NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

छापामा आज : कसले के लेखे ?

काठमाडौं । राष्ट्रिय दैनिक पत्रिकाहरू आज पनि स्थानीय तह निर्वाचनमय छन् । कुनैले स्थानीय तह निर्वाचनको सुरक्षाबारे समाचार बनाएका छन् भने कुनैले बालबालिका प्रयोग, आचारसंहिताको पालनालगायत विषयमाथि नजर लगाएका छन् ।

चुनाव प्रचारमा बालबालिका प्रयोग गरिएको कान्तिपुरले लेखेको छ । कान्तिपुरका अनुसार बालबालिकालाई चुनाव चिह्न अंकित टिसर्ट, टोपी र स्टिकर दिएर सभा–जुलुसको संख्या बढाउन प्रयोग गरिएको छ । त्यसैगरी, दलका कार्यक्रममा भाषण गर्न, नाचगान गर्न तथा नारा लगाउन र पर्चा बाँड्न पनि बालबालिकालाई लगाइएको छ ।

निर्वाचन सुरक्षाका लागि भर्ती गरिएका ४ म्यादी प्रहरीको मृत्यु भएको र ४८ जना बर्खास्त गरिएको अर्को खबर पनि कान्तिपुरमा छ । कान्तिपुरका भित्री पृष्ठमा विभिन्न स्थानीय तहको हिसाबकिताब पनि पढ्न सकिन्छ ।

नयाँ पत्रिका दैनिकले स्थानीय तह निर्वाचनलाई सुरक्षासँग जोडेर मुख्य समाचार बनाएको छ । चुनावी सुरक्षाका लागि प्रहरीसँग हतियार र सञ्चार उपकरण नभएपछि नेपाली सेनासँग सापटी मागिएको समाचारको सार छ ।

पटक–पटक आग्रह गर्दा पनि बजेट नपाएपछि सेनासँग करिब सात सय साना हतियार सापटी मागेर प्रहरी चुनावी सुरक्षामा खटिएको हो ।

केन्द्रीय सुरक्षा समितिले पहिचान गरेको स्थानीय तह निर्वाचनको सुरक्षा चुनौती, गुण्डामाथिको निगरानीलगायत विषयलाई पनि यही समाचारभित्र कम्पाइल गरिएको छ ।

अन्नपूर्णले शीर्ष नेताको गृह पालिकाको हिसाब किताब निकालेको छ । अन्नपूर्णका अनुसार, सबैजसो शीर्ष नेता आफ्नो गृह नगरमा कमजोर छन् ।

कांग्रेस नेतामाथि ओलीले गरेको कटाक्ष र बजेट अधिवेशन आह्वानलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

सरकारी मुखपत्र गोरखापत्रको नजरचाहिँ काठमाडौंको नालामाथि परेको छ । नाला व्यवस्थापनमा ध्यान नपुग्दा अकालमा मानिसहरूको मृत्यु हुँदै आएको छ । तथापि, यसको व्यवस्थापनमा अझै ध्यान नपुगेको गोरखापत्र दैनिकले लेखेको छ । समाचार अनुसार, बालक निलेको नाला र सडक अझै निर्माण भएको छैन ।

रुस–युक्रेनबीच युद्ध जारी रहे पनि यी देशका नागरिकले मिलेर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकोलाई गोरखापत्रले एंकर बनाएको छ ।

कारोबारमा अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँबारे खबर छ भने राजधानीले आचारसंहिता पालनमा दलको अवस्थाबारे चिहाएको छ ।