NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यसरी घरमै गर्न सकिन्छ माइग्रेनको उपचार

माइग्रेन यतिबेला विश्वमा सबैभन्दा सामान्य रोगमध्येमा पर्न थालिसकेको छ । साथै, माइग्रेन दुनियाँमा सबैभन्दा धेरै हुने न्युरोलोजिकल डिसअर्डर पनि हो । यसबाट पीडित व्यक्तिलाई लगातार टाउको दुख्ने समस्या हुन्छ ।

तथ्यांकले जनाएअनुसार यसबाट पीडित २० प्रतिशत व्यक्ति टाउको दुखाइ रोक्नका लागि ओपिआइड नाम गरेको औषधिको प्रयोग गर्ने गर्छन् । वैज्ञानिकले जनाएअनुसार यो औषधि सेवन नगरी नै माइग्रेनको उपचार सम्भव छ ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित एक रिसर्चमा बताइएअनुसार माइन्डफुल मेडिटेसन र योगा गर्नाले पनि माइग्रेसन कम हुन सक्ने सम्भावना छ ।

यस्ता छन् माइग्रेनसँग जोडिएका केही तथ्य

– माइग्रेन रिसर्च फाउण्डेसनका अनुसार विश्वभर सय करोड व्यक्ति यो समस्याबाट पीडित छन् ।

– १८ देखि ४४ वर्ष उमेर समूहबीच यो निकै नै दर्दनाक हुन्छ ।

– माइग्रेनबाट ग्रसित ९० प्रतिशत व्यक्तिमा यो समस्या वंशाणुगत हुने गरेको पाइन्छ ।

– माइग्रेन हुने ८५ प्रतिशत व्यक्ति महिला छन् ।

– यसका कुल बिरामीमध्ये आधाभन्दा धेरै संख्यालाई १२ वर्षको उमेर पहिला नै माइग्रेन अट्याक आएको हुन्छ ।
अध्ययनले के भन्छ ?

अनुसन्धानमा माइग्रेनका बिरामीलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो समूहको बिरामीलाई उपचार गर्दा उनीहरूलाई माइन्डफुुलनेसको अभ्यास गर्न लगाइएको थियो । यसमा मेडिटेसन, हठ योग र स्वास लिने तरिकामाथि विशेष ध्यान दिइएको छ । योवाहेक उनीहरूलाई घरमै पनि यो अभ्यास गर्ने सुझाव दिइयो ।

दोस्रो समूहलाई भने टाउको दुखाइका बारेमा शिक्षामात्रै दिइएको थियो । उनीहरूलाई माइग्रेनको हरेक आयामबारे बताइयो भने उक्त कक्षाको समय अवधिमा उनीहरूलाई प्रश्नोत्तर तथा एक–अर्काबीच छलफल गराइयो ।

आठ हप्तासम्म गरिएको यो परिक्षणले माइन्डफुलनेसको अभ्यासले माइग्रेन अट्याकलाई कम गर्नमा मद्दत गरेको देखियो । लगातार ध्यान र योग गर्ने व्यक्तिमा माइग्रेनमात्रै नभएर डिप्रेसन र चिन्ता पनि कम हुने गरेको देखियो । त्यस्तै, दोस्रोतर्फ माइग्रेनबारे शिक्षामात्रै पाउने व्यक्तिको स्थितिमा भने धेरै सुधार देखिएन ।

हिजोआज माइग्रेनसँगै विभिन्न रोगबाट ग्रसित बिरामीलाई औषधिमात्रै नभएर जीवनशैलीमा पनि परिवर्तन गर्ने सल्लाह दिइन्छ । दैनिक जीवनमा यी विधि अपनाएर माइग्रेन कम गर्न सकिन्छ :

– सबैभन्दा पहिला आफ्नो शारीरिक र मानसिक स्थितिलाई स्वीकार गर्ने ।

– आरामदायी पोजिशनमा बसेर आँखा बन्द गर्ने र लामो श्वास लिने, छोड्ने । यसरी स्वासप्रस्वासको एक्सरसाइज गर्नाले मन शान्त हुन्छ ।

– दैनिक ताजा हावा र स्वस्थ वातावरणमा ३० मिनेट हिँड्ने । हिँडिरहेकोे बेलामा आफूले लिने श्वासलाई पनि ध्यान दिने ।

– हरेक दिन २० देखि ३० मिनेट स्ट्रेचिङ र हठ योग गर्ने ।