NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

श्रीलंका : प्रदर्शनकारीले प्रधानमन्त्रीसहित १२ मन्त्रीको घर जलाए

कोलम्बो । सरकारका समर्थकहरूले कुटपिट गरेपछि आक्रोशित प्रदर्शनकारीहरूले देशभरका राजपाक्षे परिवार र सत्तारुढ दलका सांसदहरूको धेरै घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले सुरुमा बसमा आगजनी गरेका थिए । त्यसलगत्तै चाँडै राजपाक्षे दाजुभाइका आमाबुवाको स्मारक र उनीहरूको पुख्यौली घर जलाइएको हो ।

उनीहरुको पुख्र्यौली घर कोलम्बोबाट करिब २५० किलोमिटर टाढा हम्बनटोटामा छ । यसबाहेक तीन पूर्वमन्त्री र दुई सांसदको घर पनि जलाइएको छ । हिंसामा हालसम्म ५ जनाको ज्यान गएको छ भने १९० भन्दा बढी घाइते भएका छन् । देशभर लगाइएको कर्फ्यु बुधबारसम्म लम्बाइएको छ । राष्ट्रपति गोटाबाय राजपाक्षेत्रको राजीनामाको पनि माग भइरहेको छ ।

महिन्दा राजपाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सरकारविरोधी प्रदर्शनकारीले उनीहरुको कोलम्बोस्थित सरकारी निवासमा पनि प्रवेश गर्ने प्रयास गरेका थिए । प्रहरीले भीडलाई लखेट्न अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर समेत गरेको थियो । बिहानै सेनाले राजपाक्षे र उनको परिवारलाई सुरक्षित रुपमा बाहिर निकाल्यो ।

राजपाक्षेकाे घरमा पनि कम्तिमा १० वटा पेट्रोल बम प्रहार गरिएको एक अधिकारीले एएफपी समाचार संस्थालाई बताए । हालसम्म १२ भन्दा बढी मन्त्रीको घर जलेको मिडिया रिपोर्टमा बताइएको छ । प्रदर्शनकारीहरुले पूर्वमन्त्री जोन्सन फर्नान्डोको कार कोलम्बोको तालमा धकेलिदिएका छन् ।

सोमबार अबेरसम्म भएको हिंसात्मक प्रदर्शनपछि मंगलबार बिहान कोलम्बोको सडक शान्त थियाे । प्रहरी प्रवक्ता निहाल थल्दुवाले भने, ‘अहिले अवस्था शान्त छ, तर पनि छिटपुट अशान्तिको खबर आइरहेको छ ।’ उनले हिंसाको आरोपमा अहिलेसम्म कसैलाई पनि पक्राउ नगरेको बताए ।

सोमबार सत्तारुढ दलका सांसद अमरकीर्ति अतुकोरालाले दुईजनामाथि गोली प्रहार गरेका थिए, भीडमा उनको गोली लागेर २७ वर्षीय युवकको ज्यान गयो । त्यसपछि सांसद अतुकोरालाकोे शव एक भवनमा भेटिएको थियो ।

एक प्रहरी अधिकारीका अनुसार ती सांसदले रिभल्भर चलाएर आत्महत्या गरेका हुन् । सांसदको शव बरामद भएकै ठाउँमा अंगरक्षक पनि मृत फेला परेका थिए । सत्तारुढ पार्टीका अर्का एक नेताले पनि प्रदर्शकारीमाथि गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

अर्काेतर्फ, महिन्दा राजपाक्षेले संयुक्त सरकार गठन गर्न राजीनामा दिएको बताएका छन् तर त्यस्तो सरकार गठनमा प्रतिपक्षको सहभागिता रहने वा नपर्ने भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । श्रीलंकाको संविधानअन्तर्गत, यस्तो संयुक्त सरकारमा पनि राष्ट्रपतिसँग मन्त्री र न्यायाधीशहरू नियुक्त गर्ने र बर्खास्त गर्ने अधिकार हुनेछ ।

राष्ट्रपतिलाई कारबाही गर्न मिल्दैन । विल्सन सेन्टरका आलोचक माइकल कुगेलम्यानले औंल्याए, ‘राष्ट्रपति राजपाक्षेले राजीनामा नदिएसम्म त्यहाँ शान्ति हुनेछैन ।’