NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ३ गते
विचार

आकाशको चिल, उम्लेको पानी र न्युटनले देखेको स्याउ

काठमाडौं । मानव सभ्यता र विकास विचार अनि सोचको परिणाम हो । जंगली अवस्थामा रहेका अन्य प्राणी किन मानिसको स्थानमा आउन सकेनन् भन्दा यसको एक मात्र जवाफ हुन्छ– मानिससँग विचार र विवेक छ । यही विचार र विवेकको परिणाम नै मानिस सभ्यता र सुखको स्वाद लिइरहेको छ । सबैमा विचार शक्तिको सम्भावना लुकेको छ । तर सबै मानिस त्यसलाई बाहिर ल्याउन सक्दैनन् । शिक्षाजस्ता चेतना र सीप विकास कार्यले विचार निर्माण गर्न र त्यसलाई मानवीय समृद्धिमा लगाउन सिकाउँछ ।

यसो भन्दैमा सबै मानिस समान हुँदैनन् । अझ यसो भनौं, सबै मानिस समान भए पनि केही मानिसचाहिँ ‘भिन्न’ हुन्छन् र त्यही भिन्नताले सिर्जना गरेको परिणाममा आज देखिएको यावत् प्रगति सम्भव भएको हो । प्रकृतिले ‘धेरै भिन्न’ थोरै व्यक्तिलाई मात्र जन्म दिन्छ र त्यसले आफ्ना लागि होइन, समस्त मानव समाजका लागि ‘भिन्न इतिहास’ बनाउने गर्दछ । ‘धेरै समानहरू’ उपभोक्ता र ‘थोरै भिन्न’चाहिँ सर्जक वा उत्पादक बन्ने गर्दछन् ।

धेरै परको नगरी आधुनिक इतिहासको मात्र कुरा गरौं । जेम्स वाट, थोमस अडिसन, मार्कोनीलगायतका अन्वेषक, सर्जक जे भनौं उनीहरूले नै मानव विकासको इञ्जिन बनाएका हुन् । समयलाई खुम्च्याउन, स्थान र समयको दूरी घटाउन, यात्रा र उत्पादन सरल बनाउन, लागत घटाउन ‘थोरै भिन्नहरू’ ले आफ्नो दिमागलाई निकै खियाएका छन् । सबैको दिमाग भए पनि विचार र कल्पनालाई खियाउन सक्ने थोरै मात्र हुन्छन् । आफैंमाथि विचारको क्रान्ति वा असीम तर्कको आन्दोलन गर्न नसक्ने मानिस वास्तविक रूपमा सर्जक बन्दैन, सर्जकको उपभोक्ता मात्र बन्ने गर्दछ । सानो उत्सुकता, असहमति र तर्कले ती भिन्नहरूले सिर्जना र आविस्कार गरेका हुन् । उम्लेको पानीको वाफले बिर्को किन धकेलेको होला भन्ने चिन्तनलाई निरन्तरता दिएर नै शक्तिशाली इञ्जिन बन्न सक्यो । कति सामान्य तर्क हो, ‘वाफले पानीको भाँडो धकेल्छ भने त्यसलाई अरू सामान धकेल्न प्रयोग गर्न किन नसकिने ?’ यो तर्क स्वाभाविक थियो ।

अन्वेषण र सिर्जनाका थुप्रै क्षेत्र वाँकी छन्, मात्रै घोत्लिएर हेर्न आवश्यक छ

जेम्स वाटभन्दा पहिला पनि पानी उम्लेकै थियो । न्युटनभन्दा अघि पनि स्याउ झेरकै थियो । विल्वर र ओर्भिल दाजुभाइभन्दा अघि पनि आकाशमा चिल उडेकै थियो आदि आदि । एउटै थोमस एडिसनले बत्तीको बल्व, फोनोग्राफ, मोसन पिक्चरलगायत दर्जनौं आविस्कार र विकास मानव समाजलाई दिएको छ ।

जो जसले जे–जति आविस्कार र सिर्जना गरे त्यो निकै सानो विषयमा एकाग्र चिन्तनको परिणाम हो । एकाग्र चिन्तन नगर्ने चिन्तक स्वैरकल्पना मात्र गर्छ, एकाग्र चिन्तन गर्नेले मात्र आविस्कार र सिर्जना गर्छ । हामीले बोलेको बोली, गाएको गीत कसरी कैद गर्ने होला भन्ने चिन्तनले नै विभिन्न खाले रेकर्डिङ् प्रविधिको विकास भयो, छिटो कसरी पुग्ने होला भन्ने सोचले हवाईजहाजको प्रविधि बनायो । बोली, चित्र, अभिलेख प्रशोधन र स्थानान्तरण कसरी गर्ने होला भन्ने सोचले कम्प्युटर, आइफोन आदि सिर्जना गर्‍यो । विचार र प्रविधिको क्रान्ति गर्ने केही सय चिन्तकहरूले आफैंमाथि गरेको प्रश्न, राखेको असहमति र निरन्तरको प्रयत्नले मानव पुस्ता हिजोभन्दा आज र आजभन्दा भोलि सुखी बन्दैछ । स्टिभ जब्स, मार्कोनी, एडिसनबाट आदि ईश्वरभन्दा ठूला भए मानव सभ्यताका लागि । ईश्वर आस्था हो, विज्ञानले त्योभन्दा पर परिणाम नै दियो । जहाजहरू नभएको भए के हुने थियो होला ? इञ्जिन र विद्युत् शक्ति पत्ता नलागेको भए जीवन कसरी चल्थ्योे होला ? टेलिफोन, टेलिभिजन नभएको भए के हुने थियो होला ? के अहिलेको पुस्ता स्मार्ट फोन र आइप्याड, फेसबुक र अन्य सञ्चार प्रविधि नभएको समाज कल्पनासम्म गर्न चाहन्छ ? एक्काईसौं शताब्दीमा आइपुग्दा मानव पुस्ता कति सुखी भएको छ । अब काठमाडौंमा बस्ने एउटी आमा सात समुद्र पारि अमेरिका पढ्न गएका आफ्ना बच्चासँग निमेषमा सदृश्य कुरा गर्छिन, दिउँसोभरि काठमाडौंमा काम गर्ने व्यक्ति झुल्के घाममा युरोपको वार्ता गरिरहेको हुन्छ । बर्लिनको व्यापारी बानेश्वरको वस्तु बेचिरहेको छ । कर्नाटकबाट कुनै विज्ञ न्युयोर्कको कम्प्युटर मर्मत गरिरहेको छ । समय, पैसा, दूरी सबै खुम्चिएर मानिसलाई सुखको उपभोक्ता बनाएको छ । तैपनि सबै हतारमा छन् । रेडियो एङ्गलले मानिसको जोखिम घटाएको छ । अब त रोवोट पो थ्रिडी काम गर्न थाल्ने भो । दुई शताब्दीअघिका जिजुहजुरबुवाहरू धरातलमा आए देख्ने थिए उनीहरूका सन्तानको सुख सयल वा सराप्ने थिए प्रकृतिमाथि नै चुनौती दियो भनेर । हो, उनीहरू कति दुःखी थिए, यो पुस्ताले पनि सुख खोज्न धेरै वाँकी छ ।

केही पुरानो कुरा छाड्ने हो भने यस पुस्ताले ईश्वरकै रूपमा इमेलका शिव अयादुराई, एप्पलका स्टिभ जब्स, गुगलका ल्यारी पेज र सर्जी वेन, माइक्रोसफ्टका पाउल एलेन र विल गेट्स, फेसबुकका जुकरवर्ग आदिलाई चिन्छ । नचिनोस् पनि किन ? यस पुस्तालाई ‘जेनेरेशन नेक्स्ट’ उनीहरूले नै बनाएका हुन् । हत्केलामा एप्स खेलेर निमेषमा विश्व घुम्न उनीहरूले नै सम्भव बनाए । गोलाद्र्धका कुनाहरू एक आपसमा जोरिएका छन् । भौतिक दूरीको अवरोध गल्र्याम्म भत्किएर ज्ञान, व्यवसाय, सहभागिता, सम्बन्धका अवसरहरू खुला भएका छन् ।

जेम्स वाटभन्दा पहिला पनि पानी उम्लेकै थियो । न्युटनभन्दा अघि पनि स्याउ झेरकै थियो । विल्वर र ओर्भिल दाजुभाइभन्दा अघि पनि आकाशमा चिल उडेकै थियो

सन् १९४८ मा जर्ज अर्बेलले आफ्नो साहित्य ‘१९८४’ (नाइनटीन एट्टी फोर (१९४८) मा रहेको ४ र ८ लाई उल्टोपाल्टो बनाएर ३६ वर्षपछि के होला भनी गरेको कल्पना त्योभन्दा निकै अघि पूरा भयो । टायम मेसिन मात्र बनाउन बाँकी छ । भगवान प्रकाशले एक्काइसौं शताव्दीमा के होला भन्ने कल्पनाभन्दा माथि उपलब्धि हात परिसक्यो । साठीको दशकमा राष्ट्रपति केनेडीले दश वर्षभित्र चन्द्रमामा अमेरिकी पाइला राख्न गरेको आग्रह वैज्ञानिकहरूले समय सीमाभन्दा निकै अघि सफल बनाइदिए । ईश्वर कहलिएका सबै अन्वेषकहरू युवा अवस्थामा नै अन्वेषण गर्न सफल भए । तर धेरै सामानहरू उनीहरूका सिर्जनालाई उपभोग गर्न पनि जानिरहेका छैनन् । त्यसो भनेर कोही निराश हुनु पर्दैन, ती सर्जकहरूले पनि आफ्नो दिमागको निकै सानो अंश प्रयोगमा ल्याएका हुन् । मानव मस्तिष्क ऊर्जा (विचार) को अजस्र स्रोत हो । दिमागको सबै अंश प्रयोग गर्न ‘सकेको र पाएको भए’ भन्ने चिन्ता सबै सर्जकमा छ । यसका लागि हाम्रो जीवन निकै छाटो पनि छ । कतै मानिसको आयु तन्काउने प्रविधि कसैले सिर्जना गर्ने पो हो कि ? के असम्भव, जीव रसायनशास्त्रीका मस्तिष्कमा विचारको ज्वारभाटा आइसकेको छ ।

अहिले विश्व ऊर्जा संकटतर्फ धकेलिएको छ । ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यबाट पृथ्वीमा पोखिने किरण (घाम) हो भन्नेबारेमा धेरैपछि मात्र थाहा भयो । तर सूर्यको किरण पृथ्वीमा पोखिएको कहिलेदेखि हो कहिलेदेखि । हाम्रै घर मजेरीमा पोखिएको घाम कति खेर गइरहेको छ, कसैले चिन्ता पनि लिएन । हालैका दिनमा त्यसलाई विद्युतीय उर्जामा बदल्ने, सञ्चय गर्ने र उपयोग गर्ने विषयमा अफ्रिकामा जन्मेका क्यानेडियन–अमेरिकन युवा इलोन मस्कले निकै ठूलो सफलता हात पारेका छन् । उनी अघिल्ला विचारकभन्दा माथि उठेर अन्वेषण, विकास, प्रदर्शन र व्यापारिक उत्पादन पनि आफैं गर्न तम्सिएका छन् । खनिज उर्जाको स्रोत सीमित भएकाले त्यसको विकल्पमा भरपर्दो आशाका रूपमा इलोन मस्क देखिएका छन् । उनका प्राविधिक क्रान्ति पे पाल हुँदै टेस्ला मोटर (विद्युतीय मोटर), स्पेश एक्स र सोलर सिटीमा पुगेको छ । समकालीन विश्वलाई केही व्यक्तिको वैचारिक र प्राविधिक उछालले धकेलेको छ भने इलोन मस्क एक अग्रणी हुन् । उनी ब्याट्रीमा विद्युत् सञ्चय गर्न, खनिज इन्धनबिना व्यापारिक रूपमा मोटर चलाउन र मंगल ग्रहमा व्यापारिक यात्रा सम्भव गराउन लागिपरेका छन् । अति छिटो यात्रा गर्ने हाइपरलुप र भिटोल सुपरसोनिक जेट उनको प्रयासमा छ । उनका उत्पादनहरू शून्य उत्सर्जनमा रहने भएकाले पनि विश्वका आँखा उनीतिर सोझिएको छ । विचारलाई व्यवहारमा ल्याउने उनी अनुपम उदाहरण हुन् । उनीजस्ता छलाङ मार्ने विचारक र प्राविधिक खोजकर्ता (डिस्रप्टिभ थिङ्कर) ले मौजुदा प्रणाली वा संस्थापनसँग सधैं असहमति राख्छ ।

आउँदा दिनहरू यस्तै ‘डिस्रप्टिभ थिङ्क’ मा पुग्नुपर्छ, ‘डिस्ट«िक्टभ थिङ्क’ मा होइन । अन्वेषण र सिर्जनाका थुप्रै क्षेत्र वाँकी छन्, घोत्लिएर हेर्नु मात्र आवश्यक छ । तर भुल्न भएन, सिर्जनाको आधार सकारात्मक सोच हो, सकारात्मक सोच मानिसको कत्र्तव्य पनि हो र त्यसले भावी पुस्ताका लागि नयाँ प्रणाली हस्तान्तरण गर्छ, जीवनलाई रूपान्तरणमा लैजान्छ । मोबाइल इन्टरनेट, नवीरकणीय ऊर्जा, एड्भान्स रोवाोटिक्स, स्वचालित सवारी साधन, जेनोमिक्स, विद्युत् सञ्चय यन्त्र, थ्रिडी प्रिन्टिङलगायतका विकास छलाङ मार्ने खालका प्रविधि तर्क र विचारका उत्पादन हुन्, जसले मानव जीवनलाई सुखी, समृद्ध र सहज बनायो । तर कुनै बहानामा विचार र स्तुतिको खेतीमा अरू लाई कसैले नबरालोस्, त्योचाहिँ अपराध हो ।

(पूर्वसचिव मैनाली नेपालवाचका स्तम्भकार हुन् । उनलाई ट्विटर ह्याण्डल @mainaligopi भेट्न सकिन्छ । )

भरतपुरबाट मध्यराति फोन आयो– सर, मार्‍यो…, मार्‍यो…