NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

झुट र काण्डैकाण्डको अर्को नाम केपी ओली : कांग्रेस

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धन ढल्ने एमाले अध्यक्ष केपी ओलीको भविष्यवाणीप्रति कांग्रेसले प्रतिवाद गरेको छ ।
ओलीले सत्ता गठबन्धन असार १७  मा ढल्ने घोषणा गरेको भोलिपल्टै पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ओलीकाे झुट, काण्ड र मजाक धेरै समय नटिक्ने बताएका हुन् ।

सत्ता गठबन्धन र कांग्रेसलाई मनोवैज्ञानिक रुपले प्रभाव पार्न ओलीले मनगढन्ते कुरा गरेको महतको भनाई छ । ‘एकपटक होइन केपी ओलीजी झुट बोल्न सधैं माहिर हुनुहुन्छ । तर हामी झुटो बोल्दैनौं’ महतले भने, ‘सत्ता गठबन्धन भएको उहाँलाई मन परेको छैन । गठबन्धनले देशभरि जित्ने डरमा मतदातालाई प्रभाव पार्न उहाँले झुट र उटपट्याङको क्षेप्यास्त्र प्रहार गर्नुभएको हो तर त्यो बीचमै खस्छ, लक्ष्यसम्म पुग्दैन ।’ पार्टीमा एकपछि अर्को काण्ड मच्चाएकोले ओलीलाई पार्टीभित्रै गम्भीर आरोप लागेको महतले बताए ।

उखान टुक्काको भुलभलैयामा पारेर तत्काललाई मनोरञ्जन दिने काम मात्रै ओलीको भएको भन्दै उनले सत्ता गठबन्धन यस्ता उटपट्याङ र हलुका कुरामा नलाग्ने उनले बताए ।

महतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले र नेता आरजु राणाको अभिव्यक्तिको पनि बचाउ गरेका छन् । प्रचण्डले चितवनमा सत्ता गठबन्धनको उम्मेदवार नजिते देश दुर्घटनामा पर्ने बताएका थिए । आरजुले कांग्रेसले नजितेका ठाउँमा बजेट नपठाउने घोषणा गरेकी थिइन् । तर महतले लामो बोल्दा कुनै एक ठाउँको भिडियो मात्रै काटेर प्रचार गरिएको आरोप लगाए ।