NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सुदूरपश्चिमबाट कुस्तीका सात खेलाडी छानिए

महेन्द्रनगर । उन्नाइसौँ एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशबाट सात खेलाडी प्रारम्भिक चरणमा छानिएका छन् । कुस्ती खेलको इतिहासमै सुदूरपश्चिमबाट पहिलो पटक यतिधेरै खेलाडी पहिलो चरणमा छनोट भएका हुन् ।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दका अनुसार एसियाली खेलकुदको पूर्वतयारीका लागि सातै खेलाडी बन्द प्रशिक्षणका लागि छानिएका हुन् । प्रारम्भिक चरणको छनोट काठमाडौँमा गरिएको हो । छनोट भएका खेलाडीमा पुरुषतर्फ ७४ किलो तौलसमूहमा सुरेश चुनारा, महिला ५७ किलोतर्फ शिवाङ्गी दुबे, मनिसा सिंह र अम्बिका भण्डारी तथा महिला ६२ किलो तौल समूहमा निर्मला जाग्री, कोमल खत्री र विमला सुनार छनोटमा परेको प्रशिक्षक चन्दले जानकारी दिए ।

सुदूरपश्चिमबाट चार वर्षअघि सुरेश चुनाराले मात्रै एसियाली खेलकुद प्रतियोगितामा भाग लिएका थिए । विमला, मनिसा र कोमल कञ्चनपुरबाट कुस्ती खेल्दैआएका छन् सुरेश, निर्मला र शिवाङ्गी हाल त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् । यस्तै अम्बिका शसस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध छिन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि एसियाली खेलकुदको तयारीका लागि बन्द प्रशिक्षण सञ्चालन हुने बताइएको छ । “सुदूरपश्चिम कुस्तीका लागि उर्वर भूमि हो”, प्रशिक्षक चन्दले भने, “ तर बिडम्बना न यहाँ कुस्तीको हल छ, न त खेल सामाग्री नै ।” अभावका बीच पनि खेलाडीको खेलप्रतिको लगन र मिहेनतका कारण प्रतियोगितामा छनोट हुन सकेको प्रशिक्षक चन्द बताउँछन् ।

एसियाली खेलकुदको अनुभव बटुलिसकेका सुरेश चुनाराले नियमित प्रशिक्षण गर्दै आएको बताए । “एसियाली खेलकुद सहभागिताले धेरै सिक्ने मौका मिल्यो”, उनले भने । सुदूरपश्चिमको नौ जिल्लामध्ये कञ्चनपुरको महेन्द्रनगरमा मात्रै कुस्तीको नियमित प्रशिक्षण हुँदै आएको छ ।