपुरबाट प्रकाशित ‘परलोक र पुनर्जन्म’ विषयक पुस्तकमा पनि यसबारेमा कैयौं घटना वयान गरिएको छ ।

निर्मलको पुनर्जन्म प्रकाश

सन् १९५० अप्रिलमा भारत, कोसीकला गाउँ निवासी भोलानाथ जैनका छोरा निर्मलको दादुराका कारण मृत्यु भएको थियो । अर्को वर्ष सन् १९५१ मा छत्ता नामक गाउँमा बी.एल. वाष्णेयको घरमा एक पुत्र प्रकाशको जन्म भयो । जब प्रकाश साढे चार वर्षका भए, एकदिन अचानक उनले भने, ‘म कोसीकलामा बस्छु । मेरो नाम निर्मल हो । म आफ्नो पुरानो घर जान चाहन्छु ।’

प्रकाशले कैयौं दिनसम्म यसो भनिरहे । हैरान भएपछि एकदिन काकाले प्रकाशलाई स्व. निर्मलको गाउँ कोसीकला लिएर गए । यो सन् १९५६ को प्रसंग हो । कोसीकला पुग्नासाथ प्रकाशलाई मानौं पूर्वजन्मका कुराको सम्झना हुन थाल्यो । संयोगले त्यसबेला प्रकाशको भेट आफ्ना पूर्वजन्मका कथित पिता भोलानाथसँग हुन पाएन ।

प्रकाशका परिवारजन उनले पुराना कुरा बिर्सिए हुन्थ्यो भन्ने चाहन्थे । धेरै सझाइ–बुझाइ गरेपछि प्रकाशले पुराना कुरा सम्झिन छाडे । तैपनि, उनको कथित पूर्वजन्मको स्मृति दिमागमा पूर्ण रूपमा नष्ट हुन पाएन ।

सन् १९६१ मा भोलानाथ जैनलाई प्रकाशको गाउँमा जानुपर्ने काम परेछ । जसै उनी त्यो गाउँमा गए, उनले प्रकाश नामक युवकले आफुलाई दिवंगत पुत्र निर्मलकै पुनर्जन्म हुँ भनिरहेको थाहा पाए । उनी सोझै वाष्णेय परिवारको घरमा गए । प्रकाशले तत्काल भोलानाथलाई आफ्नो पूर्वजन्मको पिताका रूपमा पहिचान गरिहाले । कहाँसम्म भने भोलानाथलाई प्रकाशले यस्ता कुरा पनि बताए, जुन उनका छोरा निर्मललाई मात्र थाहा थियो । अन्ततः उनी नै निर्मलको पुनर्जन्म भएको मानियो ।

श्रीमती चतुर्वेदीको पुनर्जन्म

पुनर्जन्मको अर्को चर्चित घटना आगराको हो । हुलाकी पी.एन. मार्गवकी एक छोरी थिइन्, जसको नाम मञ्जु थियो । मञ्जुले अढाइ वर्षको उमेरमै आफ्ना दुइटा घर भएको बताउन थालिन् । उनले ती घरका बारेमा आफ्नो परिवारलाई सविस्तार बताइन् । आगराको धुलियागञ्जस्थित एउटा विशेष भवननेरबाट हिँड्दा मञ्जु भन्ने गर्थिन्, ‘यही मेरो घर हो ।’

केही दिनसम्म त मन्जुको कुरालाई कसैले वास्ता गरेनन् । तर, धेरै नै कर गरेपछि एक दिन मन्जुलाई धुलियागन्जस्थित सोही घरमा लगियो । घरका मालिक प्रतापसिंह चतुर्वेदी थिए । मन्जुले सारा सत्य तथ्य बताइन्, जुन सोही घरका मानिसलाई मात्र थाहा थियो ।

कालान्तरमा थाहा भो, चतुर्वेदीकी काकी अर्थात फिरोजाबादस्थित चौबेका मुहल्ला निवासी विश्वेश्वरनाथ चतुर्वेदीकी पत्नीको सन् १९५२ मा मृत्यु भएको रहेछ । चतुर्वेदीकी पत्नीले नै मन्जुको रूपमा पुनर्जन्म लिएको अनुमान गरियो । मन्जुले बताएका एक एक कुराले त्यही पुष्टी गरिरहेका थिए, जसले सबैलाई चकित पारेको थियो ।

गीता र राजूलको प्रसँग

सन् १९९० मा प्रवीणचन्द्र शाहको घरमा पुत्री राजूलको जन्म भयो । राजुल जब तिन वर्षकी भइन्, तब उनले जूनागढमा आफ्नो पूर्वजन्मका बारेमा बताउन थालिन् । पूर्वजन्ममा आफ्नो नाम राजूल हैन, गीता भएको उनको दाबी थियो ।

केही समयसम्म परिवारले यसलाई सामान्य मनोगत समस्या माने । राजूलका हजूरबुबा बजुभाई शाहले जब यसबारेमा थाहा पाए, उनले अनुसन्धान सुरु गरे । के पत्तो लाग्यो भने जूनागढका गोकुलदास ठक्करकी छोरी गीताको सन् १५५९ अक्टुबरमा निधन भएको थियो । निधन हुँदा गीता मात्र अढाई वर्षकी थिइन् ।

बाजुभाइ शाह सन् १९६५ मा आफ्ना केही नातेदार र राजूललाई लिएर जूनागढ गए । त्यहाँ राजूलले आफ्ना पूर्वजन्मका कथित माता–पिता र अन्य आफन्तको पहिचान गरिन् । उनले आफनो घर र त्यो मन्दिर पनि चिनिन्, जहाँ उनी आफ्नी माताका साथ पूजा गर्न जान्थिन् ।

स्वर्णलता र विन्दियादेवी

भारत, मध्यप्रदेशको छत्रपुर जिलामा एम.एल मिश्र थिए । उनकी एउटी छोरी स्वर्णलता थिइन् । बाल्यकालदेखि नै स्वर्णलताले भन्न थालिन्, ‘मेरो असली घर कटनीमा छ र मेरा दुई छोरा छन् ।’

सुरुमा त घरकाले छोरीका कुरामा खासै ध्यान दिएनन् । तर बारम्बार एउटै रटान लगाएपछि स्वर्णलतालाई कटनी लगियो । अचम्म, त्यहाँ स्वर्णलताले आफ्ना पूर्वजन्मका दुई छोरालाई चिनिन् । अन्य मानिस, ठाउँ र वस्तुको पनि उनले पहिचान गरिन् ।

छानबिनपछि के पत्ता लाग्यो भने त्यो घरमा १८ वर्षपहिले विन्दियादेवी नाम गरेकी महिलाको हृदयघातबाट मृत्यु भएको रहेछ । स्वर्णलताले आफ्नो मृत्युपछि त्यो घरमा भएका एक एक परिवर्तनबारे जस्ताको तस्तै बताइदिइन् । अन्ततः विन्दियादेवीका परिवारले स्वर्णलतालाई छोरीको पुनर्जन्मकै रूपमा अपनाए र त्यही मान–सम्मान दिए, जुन विन्दियादेवीले पाउँथिन् ।

गोपाल र शक्तिपाल

सन् १९५६ को प्रसंग हो । दिल्लीमा बस्दै आएका गुप्ताजीको घरमा छोराको जन्म भयो । उनको नाम गोपाल राखियो । गोपाल जब ठूलो भए, उनले पूर्वजन्ममा आफ्नो नाम शक्तिपाल भएको र मथुरामा बस्ने गरेको बताउन थाले ।

‘मेरा तीन भाइ थिए, तीमध्ये एक भाइले मलाई गोली प्रहार गरेर मारेका थिए । मथुरामा सुख सञ्चारक कम्पनीको नामबाट मेरो एउटा औषधि पसल पनि थियो,’ गोपालले भने ।

गोपालले बारम्बार यही कुरा गरेपछि पिता गुप्ताजीले आफ्ना केही मित्रहरूसँग यसबारेमा बुझ्बुझारथ गरे । अन्ततः मथुराको सुख सञ्चारक कम्पनीका मालिक शक्तिपाल शर्माको उनकै भाइले गोली हानेर हत्या गरेका रहेछन् ।

दिल्लीमा एउटा केटोले आफूलाई पूर्वजन्मको शक्तिपाल दाबी गरिरहेको शक्तिपालका परिवारले थाहा पाउँछन् । शक्तिपालकी पत्नी र भाउजू दिल्ली आउँछन् । गोपालले ती दुवैलाई चिन्छन् ।

अब गोपाललाई मथुरा लगिन्छ । त्यहाँ उनले आफ्नो घर, औषधि पसल सबै हुबहु पहिचान गर्छन् । यति मात्र होइन, आफ्ना छोरा र छोरीलाई समेत चिनिहाल्छन् । शक्तिपालका छोराले त गोपालको बयानमाथि विश्वास पनि गर्छन् । गोपालले कतिपय यस्ता कुरा पनि भनेका हुन्छन्, जुन शक्तिपालका छोरालाई मात्र थाहा थियो ।

राचाले ग्राण्डको जाती स्मरण

पूर्वजन्मको स्मरण हुनुलाई अध्यात्म दर्शनमा जाती स्मरण भनिन्छ । योचाहिँ अमेरिकाको न्युयोर्कमा बस्दै आएकी क्युबाकी २६ वर्षीया राचाले ग्राण्डमाथिको घटना हो । उनलाई आफू पूर्वजन्ममा एक नर्तकी भएको अलौकिक अनुभूति हुन्थ्यो । उनलाई आफ्नो पूर्वजन्मको नामको पनि स्मृति थियो ।

खोजबिनका क्रममा पत्ता लाग्यो, स्पेनमा ६० वर्षपहिले राचालेले बयान गरे अनुसारकै एक नर्तकी थिइन् । राचालेले आफू वर्तमान जन्ममा पनि जन्मजात नर्तकी भएको बताएकी थिइन् । आश्चर्य त के भने उनले बिना कुनै प्रशिक्षण सानैदेखि हाउभाउयुक्त नृत्य गर्न सिकिसकेकी थिइन् । अनुसन्धानकर्ताले अनुमान गरे, पक्कै पूर्वजन्मको नृत्य कला पुनर्जन्ममा राचालेसँगै आयो ।

अमेरिकाकै अर्को घटनामा रोजनबर्ग नाम गरेकी महिला बारम्बार ‘जैन’ शब्द उच्चारण गथिन् । यसको अर्थ न त रोजनबर्गलाई थाहा थियो, न उनका वरिपरिका मानिसलाई । उनी आगोसँग पनि निकै डराउँथिन् । हुन पनि, जन्मँदा नै उनका औंलाहरू देख्दा अन्य मानिसलाई लाग्थ्यो, ती कुनै दिन आगोले जलेका हुन् ।

एकपटक जैन धर्मसम्बन्धी एक गोष्ठीमा रोजनबर्ग पनि सहभागी थिइन् । अचानक उनलाई आफ्नो पूर्वजन्मका हरेक क्षणको स्मरण हुन थाल्यो । जसअनुसार, उनी पूर्वजन्ममा भारतको एक जैन मन्दिरमा बस्थिन् र आगलागीको आकस्मिक घटनामा उनको निधन भएको थियो ।

जापानको अनौठो घटना

जापानजस्तो बुद्ध धर्म मान्नेहरूको देशमा पुनर्जन्ममा विश्वास गर्ने गरिन्छ । सन् १८१५ मा जापानका नकावो मुरा नामक गाउँमा एक किसानको घरमा एक पुत्रको जन्म भयो, जसको नाम कटसूगरो राखियो ।

कटसगूरो जब सात वर्षका भए, उनले पूर्वजन्ममा आफ्नो नाम टोजो, पिताको क्यूबी, बहनीको फूसा र आमाको नाम शिड्जू भएको बाताए । पूर्वजन्ममा ६ वर्षको उमेरमा आफनो मृत्यु विफरबाट भएको उनको जिकिर थियो ।

कटसगूरो आफ्ना कथित पूर्वजन्मका पितालाई भेट्न होडोकूबो भन्ने ठाउँमा जान चाहन्थे । नातिको यस्तो चाहना बुझेपछि हजुरआमाले उनलाई होडोकूबो लगिन् । त्यहाँ पुगेपछि उनले एउटा घरतर्फ इशारा गर्दै भने, ‘पूर्वजन्ममा यही नै मेरो घर थियो ।’

सोधपुछका क्रममा कटसगूरोको दाबी सही साबित भयो । उनले पूर्वजन्ममा हुँदा आफ्नो घर वरिपरि सुर्तीको दुकान नभएको पनि बताएका थिए, जुन सही ठहरियो । अन्ततः सबै सहमत भए, कटसगूरो नै पूर्वजन्ममा टोजो थिए ।

थाइल्याण्ड र चीनको कनेक्सन

थाइल्याण्डमा स्यामा नामक ठाउँमा बस्ने एक युवतीको पूर्वजन्म स्मरणको वर्णन पनि कम रोचक छैन । एक दिन ती युवतीले परिवारसँग भनिन्, ‘मेरा पूर्वजन्मका आमा–बुबा चीनमा छन् । म उनीहरूकहाँ जान चाहन्छु ।’

ती थाई युवतीलाई चिनियाँ भाषाको राम्रो ज्ञान थियो । पूर्वजन्मकी कथित आमालाई जब यो कुरा थाहा भयो, उनी ती युवतीलाई भेट्न थाइल्याण्ड आइन् । युवतीले पूर्वजन्मकी आमालाई चिनिहालिन् ।

केही दिनपछि युवतीलाई चीनका ती स्थानमा लगियो, जहाँ उनी पूर्वजन्ममा जन्मे हुर्केकी थिइन् । उनले ती हरेक क्षेत्र ठम्याइन् । पूर्वजन्मका बारेमा सोधिएका हरेक प्रश्नको उनले ठीकठीक उत्तर पनि दिइन् । उनले पूर्वजन्मका आप्mना पितालाई पनि चिनिन् । अर्थात् ती युवतीलाई पूर्वजन्मको सम्पूर्ण कुराहरूको स्मरण भएको मानियो ।

रुबी कुसुमाको कथा

सन् १९६३ मा श्रीलंकाको बाटापोला गाउँमा रुबी कुसुमा नामक बालिकाको जन्म भयो । उनका पिताको नाम सीमन सिल्वा थियो । रुबीको जब वाक्य फुट्यो, त्यसपछि उनले आफ्नो पूर्वजन्मको बारेमा बताउन थालिन् ।

रुबीले कुसुमाले पूर्वजन्ममा आफू एक युवक भएको र आफ्नो पुरानो घर त्यहाँबाट चार माइल टाढा अलूथवाला गाउँमा रहेको बताइन् । उनले भनिन्, ‘मेरो घर निकै ठूलो छ । पूर्वजन्ममा म केटा थिएँ र मेरो मृत्यु कुवामा डुबेर भएको थियो ।’

रुबीका पहिलेका माता पितालाई खोज्न कुनै समस्या थिएन । परिवारले रुबीलाई अलूथवाला गाउँमा लगे । त्यहाँ पुगेपछि रुबीले पूर्वजन्मका पितालाई चिनिन् । पिताका अनुसार उनका छोरा करुणसेना सन् १९५६ मा मारिएका थिए । रुबीले भनेझैं करुणसेनाको मृत्यु कुवामै डुबेर भएको थियो । यस्तै अन्य तथ्यहरू पनि रुबीले सत्य बताएकी थिइन् । यसर्थ करुणसेनाले नै रुबीका रूपमा पुनर्जन्म लिएको मानियो ।

मार्टी मार्टिनको पुनर्जन्म

अमेरिकाको भर्जिनिया विश्वविद्यालयका मनोचिकित्सक एवं न्युरोविहेविएरल विज्ञानका सहयोगी प्राध्यापक डा. जिम टकरले एक दशकदेखि बालबालिकाका त्यस्ता केसहरूको अध्ययन गरेका छन्, जसमा २ देखि ६ वर्ष उमेरबीचका बालबालिकाले पूर्वजन्मको स्मरणको दाबी गरेका छन् ।

आफ्नो पुस्तक ‘रिर्टन टू लाइफ’मा टकरले बितेका केही वर्षमा आफूले अध्ययन गरेका करिब २५ सय पुनर्जन्मका घटनामध्ये केहीको विवरण दिएका छन् । तीमध्ये र्यान नामक मिडवेस्टका एक बालकको प्रसंग पनि छ, जसले दाबी गरेका छन् कि उनी ५० वर्षअघि मरिसकेका थिए ।

र्यानले १० वर्षको उमेरमै सपनामा देखेका कुरा आफ्ना मातापितालाई बताएका थिए । उनी हलिउड जान चाहन्थे । मातापिताले जब र्यानलाई हलिउड पु¥याए, तब उनले एउटा तस्बिरतर्फ इशारा गरे । त्यसमा हलिउडका कुनैबेलाका एजेन्ट मार्ट मार्टिन कुनै चलचित्रको पोस्टरमा देखिन्थे ।

र्यानले मार्ट मार्टिनका ती सबै पक्षका बारेमा मानिसलाई बताए, जसका बारेमा मार्ट मार्टिन र उनका परिवारलाई मात्र थाहा थियो । मार्टिनका परिवारले पनि र्यानले भनेका सबै कुरा सत्य भएको स्वीकारे ।

मार्टी मार्टिनको जन्म सन् १९०३ मा फिलाडेल्फियामा भएको थियो । मार्टीका बहिनीहरू थिए । पूर्वजन्मकी आमाको कपाल घुम्रिएको थियो । न्युयोर्कमा नृत्य गर्थे । यी सबै कुरा र्यानले बताए, जुन सही साबित भयो । हुन पनि मार्टी र उनकी एउटी बहिनी नर्तकी बन्न न्युयोर्क गएका थिए । बहिनी त्यहाँकी प्रख्यात नृत्यांगना बनिन् । यो सबै हुबहु बताएकाले र्यानलाई मार्टी मार्टिनकै पुनर्जन्म मानियो ।

जनम जनमको नाता

भारतकी शान्तिदेवीको पुनर्जन्मको कथा पनि चर्चित छ । उनले चार वर्षको उमेरमै आफ्नो पूर्वजन्मको पतिका बारेमा बताएकी थिइन् । आफ्नो पहिलेको घर मथुरा भएको उनको जिकिर थियो, तर सुरुमा कसैले पत्याएनन् । चार वर्षकी बालिकाको कुरा सहजै पत्याउन सकिँदैनथ्यो ।

६ वर्षको उमेरमा शान्तिदेवी आफ्नो घरबाट भागेकी थिइन्, तर त्यो उमेरमा दिल्लीबाट मथुरा जान उनलाई सम्भव थिएन । त्यसैले घर फर्किइन् । जब शान्तिदेवी स्कुल जान्थिन्, उनी आफ्ना शिक्षकहरूलाई आफ्नो पूर्वजन्मको पतिका बारेमा बताउने गर्थिन् । उनले भनिन्, ‘मथुरामा एक पसले छन्, जसको नाम केदारनाथ हो । उनी मेरा पति हुन् ।’

नभन्दै एक दिन एकजना शिक्षकले शान्तिदेवीलाई मथुरा लगे । उनले भनेकै ठेगानामा गएर बुझ्दा केदारनाथ नाम गरेका व्यक्ति र उनको पसल पनि भएको पत्तो लाग्यो । केदारनाथ आफ्ना सन्तानसँग जीवन बिताइरहेका रहेछन् ।

केही समयपछि केदारनाथलाई पनि शान्तिदेवीका बारेमा थाहा भयो । उनी शान्तिदेवीलाई भेट्न मथुराबाट दिल्ली हान्निए । केदारनाथ र शान्तिदेवीबीच कुराकानी भयो । जब दुवैले आफ्नो कुरा अन्य मानिससामु राखे, सबै आश्चर्यचकित भए । केदारनाथकी पत्नीकै जन्म शान्तिदेवीका रूपमा भएकोमा सबै विश्वस्त भए ।

(विभिन्न एजेन्सीहरूमा आधारित)

ताजा अपडेट

नेपालवाच विशेष