NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

श्रीलंकामा पुनः संकटकाल लागू

कोलम्बो । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा फेरि एकपटक संकटकाल लगाइएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले मध्यरातबाट संकटकाल लागू हुने गरी घोषणा गरेका छन् । यो आदेश मे ६ गते रातिदेखि लागू भएको हो ।

राष्ट्रपति राजपाक्षेले मे ६ मा बसेको मन्त्रिपरिषद्को विशेष बैठकपछि यस्तो निर्णय गरेका हुन् । यसअघि राष्ट्रपतिले अप्रिल २ मा पनि संकटकाल लगाएका थिए, जुन अप्रिल ५ मा हटाइएको थियो ।

राष्ट्रपतिले तीनवटा विषयमा केन्द्रित भएर संकटकाल लगाउने निर्णय गरेको प्रेसिडेन्टियल मिडिया युनिटले जनाएको छ । जसमा देशको अस्तित्व जोगाउन, सार्वजनिक जीवनका लागि आवश्यक आपूर्ति र सेवाहरू कायम राख्ने, सार्वजनिक सुरक्षाको प्रत्याभूत गर्ने लगायतका विषय मुख्य छन् । आपतकालीन नियमहरूको पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन, तर यो यथावत रहने सम्भावना छ ।

श्रीलंका गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ र यहाँका मानिसहरूले औषधिदेखि दैनिक उपभोग्य वस्तुहरू किन्न कठिनाइको सामना गरिरहेका छन् । श्रीलंकाले अन्य देशबाट खाद्यान्न, इन्धन र औषधि ल्याइरहेको भए पनि त्यो पर्याप्त छैन ।

जनता सडकमा आएर राष्ट्रपतिविरुद्ध लगातार प्रदर्शन गरिरहेका छन् । उनीहरुले सरकारको राजीनामा मागिरहेका छन् । यसैबीच, एक महिना लामो समयदेखि जारी आन्दोलनले कहिलेकाहीँ हिंसात्मक रुप लिएको छ ।

संकटकाल लागू गर्ने निर्णय हुनुभन्दा एक दिनअघि कोलम्बोमा संसद भवनबाहिर प्रदर्शन गरिरहेका मानिसहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले शुक्रबार देशव्यापी बन्दको आह्वान पनि गरेका थिए ।

यसअघि पनि संकटकाल लागू गर्दा राष्ट्रपति गोटाबाया राजापाक्षेले सडक, पार्क, रेल, समुद्र तटजस्ता सार्वजनिक स्थानमा बाहिर निस्कन प्रतिबन्ध लगाउने सूचना जारी गरेका थिए ।

यसैबीच, कोलम्बोमा क्यानडाका राजदूतले संकटकाल लगाएको विषयमा प्रश्न उठाएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘पछिल्ला केही हप्तामा देशको लोकतन्त्रको सम्मान गर्दै ठूलो संख्यामा मानिसहरु शान्तिपूर्ण विरोध प्रदर्शनमा सामेल भएका छन्, तर किन संकटकालको घोषणा गर्नु परेको हो बुझ्न गाह्रो छ।’