NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चितवनका विद्रोही नेता पौडेललाई क–कसको छ साथ ?

विद्रोही उम्मेदवार जगन्नाथ पौडेलका पक्षमा कांग्रेसका कति नेता–कार्यकर्ता छन् र उनीहरूमध्ये अन्तिमसम्म कति उभिन्छन् ? मतदाता, विश्लेषक र मिडियाको सर्वाधिक चासो छ । चितवनबाट टेकप्रसाद गुरुङ, उमेश श्रेष्ठ, अञ्जनी श्रेष्ठ, दिनेश कोइराला र शान्ति परियार विक गरी पाँचजना कांग्रेसको केन्द्रीय सदस्य छन् । उनीहरूमध्ये कोही पनि पौडेलको पक्षमा छैनन् । सुरुमा माओवादीलाई मेयर दिन नहुने मत राखेका केन्द्रीय सदस्यद्वय गुरुङ र कोइराला पनि पछिल्लो समय गठबन्धनका चुनावी सभामा पुगेर रेनुलाई भोट मागिरहेका छन् ।

त्यस्तै, चितवन कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गरेका पाँच नेता पनि पौडेलको पक्षमा छैनन् । उनीहरू सबै गठबन्धनका उम्मेदवारलाई मत मागिरहेका छन् । चितवन कांग्रेसको अधिवेशनमा राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, प्रा.डा. सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन तय भएको थियो ।

तर, मतदानमा जानुअघि श्रेष्ठले समर्थन गरेपछि खनाल निर्विरोध अध्यक्ष चुनिएका थिए । अहिले विद्रोही उम्मेदवार बनेका पौडेल पनि जिल्ला सभापति बन्ने दौडमा थिए, तर उनी महाधिवेशन प्रतिनिधिमै हारेपछि अगाडिको यात्रा रोकिएको थियो । बिहीबार भरतपुरमा भएको पाँचदलीय गठबन्धनको चुनावी सभापछि कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ता गठबन्धनप्रति जवाफदेही हुन थालेका छन् । सुरुमा पौडेलको पक्षमा उभिएका केही नेता–कार्यकर्ता अहिले गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष