NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भाेजमा खाना बनाउन बाेलाएर साथीको हत्या गर्ने पक्राउ

सप्तरी । भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले शनिबार पत्रकार सम्मेलन गरी पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो । निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको हो ।

मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका-५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते हत्या गरेको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गरिएको थियो ।

महतोको शव सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा हत्याको भोलिपल्ट फेला परेको थियो ।

शव फेला परेपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौति दिएका थिए । पक्रन प्रहरी सक्रिय भएपछि उनी फरार भई भारतको विहारमा लुकेर बस्दै आएका थिए ।

आरोपित मियाँ यसअघि विसं २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका–७ बाट एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित पक्राउ परेका थिए । तत्काल पुर्पक्षका लागि कारागार चलान भएका उनी जरिवानापश्चात नौ महिनापछि रिहा भएका थिए ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रनाउ काफ्लेका अनुसार मियाँ अवैध लागुऔषध व्यापार गर्ने, लुकाइछिपाइ हतियार बोकी हिँड्ने र जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्ने आपराधिक समूहका व्यक्ति हुन् ।