NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विन्ध्यबासिनी हाइड्रोपावरको आइपिओमा सेयर भर्ने आज अन्तिम दिन 

काठमाडाैं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयअवधिभित्र आइपिओ भर्न सक्छन् ।

कम्पनीले  आयोजना आसपासका जनताका लागि गत वैशाख ११ गतेदेखि प्रतिकित्ता १०० अंकित १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्रीका लागि आह्वान गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ( एक अर्ब) को १० प्रतिशतले हुने  १०० अंकित दरका १० लाख कित्ता सेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका-८ र ९का बासिन्दाका लागि सात लाख कित्ता सेयर सुरक्षित गरेको छ ।

साथै बाँकी तीन लाख कित्ता शेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दालाई छुट्याइएको छ । कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले हाल क्व्होलासोथार गाउँपालिका तथा मादी गाउँपालिका भएर बहने रुदी खोलामा ‘रुदी ए आठ दशमलव आठ मेगावाट‘ र ‘रुदी बी छ दशमलव छ मेगावाट‘ क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको विरौटा तथा पोखरा शाखा, सिभिल बैंक लमजुङ शाखाको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेँसीशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेँसीशहर शाखा र आयोजनाको कार्यालयस्थलबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-आइआर बिबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।