NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काठमाडौंमा मेरो प्रतिस्पर्धी नै छैनन्, एक्लै बक्सिङ रिङमा छु : केशव स्थापित [अन्तर्वार्ता]

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन मिति नजिकिंदै गर्दा संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको राजनीतिक माहोल तात्तिएको छ । सचेत मतदाताको बसोबास रहेको मानिने यो महानगरमा यसपटक मेयरमा कसले बाजी मार्ला भन्ने विषयमा चोक–चोकमा चर्चा–परिचर्चा भइरहेको छ ।

सत्तागठबन्धनबाट कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमतीसमेत रहेकी सिर्जना सिंह मेयरका उम्मेदवार बनेकी छिन् । विपक्षी एमालेबाट पूर्वमेयर केशव स्थापित चुनावी मैदानमा उत्रिएका छन् । यसपटक कलाकार बालेन शाहले स्वतन्त्रमा दिएको उम्मेदवारीले युवाहरूमा आकर्षण पनि ह्वात्तै बढेको छ ।

नेवारी समुदायको बाहुल्यता रहेको यस महानगरमा गठबन्धन र एमालेले उठाएका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । चर्चायोग्य उम्मेदवारमा विवेकशील साझाकी समीक्षा बाँस्कोटा र स्वतन्त्रका बालेन शाह पनि छन् । गत निर्वाचनमा मेयर र धेरै वडामा एमाले विजयी भएको थियो । उपमेयर कांग्रेसको पोल्टामा परेको थियो । एमालेले त्यो विरासत कायमै राख्न चाहेको छ । त्यस्तै एमालेको विरासतलाई यसपटक जसरी पनि भत्काउने रणनीतिमा गठबन्धन देखिन्छ । गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल छ । विपक्षी प्रतिस्पर्धीमाथि आक्रामक अभिव्यक्तिका कारण एमालेका उम्मेदवार स्थापित विवादको घेरामा तानिएका छन् ।

यसै सन्दर्भमा एमालेको चुनावी रणनीति, आगामी योजना र मतदातबाट प्राप्त भएका प्रतिक्रियाबारे उम्मेदवार स्थापितसँग नेपालवाचका सहकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् :

चुनाव नजिकै गर्दा तपाईंले आफ्नो एजेण्डा प्रचारप्रसार गर्नुपर्ने हो तर अनावश्यक लफडाको प्रतिवाद गर्दै हुनुहुन्छ ? चुनावी प्रतिस्पर्धा पेचिलो बन्दै गएकोले आक्रामक हुनुभएको त होइन ?

मलाई केही भएको छैन । बाघलाई थुन्छु भनेर मृग लाग्यो भने मृगलाई सास्ती हुन्छ, बाघलाई केही हुँदैन । ठूलो वृक्ष छ, फल लागेको छ, त्यहाँ विभिन्न जीवजन्तु झुण्डिएर खस्यो भने दुर्गति उसकै हुन्छ । त्यसकारण वितण्डता भयो भन्ने मलाई लाग्दैन । आफ्नो कर्मको फल भोग्ने हो । गुलेली पार्टी आएर हान्यो भने अलिअलि चोट त सहनुपर्यो नि । यसमा मेरो केही गुनोसो पनि छैन । म योगामा ‘पद्मसम्भव’ अभ्यास गरेको मान्छे हुँ । यसको मतलब वरिपरी फोहोर छ, हिलो छ भने मेरो काम सुवास छर्ने हो । आफ्नो रक्षा आफैले गर्ने हो । जनताको अथाह प्रेम पाइएको छ । प्रेम यति भयो कि मैले त प्रतिस्पर्धी नै देख्न छोडें । मेरो प्रतिस्पर्धी को हो भनेर अनुुसन्धन गर्नुपर्ने भयो ।

कहिलेकाहिँ अति  आत्मविश्वास हुँदा तपाईंलार्ईं नै घाटा होला नि ?

यो ओभर कन्फिडेन्स भएको होइन । अरुको हीन मानसिकता त म बोक्दिन नि । गठबन्धनले कुन दार्शनिक जगमा भोट मागिरहेको छ ? आफूले भोट माग्ने दार्शनिक माग के हो ? पार्टीको नीति सिद्धान्त के हो ? मेरो पार्टीले मुलुकको निर्माणमा गरेको योगदान के हो ? त्यो त हुनुपर्यो नि । केही पनि नगरी मलाई भोट हाल भन्दा त तानाशाही प्रवृत्ति भइहाल्यो नि । त्यसैले गठबन्धनको पुरै तानाशाही र अप्रजातानिन्त्रक क्रियाकलाप हो । मेरा जो प्रतिपक्षी छन्, उसले नेपालभरको मानिसलाई शिक्षा दिने खालको क्रियाकलाप गर्नुपर्यो नि । कोही पनि छैन । कोही पनि आउँदैनन् । गठबन्धनको विचार के हो मलाईसमेत थाहा छैन । घोषणापत्र गतिलो छैन ।

केशव स्थापित संयम हुँदैन । म अराजक मान्छे नै हो । म सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्छु भनेर सार्वजनिक घोषणा गरेर आएको मान्छे हो । म कुनै ढाँटछल गर्ने मान्छे होइन ।

यहाँ माओवादीका दुई जना साथी उठे उनीहरू एमालेलतिर आए । एकीकृत समाजवादीका पनि धेरै यतै आएका छन् । बाबुरामको हैसियत केही छैन । उनले एकपटक मलाई ‘डेटएक्स्पायर’ भयो भनेर टिप्पणी गरे । तर उहाँको श्रीमतीले गरेको क्रियाकलाप सार्वजनिक गरें भने उहाँको पार्टी कहाँ पुग्ने होला ? त्यसैले मलाई पराजित गर्ने नैतिक आधार गठबन्धनका नेताहरूमा छैन ।

तपाईंको जित्ने आधार के–के हुन् ?

सबैले मलाई मेयर साब भन्छन् । उहाँहरूले निर्वाचन माध्यमबाट औपचारिकता दिनमात्र बाँकी छ भन्छन् । मेरो उम्मेदवारीले महानगरका मतदातामा उत्साह छाएको छ । कांग्रेसभित्र पहिरो गएको छ । माओवादीको ६–७ हजार भोट पनि छैन । एकीकृत समाजवादीमा केही भोट छन् । यद्यपि वामपन्थी मतदाताहरूले गठबन्धनलाई भोट हाल्छन् जस्तो मलाई लाग्दैन । महानगरका उम्मेदवारहरूको संयुक्त कार्यक्रम राखौं भन्दा उनीहरू मेरो छायासम्म परेका छैनन् । यसलाई अति आत्मविश्वास भन्न त मिल्दैन । काठमाडौंमा मेरो प्रतिस्पर्धी नै भएन । एक्लै बक्सिङ रिङमा प्रवेश गरेको जस्तो अनुभव भएको छ ।

यसको मतलब गठबन्धन धेरै कमजोर र आफू धेरै बलियो छु भन्ने तपाईंलाई अनुभूति भएको हो ?

त्यो मात्र होइन । मेरो नीति, योगदान र कार्यक्रमले मतदाताको प्रेमभाव मैले पाएको छु । त्यसमा तुलना नै भएन ।

पछिल्लो समय प्रतिस्पर्धी बालेन शाहप्रति तपाईं निकै आक्रामक देखिनुभएको छ, यसले तपाईंलाई अप्ठ्यारो पार्दैन ?

बालेनबाट म आत्तिएको छैन । उनको जम्मा ६ हजार जति भोट आउला । निर्वाचन आयोगबाट निर्वाचन चिन्ह ल्याएपछि आफ्नो शरिरको माथिल्लो भागमा मेरो टाउको राखेर केशव स्थापितलाई जिताउन लौरामा छाप हाल भन्न पाइन्छ ? काठमाडौं जस्तो सचेत ठाउँमा आएर यस्तो गतिविधि गर्नु अन्तर्राष्ट्रिय ठग हो भनेर मैले भनेको हुँ । उसले कुन ठाउँबाट कसरी काम गरिरहेको हामीलाई थाहा हुँदैन ? हामी हिजो सरकार चलाएको मान्छेलाई बढी जानकारी हुन्छ कि उसलाई हुन्छ । सूचना त हामीलाई बढी आउँछ नि । त्यसैले उनलाई यस्ता गतिविधि गरेर राजनीतिमा नआउन भनेको हो ।

तपाईं त पूर्वमन्त्रीसमेत भएका केन्द्रीय नेता हुनुहुन्छ, यस्ता विषयमा संयमता अपनाउँदा झन् फाइदा हुन्छ नि होइन ?

केशव स्थापित संयम हुँदैन । म अराजक मान्छे नै हो । म सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्छु भनेर सार्वजनिक घोषणा गरेर आएको मान्छे हो । म कुनै ढाँटछल गर्ने मान्छे होइन । मजदुर विरोधी, गणतन्त्र विरोधी मानिसहरू सलबलाएपछि कोर्रा हान्नु पर्दैन त ?

यदि तपाईंले जितेर आएको खण्डमा आफूले मतदातसँग गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न महानगरभित्रका कर्मचारीतन्त्रसँग कसरी समन्वय गर्नुहुन्छ ?

मलाई महानगरका सबै कर्मचारीको सहयोग र समर्थन छ । मसँग पहिल्यै मेयर भएर काम गरेको अनुभव छ । खेलकुद परिषद्को सदस्य सचिव भएर काम गरेको अनुभव छ । निर्वाचित भएपछि के गर्नुपर्छ मलाई सबै थाहा छ । अहिल्यै सबै भन्न मिल्दैन ।

अहिलेसम्म भोट माग्न महानगरको कुन–कुन ठाउँमा पुग्नु भयो ? मतदाताबाट कस्ता प्रतिक्रिया पाउनुभएको छ ?

महानगरको अधिकांश स्थानमा म घरदैलोमा गएको छैन । गएपनि एक घण्टाजति जान्छु र भाषण गरेर फर्किन्छु । कठमाडौंमा कुन–कुन वडामा कति भोट छ, मलाई राम्रो जानकारी छ । कोर टिम परिचालन गर्ने हो । उनीहरू गएपछि म किन जानुपर्यो ? गत निर्वाचनमा हामीले जितेको वडामा म गएकै छैन ।

पार्टीले लिएको नीति तथा कार्यक्रमसँग तालमेल मिलाएर काठमाडौंमा सर्वव्यापी प्रेम र युवाहरूको कथा झल्किने शहर बनाउने मेरो योजना छ

मतदाताबाट आएको प्रतिक्रियाको कुरा गर्दा केही ठाउँमा गाली पनि खाएको छु । धेरैले मलाई आशीर्वाद दिएका छन् । यी सबै मतदाताको सहयोगमा मैले विपक्षी गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु ।

काठमाडौंमा पहिलो पटक मेयर हुँदा तपाईं ४० वर्ष पनि पुग्नु भएको थिएन । २५ वर्षपछि फेरि मेयरमै दाबी किन गर्नुभएको ?

पहिलो विगत कोट्याउने कुरा राम्रो होइन । त्यतिबेला म मेयरहुँदा राम्रै काम गरेको हुँ । यो महानगर बनाउने मसँग अथाह योजना र भिजन छ । सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न पार्टीले लिएको नीति तथा कार्यक्रमसँग तालमेल मिलाएर काठमाडौंमा सर्वव्यापी प्रेम र युवाहरूको कथा झल्किने शहर बनाउने मेरो योजना छ । कुन उमेर समूहले मेयर बन्ने नबन्ने भन्दा पनि योग्यता, क्षमता र भिजनसहितको योजना लागु गर्ने उम्मेदवार आवश्यक छ । यसको मतलब पुस्तान्तरण गर्नुहुन्न भनेको होइन । मेरो उम्मेदवारी काठमाडौंबासीको माग हो । यहाँको आवश्यकता र समस्या मैले राम्रोसँग बुझैको छु । त्यसैले मलाई पार्टीले जिम्मेवारी दिएको हो ।