NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

विजय दिवसमा पुटिनले भने- युक्रेनमा सैन्य कारबाही आवश्यक थियो

काठमाडौं । रुसी राजधानी मस्कोको रेड स्क्वायरमा आफ्नो विजय दिवसको भाषणमा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताएका छन् । उनले रुसले सही समयमा यो निर्णय गरेको बताए ।

पुटिनले यो निर्णयलाई स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भनेका छन् । रुसी लडाकुहरूलाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताए ।

दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रूसले गरेको विजयको सम्झनामा रूसमा विजय दिवस मनाइन्छ ।

पुटिनले गत वर्षदेखि अन्य युरोपेली देशहरू र नेटोसँग तनाव उत्पन्न भएको स्वीकार गरे । उनले रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपील गरेको तर युरोपले रुसको कुरा सुन्न नचाहेको बताए ।

पुटिनले भने, ‘युरोपले डोनबासमा कारबाही गर्ने योजना बनाइरहेको थियो र अब रुसको कारबाही त्यहीँ केन्द्रित छन् ।’ रुसका राष्ट्रपतिले भने ‘किएभमा उनीहरूले आणविक हतियार पाउन सक्ने भन्दै थिए र नेटोले हाम्रो नजिक जमिन खोज्न थाले । यो हाम्रो देश र सिमानाका लागि स्पष्ट खतरा बनेकाले सबैले लड्न जरुरी छ ।’

आफ्नो सम्बोधनका क्रममा पुटिनले दोस्रो विश्वयुद्धमा मारिएका, रुसी र डोनबासमा लडिरहेका रुसी सैनिकहरूका लागि दुई मिनेट मौनधारण गर्न अपिल गरेका थिए । आफ्नो सम्बोधनमा पुटिनले पश्चिमी देशहरू रुसको कुरा सुन्न नचाहेको र रुसमाथि हमला गर्न खाेजेकाे बताए ।