NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

श्रीलंकामा सरकार समर्थक र विपक्षीबीच झडप

कोलम्बो । श्रीलंकामा सोमबार सरकारसमर्थक र विरोधीबीच हिंसात्मक झडप भएको छ । कोलम्बोको गाल फेसमा भएको प्रदर्शनका क्रममा सरकार समर्थक र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रधानमन्त्री महिन्दा राजापाक्षेका समर्थक र सरकार विरोधी प्रदर्शनकारीले एकअर्कामाथि आक्रमण गर्दा धेरै घाइतेसमेत भएका छन् ।

झडपका कारण तनाव उत्पन्न भएपछि प्रहरीले त्यस क्षेत्रमा कर्फ्यू लगाएको छ । सोमबार बिहान सरकार समर्थक प्रदर्शनकारीहरूले प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई राजीनामा नगर्न आग्रह गर्दै प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रीस अगाडि प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि उनीहरुको बाटाेमा सरकार विरोधी प्रदर्शनकारीसँग झडप भएको थियो । प्रदर्शनस्थलमा स्थिति नियन्त्रणका लागि सेना परिचालन गरिएको छ, तर, त्यहाँ अझै पनि तनाव छ । सो झडपमा कम्तीमा १६ जना घाइते भएका थिए, उनीहरूलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।

यसैबीच, प्रहरी प्रवक्ताले उत्तरी, दक्षिणी र मध्य कोलम्बोमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको बताएका छन् ।

विगत एक महिनादेखि प्रदर्शनकारीहरू गाल फेसमा भेला भइरहेका छन् । तर, अहिलेसम्म आन्दोलन शान्तिपूर्ण रहेको थियो ।

प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजपाक्षे र उनको मन्त्रिपरिषद्को राजीनामा माग गरिरहेका छन् । श्रीलंकामा विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक संकट पछिल्ला दिनमा झन् विकराल बन्दै गएको छ । जसले इन्धन, खाद्यान्न र औषधिजस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ ।

सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै विराेध प्रदर्शन भइरहेकाे छ । सोमबार नै प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन् ।

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले राजीनामा दिए