NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

युक्रेन युद्धपछि रुसी नागरिकहरु किन दुबई जाँदै छन् ?

काठमाडौं । युक्रेन युद्धपछि रुसमाथिको आर्थिक प्रतिबन्धको सामना गरिरहेका रुसी अर्बपतिहरूको लागि दुबई स्वर्गको रूपमा उभिएको छ । रुसी अर्बपति र उद्यमीहरू संयुक्त अरब इमिरेट्समा ठूलो संख्यामा आइपुगेको व्यवसायिक व्यक्तित्वहरूले बताएका छन् ।

सन् २०२२ को पहिलो त्रैमासिकमा दुबईमा रुसी अर्बपतिहरूले सम्पत्ति खरिद गर्ने दरमा ६७ प्रतिशतले वृद्धि भएको एक प्रतिवेदनले देखाएको छ । युक्रेनमा भएको आक्रमणको लागि दुबईले रुसको निन्दा गरेको छैन र रुसमाथि कुनै प्रतिबन्ध पनि लगाएको छैन । एक अनुमानअनुसार पछिल्ला दुई महिनामा लाखौं मानिसले रुस छोडेका छन् । तर, यस सम्बन्धमा यकिन तथ्यांक भने उपलब्ध छैन ।

एक रुसी अर्थशास्त्रीले युद्ध सुरु भएको पहिलो १० दिनमा करिब २ लाख रुसीले देश छोडेको जानकारी दिएका छन् । दुबईमा आएका र आफ्नो गतिविधि सुरु गर्ने प्रक्रियामा रहेका कम्पनीहरूलाई सेवा उपलब्ध गराउने कम्पनी भेर्चुजोनले पछिल्ला केही दिनहरूमा ठूलो मात्रामा रूसी ग्राहकहरू पाएको छ ।

‘हामीले युद्ध सुरु भएदेखि नै रूसी नागरिकहरूबाट पाँच गुणा बढी सोधपुछ पाइरहेका छौं’ भेर्चुजोनका प्रमुख कार्यकारी अधिकृत जर्ज होजेइज भन्छन् ।

होजेइगे भन्छन्, ‘उनीहरू आगामी दिनमा देखिने आर्थिक मन्दीबाट चिन्तित छन्, त्यसैले तिनीहरू आफ्नो सम्पत्ति सुरक्षित गर्न यहाँ आउँदैछन् ।’ रुसी नागरिक जान थालेपछि दुबईमा विलासी बंगला र फ्ल्याटको माग बढेको छ । घरजग्गा एजेन्टहरूका अनुसार रुसीहरू घर खोज्दै दुबई आउने गरेका कारण घरजग्गाको मूल्य ह्वात्तै बढेको छ ।

दुबईस्थित रियल इस्टेट एजेन्सी बेटरहोम्सका अनुसार २०२२ को पहिलो त्रैमासिकमा रुसीहरूले सम्पत्ति खरिद गरेको कारण सम्पत्तिको मूल्य दुई तिहाइले बढेको छ । अर्को घरजग्गा एजेन्ट मोडर्न लिभिङले बढ्दो माग पूरा गर्न रुसी भाषा बोल्ने एजेन्टहरू राखेको छ ।

मुख्य कार्यकारी अधिकारी थियागो केल्डासले तुरुन्तै दुबई जान चाहने रूसी नागरिकहरूबाट धेरै फोनहरू आइरहेको बताउँछन् । ‘दुबई आउने मानिसहरूले लगानीका लागि मात्रै सम्पत्तिहरू किनिरहेका छैनन् । तिनीहरू दुबईलाई आफ्नो दोस्रो गन्तव्य बनाउन खोजिरहेका छन्’ उनी भन्छन् ।